काठमाडौं, २२ माघ। चीनले विभिन्न सहरमा रहेका नेपालीमा कोरोना भाइरस संक्रमण नभएको जनाएको छ। चिनियाँ राजदूत होउ यान्छीले नेपाली सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा भनेकी छिन्, ‘हुपे प्रान्त, सहरका अधिकारी र सम्बन्धित विश्वविद्यालयले विद्यार्थीलाई उचित बसोबासको व्यवस्था मिलाएका छन्।
उनीहरू सुरक्षित रहेका छन्।’ चीनले नेपालीलाई फर्काउने तयारी गर्न सरकारलाई सुझावसमेत दिएको छ। हुपै प्रान्तमा रहेका करिव दुई सय नेपाली विद्यार्थीले नेपाल फर्कन निवेदन दिएका छन्। ती नेपालीलाई फर्काउन चीनले सहयोग गर्ने राजदूत होउले बताएकी छिन्।
चीनका सबै स्थानमा रहेका नेपाली सुरक्षित रहेको पनि उनले बताइन्। उनले वुहानमा रहेका नेपालीको कठिन अवस्थालाई सम्बोधन गरेको जानकारी दिएकी छन्।
उनले विमानस्थलमा क्वारेन्टाइन, भाइरसको रक्षा र नियन्त्रणसहित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुको सल्लाहअनुसार भाइरस नियन्त्रणका लागि तयारी थाल्न नेपाल सरकारलाई सुझाव दिएकी छिन्।