राष्ट्रियसभा र प्रतिनिधिसभा समान नभएको सांसदको आरोप

Jitendra_Narayan
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय सभाका सांसद जितेन्द्र नारायण देवले प्रतिनिधि सभा र राष्ट्रिय सभा संवैधानिक रुपमा समान भएपनि व्यवहारिक रुपले समान नभएको बताएका छन्। बुधवारको राष्ट्रिय सभा बैठकमा उनले समान हैसियतका दुई सभा भएपनि तिनको काम बराबर नभएको बताएका हुन्।

‘राष्ट्रिय सभा बिना संसदको कल्पना छैन। खाली फरक के मात्र छ भने अर्थ विधेयक प्रतिनिधि सभामा मात्रै पेश हुन्छ भने सरकार गठनमा पनि राष्ट्रिय सभाको भुमिका हुदैन। अरु सबै विधेयक पनि संसदमा प्रस्तुत हुन्छन्। तर काम त बराबर भएन। दुवै सभा समान हुन् भन्ने वास्तविक रुपमा जनताले जान्न पाएनन्,’ उनले भने।

उनले दुई सभालाई समान बनाउन चार वटा सुझाव समेत दिएका छन्। पहिलो, राष्ट्रिय सभाले नियमित रुपमा र सघन रुपमा राजनीतिक तहमा, समिति तहमा र सचिवालयमा प्रेस मिट गरी सम्प्रेषण गर्ने। कस्ता विधेयक पास भए भन्ने जानकारी गर्ने।

दोस्रो, राष्ट्रिय सभाका सदस्यलाई व्यक्तिगत रुपमा जनताप्रति उत्तरदायी बनाउने नियमावलीमा संसोधन गर्ने। तेस्रो, समय समयमा विचार गोष्ठी गर्ने। चौथो, राष्ट्रिय सभाका समितिको कामको पुनःसंरचना गरी सबै समितिलाई काम पर्याप्त हुने गरी नियमावली संसोधन गर्ने।