आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

prajatantra_diwas
लोकपाटी न्यूज

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भइ देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल प्रजातन्त्रकै जगमा स्थापित भएको हो ।

फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा बुधबार काठमाण्डौको टुँडिखेलमा विशेष कार्यक्रम हुँदैछ । नेपाली सेनाद्वारा तोप र बन्दुकको बढाइ गरिने छ भने प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति प्रार्थना र स्मरण गरिने कार्यक्रम रहेको छ । यस्तै नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिने जनाएको छ । काठमाण्डौ उपत्यका बाहिरका प्रदेश राजधानी र जिल्लामासमेत विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइँदैछ ।

यसैबीच प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । उनले देशको आर्थिक–सामाजिक रुपान्तरण नेपाली नागरिकको चाहना भएको र नागरिकका ती चाहना सम्बोधन गर्न यो दिनले प्रेरित गर्ने बताइन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिँदै उनले देशको समृद्धि र नागरिकको सुख हासिल गर्ने अभियानमा एकजुट भइ योगदान गर्न भनेका छन् ।