विमानस्थलमा कोरोनाविरुद्ध उच्च सतर्कता

corona
लोकपाटी न्यूज

काठमाडौँ । पछिल्लो समय चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरस कोभिड–१९को त्रास विश्वभर फैलिएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालिएको छ । विभिन्न देशबाट नेपाल आवतजावत गर्ने क्रममा रोग भित्रिन सक्ने भएकाले नेपाल जोखिममा रहेको भन्दै सतर्कता अपनाउन थालिएको हो । विमानस्थलमा उच्च सतर्कता अपनाउन थालिएको छ ।

स्वास्थ्य सेवा विभागले दक्षिण कोरिया र नेपालबीच हवाई आवतजावत भएकाले नेपाल पनि जोखिममा रहेकाले सतर्कता अपनाउन थालिएको जनाउदै हाल नेपालमा कोरोना सङ्क्रमण नभएको जनाएको छ । पछिल्ला दिनमा दक्षिण कोरियामा फैलिएको कोरोनाबाट नौ जनाको मृत्यु भएको छ भने सयौँ जना सङ्क्रमित भइसकेका छन् ।

दक्षिण कोरिया र नेपालबीच हवाई आवतजावत भइरहने हुनाले नेपाल उच्च जोखिममा रहेको छ । नेपालीको ठूलो सङ्ख्या दक्षिण कोरियामा रहेका छन् । दक्षिण कोरियामा पनि व्यापक मात्रामा फैलिएको हुँदा नेपालमा समेत उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क राखेर कोरोना भाइरस प्रभावित देशबाट आएका व्यक्तिहरूको स्क्रिनिङ गरिरहेको जानकारी दिएको छ ।

निरन्तर १० जना स्वास्थ्यकर्मीहरूको टोली खटिएर स्क्रिनिङ गरिरहेको जानकारी दिँदै कोरोना भाइरस प्रभावित देशबाट आएका व्यक्तिहरूको तापक्रम परीक्षणपछि मात्र विमानस्थलबाट छाड्ने गरिएको जानकारी मन्त्रालयले दिएको छ । चीनसहित ३८ देशमा कोरोना सङ्क्रमणको पुष्टि भइसकेको छ । हालसम्म विश्वभर ८० हजारभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन्  ।

कोरोनाकै कारण दुई हजार सात सय जनाको मृत्यु भइसकेको छ । सङ्क्रमण देखिएका देशहरूले अतिप्रभावित क्षेत्रका मानिसलाई घरैमा क्वारेन्टाइनमा बस्न अनुरोध गरिसकेका छन् । दक्षिण कोरियामा फैलिएको कोरोनाका कारण ईपीएसमार्फत कोरिया उडान भएका ४० जना नेपालीको उडान स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्