कोरोना संक्रमण विश्वभर फैलँदै

corona
लोकपाटी न्यूज

काठमाडौं । कोरोना भाइरसको महामारी विश्वमा दिन प्रतिदिन फैलिरहेको छ। प्रायः इटालीको भ्रमण गरेर यूरोप फर्किएकाहरू कोरोना संक्रमित भएको जनाइएको छ।

अस्ट्रिया‚ क्रोएसिया‚ स्वीजरल्याण्ड र ग्रिसमा पनि कोरोनाको संक्रमण देखिएको छ। यसैगरी फ्रान्समा ६० वर्षीय एक व्यक्तिको कोरोनाकै कारण ज्यान गएको छ। ल्याटिन अमेरिकामा पनि प्रथमपटक कोरोनाको संक्रमण देखिएको छ‚ संक्रमित व्यक्ति इटाली भ्रमण गरेर फर्किएको जनाइएको छ। जर्मनी‚ फ्रान्स र इटालीका स्वास्थ्य मन्त्रीहरूले आफ्नो देशको सीमा खुल्ला राख्ने प्रतिबद्धता समेत गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले फागुन ६ गते नै नेपाल कोरोना भाइरसमुक्त क्षेत्र रहेको अन्तर्राष्ट्रियरुपमा प्रचार गर्न निर्देशन दिइसकेको छ। मन्त्री योगेश भट्टराईले अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा कोरोना भाइरसमुक्त क्षेत्र रहेको प्रचार गर्न मातहतका कार्यालयलाई निर्देशन दिइसकेका छन्।

फागुन ६ पछि चीनबाहेकका देशमा कोरोना भारइसको संक्रमण तथा ज्यान गुमाउने संख्या दैनिक बढ्दो क्रममा छ। तर नेपालमा १ जना मात्रै संक्रमित देखिएको र ती व्यक्तिलाई पनि ठीक भइसकेको भन्दै धेरै हल्ला गर्न आवश्यक नभएको मन्त्रालयको तर्क छ।

चीनपछि कोरोनाबाट सबैभन्दा बढी संक्रमित हुने देशहरु दक्षिण कोरिया, इरान, इटाली रहेका छन्। विश्व स्वास्थ्य संगठनले अहिले नै कोरोना भाइरसलाई महामारी भन्नु छिटो हुने बताएको छ। चीनको वुहान सहरबाट विश्वभर फैलिएको कोरोना भाइरसले महामारीको रुप लिन सक्ने भएकाले सङ्क्रमणविरुद्ध लड्न तयारी अवस्थामा रहनु पर्छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अदनोम घेब्रेयससले तीनवटा कुरामा प्राथमिकता दिनुपर्ने बताएका छन्। जसमा सबै देशले स्वास्थ्यकर्मीहरुको सुरक्षालाई प्राथमिकता दिनुपर्ने, गम्भीर रोगको जोखिममा रहेका मानिसहरूलाई, विशेष गरी बुढ्यौली र स्वास्थ्य अवस्था कमजोर भएका मानिसहरूलाई सुरक्षा दिन समुदायहरूलाई संलग्न गराउनुपर्ने र क्षमता भएको देशहरूले बढी जोखिममा पर्ने देशहरूको सुरक्षा गर्न भरसक प्रयास गर्नुपर्ने बताए।

विश्वभर ८१ हजार १ सय ८३ जनामा संक्रमण
बुधबारसम्मको तथ्याङ्कअनुसार विश्वभर ८१ हजार १ सय ८३ जनामा संक्रमण देखिएको छ। यसमध्ये २ हजार ७ सय ६९को मृत्यु भइसकेको छ। त्यस्तै ३० हजार निको भएर फर्किसकेका छन्। कोरोना भाइरस संक्रमितको संख्या बढेपछि चिनियाँ पर्यटकलाई विश्वका ६० भन्दा बढी देशले यात्रा प्रतिबन्ध लगाएका छन् भने दक्षिण कोरियाली पर्यटकलाई १५ देशले यात्रामा कडाइ तथा प्रतिबन्ध लगाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्