कोभिड–१९ अपडेट : मर्नेको संंख्या ४७ हजार, ९ लाख ३६ हजार संक्रमित

http___com.ft.imagepublish.upp-prod-us.s3.amazonaws
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट मर्नेको संख्या दिन प्रतिदिन उच्च हुँदै गएको छ। चीनको बुहानबाट सुरु भएको यो संक्रमण अहिले अमेरिकन र यूरोपियन देशहरु एकपछि अर्को भयावह बन्दै गएको छ।

आज (बिहीबार) बिहानसम्म कोरोना भाइरसबाट सबैभन्दा बढी क्षति इटालीमा भएको छ। हाल पनि सबैभन्दा उच्च मृत्युदरको शिकार पनि इटाली नै भइरहेको छ। पछिल्लोपटक अमेरिकामा संक्रमणको रफ्तार र मृत्युुदर अप्रत्याशित रुपमा बढ्दै गएको छ।

महामारीले अहिले सारा विश्व नै आतंकित छ। अमेरिका, स्पेन, इरान, नेदरल्याण्ड, बेल्जियममा पछिल्लोपटक धेरै मानिसको मृत्यु भएको छ। यही स्थिति कायम रहेमा यूरोप र अमेरिकन देशहरुको जनजीवन नै अस्तव्यस्त हुने लक्षण देखिँदैछ।

यता कोरोना भाइरसबाट पूर्णतः सफलता प्राप्त गरिएको दावी गरिएको चीनमा पछिल्ला दिनमा कोरोनाबाट मृत्यु हुनेहरु देखिएका छन्। दक्षिण एसियाको सबैभन्दा ठूलो राष्ट्र भारतमा पछिल्ला तीन दिनयता कोरोनाको संक्रमण बढ्दै गएको छ। पाकिस्तानले भारतलाई पछ्याइरहेको छ।

बिहीबार बिहान १० बजेसम्म विश्वभरि कोरोनाका कारण मृत्यु हुने नागरिकको संख्या ४७२४५ पुगेको छ। त्यसैगरि कोरोनाबाट संक्रमित हुनेहरुको संख्या पनि निरन्तर उकालो लागिरहेको छ। बिहीबार बिहानसम्म विश्वभरि ९ लाख ३६ हजार नागरिक संक्रमित भएको छ। संक्रमितमध्ये ३५ हजार ६ सयको अवस्था चिन्ताजनक छ।

कोरोनाबाट अमेरिकामा २ लाख १५ हजार नागरिक संक्रमित भएका छन् भने मर्नेको संख्या ५११० पुगेको छ। त्यसैगरि महामारीको केन्द्रजस्तै बनेको इटालीमा १३१५५ जनाको मृत्यु भइसकेको छ भने कोरोनाबाट १ लाख १० हजार नागरिक संक्रमित छन्। संक्रमणको तेस्रो स्थानमा रहेको स्पेनमा १ लाख ४ हजार संक्रमित छन् भने मर्नेहरुको संख्या ९ हजार ४ सयको हाराहारीमा पुगेको छ।

महामारी रोकथाम भएको दावी गरिएको चीनमा समेत पछिल्लो २४ घण्टामा ७ जना नागरिकको ज्यान गएको छ। चीनमा मर्नेको संख्या ३३१२ पुगेको छ, भने ८१५५४ जना संक्रमित भएका छन्। यता फ्रान्समा संक्रमितको संख्या चीनको भन्दा बढी छ। फ्रान्समा करीब ५७ हजार नागरिक संक्रमित छन् भने ४०३२ नागरिकको मृत्यु भइसकेको छ।

इरान र बेलायत पनि कोरोनाको उच्च जोखिममा परेका छन्। बिहीबार बिहानसम्म इरानमा ४७ हजार ५ सय नागरिक संक्रमित भएका छन् भने ३०३६ जनाको मृत्यु भएको छ। यता बेलायतमा पनि २९ हजार नागरिक संक्रमित भएका छन् भने २३५२ नागरिकको ज्यान गएको छ। यूरोपका अधिकांश देशहरु महामारीको उच्च जोखिममा परेका छन्।

छिमेकी मुलूक भारतमा पनि बुधबारदेखि कोरोनाको संक्रमण ह्वात्तै बढेको छ। मंगलबारसम्म १०७७ जना संक्रमित भएकोमा बिहीबार बिहानसम्म २ हजारभन्दा बढी नागरिक संक्रमित भएका छन् भने ५८ जना नागरिकको मृत्यु भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्