वामदेव ओलीतिर उभिए के गर्छन् प्रचण्ड–नेपाल ?

  • 1.8K
    Shares
0

काठमाडौं, २० वैशाख। अध्यादेश प्रकरणले निम्त्याएको नेकपाभित्रको विवाद एकपछि अर्को उत्कर्षतिर प्रवेश गरिरहेको छ। शनिबार साँझ बस्ने नेकपाको सचिवालय बैठकमा पनि नेताहरुबीच स्थायी समितिको बैठकबारे रस्साकस्सी हुने निश्चितप्रायः छ।

गत बुधबार बसेको सचिवालय बैठकमा नेताहरुबीच कुरा नमिलेपछि शनिबार बेलुकाको बैठक निर्धारण गरिएको हो। बैठकमा पनि नेताहरुबीच ठोस सहमति हुने सम्भावना कमजोर देखिन्छ। नेकपाका नेताहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ हरहालतमा स्थायी समिति बैठक बोलाउनुपर्ने पक्षमा छन्।

तर, बुधबारको बैठकमा कोरोनाको प्रभावपछि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावपछि केही नेताहरु के गर्ने भन्नेमा अन्यौल देखिन्छन्। भैंसेपाटी बैठकमा माधव नेपाललाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका गौतम स्वयंलाई ओलीले भावी प्रधानमन्त्रीको कार्ड फालेपछि गौतम अहिले चुपचाप छन्।

सचिवालयको बैठक सुरु हुनुअघि प्रधानमन्त्री ओलीले छलफलका लागि वामदेवलाई बालुवाटार डाकेका छन्। ओलीले त्यहाँ गौतमलाई आफ्नो पक्षमा ल्याउने अन्तिम कसरत गर्नेछन्। आफ्नो समीकरण फुटाउन ‘वामदेव कार्ड’ फालेपछि प्रचण्ड–नेपाल समूहले पनि आजै प्रधानमन्त्रीले राजीनामा दिएर गौतमलाई अघि सार्नुपर्ने प्रस्ताव राख्नेछन्।

प्रचण्ड–नेपाल समूहको उक्त प्रस्तावमा ओली सहमत हुने सम्भावना देखिँदैन। शुक्रबारको भेटमा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डसँग आफूले अहिले नै राजीनामा दिन नसक्ने प्रष्ट संकेत गरेका छन्। ओलीले प्रधानमन्त्रीबाट राजीनामाको प्रचार गरिएकोमा असन्तुष्टिसमेत जनाएको स्रोतको दावी छ।

सचिवालय बैठकपूर्व वामदेवलाई प्रधानमन्त्रीले बालुवाटार बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। भेटमा ओलीले वामदेवलाई आफूले तत्काल राजीनामा नदिने र अनुकूल परिस्थिति सिर्जना गरेर प्रधानमन्त्री बनाउने आश्वासन दिनेछन्। वामदेवलाई कन्भिन्स गर्न उनले आफू लचक भएको सन्देश दिने प्रयाससमेत गर्नेछन्।

तर, वामदेव आफै दुविधामा छन्। भैंसेपाटी गठबन्धनमा महत्वपूर्ण भूमिका खेलेका गौतमलाई प्रचण्ड–नेपाल समूहलाई धोका दिन सजिलो छैन। प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावमा गौतम विश्वस्त भए भने पनि प्रचण्ड–नेपाल समूहको सहयोग बिना उनी पार्टीमा उम्मेदवारसमेत हुन सम्भव छैन।

ओलीले वामदेवलाई विश्वासमा लिन तत्कालका लागि राष्ट्रिय सभा सदस्यमा पठाउने पार्टीको सिफारिस कार्यान्वयन गर्न सक्नेछन्। यसले वामदेवलाई विश्वासमा लिन सजिलो हुने हुन सक्छ। ओलीले वामदेवलाई तत्काल राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन गरे भने गौतमले आफ्नो धार बदल्नसक्ने कतिपय नेताहरुको आंकलन छ।

तर, वामदेवले धोका दिए भने पनि आफूहरुसँग प्रष्ट बहुमत भएकाले आफूहरुको अडान नछोड्ने पक्षमा प्रचण्ड–नेपाल समूह छ। शुक्रबार नेपाल निवास कोटेश्वरमा भएको भेलामा नेपालपक्षीय नेताहरुले दुवै नेतालाई दृढताका साथ अघि बढ्न दवाव दिएका थिए। त्यसैले पनि प्रचण्ड–नेपाल समूह स्थायी समितिको बैठक रोक्ने ओलीको प्रस्तावप्रति उदार हुने ठाउँ देखिँदैन।

वामदेवले ओलीलाई साथ दिए भने पनि प्रचण्ड समूहसँग प्रष्ट बहुमत छ। वामदेव बिना नै पार्टीको सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र संसदीय दलमा प्रचण्ड–नेपाल समूहको बहुमत पुग्ने भएपछि उनीहरु अडानका साथ अघि बढ्ने मनस्थितिमा छन्।

वामदेवसँग सचिवालय र स्थायी समितिमा उनी एक्ला छन्। केन्द्रीय समितिमा पनि उनका धेरै नेता छैनन्। संसदीय दलमा समेत गौतम कमजोर बन्दै गएका छन्। प्रतिनिधि सभामा निर्वाचित अधिकांश सदस्यहरु गौतम कमजोर भएपछि लाखापाखा लागिसकेका छन्। गौतमको पक्षमा रहेका अधिकांश नेताहरु यसअघि नै ओली वा नेपाल समूहमा छिरिसकेका कारण वामदेवले ओलीलाई साथ दिँदा पनि प्रचण्ड–नेपाल समूह बलियो देखिन्छ।

Comments
Loading...
You might also like