चौरजहारी घटनाका क्रममा भेरी नदीमा बेपत्ता भएका सबैको शव भेटियो

  • 21
    Shares
0

काठमाडौं, २० जेठ, चौरजहारी घटनाका क्रममा भेरी नदीमा बेपत्ता भएका गोविन्द शाहीको पनि शव भेटिएको छ। मंगलबार भेरी नगरपालिका–१२ स्थित खोदा खोला नजिकै भेरी नदीको किनारमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए।

भेरी नगरपालिका–११ का गोविन्द पनि नवराजलाई साथ दिन चौरजहारी गएका थिए। जेठ १० गते रूकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हाम फालेकामध्ये गोविन्द हालसम्म बेपत्ता थिए। घटनामा एक जना सोही दिन राति मृत भेटिएका थिए भने ५ जना बेपत्ता थिए। बेपत्तामध्ये चार जनाको शव यसअघि नै भेटिएको थियो।

केटी भगाउन भनी खलंगाबाट सोती गाउँ गएका २१ वर्षीय नवराज विक सोही राति भेरी नदीमा मृत भेटिएका थिए। १२ गते चौरजहारी नगरपालिका–१ का २० वर्षीय टिकाराम सुनार र अर्का एक जना गणेश बुढाको शव भेटिएको थियो। यस्तै १४ गते बेलुका भेरी नगरपालिकाकै लोकेन्द्र सुनारको शव पनि कुदु गाउँ नजिकै भेरी नदीमा फेला परेको थियो भने १५ गते भेरी नगरपालिका–४ का सञ्जु विकको शव भेटिएको थियो।

Comments
Loading...
You might also like