राष्ट्रिय अनुसन्धान विभागले माग्यो २३२ कर्मचारी

  • 47
    Shares
0

काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागले २३२ सहायक सूचकको लागि आवेदन माग गरेको छ। विभिन्न क्षेत्रमा भएका गतिविधिबारेमा गोप्य रुपमा सूचना लिनका लागि ती सूचकहरु नियुक्त गर्न लागिएको विभागले जनाएको छ।

विभागद्वारा शुक्रबार गोरखापत्रमा प्रकाशित विज्ञापनका अनुसार विभागमा रिक्त रहेको सहायक सूचक (राजपत्र अनंकित चतुर्थ श्रेणी सरह) को लागि खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न लागिएको जनाइएको छ।

जसमा खुल्लाबाट १२८ र समावेशीबाट १०४ जना माग गरेको छ। समावेशी अन्तर्गत आदिवासी जनजाति ३३, मधेशी २९, महिला २०, दलित १५ र पिछडिएका क्षेत्रबाट ५ गरी १०४ जना नियुक्त गरिने विज्ञापनमा जनाइएको छ। सूचना प्रकाशित भएको ३० दिनभित्र अर्थात आउँदो माघ १९ गते सम्ममा आवेदन दरखास्त दर्ता गरिसक्नुपर्ने हुन्छ।

विज्ञापनमा १८ वर्ष पूरा भएको र २५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ। यस्तै कम्तीमा एसएलसी वा एसईई पास गरेको वा सो सरहको प्रमाणपत्र प्राप्त गरेको व्यक्तिले पनि आवेदन दिनसक्ने बताइएको छ। दरखास्त फारम राष्ट्रिय अनुसन्धान विभागको वेबसाइट www.nidept.gov.np मा गएर login गरी व्यक्तिगत विवरण साथै आवश्यक कागजातहरुसहित अनलाइन प्रणालीबाट भर्न सकिने विभागले जनाएको छ।

सहायक सूचक पदको लागि १५० रुपैयाँ परीक्षा दरखास्त शुल्क (राजश्व) तिनुपर्ने हुन्छ। परीक्षा शुल्क नेपालभरका राष्ट्रि वाणिज्य बैङ्कका जुनसुकै शाखाबाट बुझाउन सकिनेछ।

Comments
Loading...
You might also like