मार्क्सवादी स्कूल : आदिम साम्यवादका सात चरण के–के हुन् ?

  • 9.9K
    Shares
0

काठमाडौं। मानव जातिको इतिहास अत्यन्तै लामो र रोचक छ। आजको मानिस आदिम साम्यवाद, दास युग, सामन्ती युग हुँदै पूँजीवादी युगसम्म आइपुगेको छ। पूँजीवाद पनि यतिबेला चरम अर्थात् साम्राज्यवादी युगसम्म आइपुगेको छ। तर, यो यहीँ रोकिनेवाला छैन। समाज विज्ञानको नियमअनुसार यो समाजवाद हुँदै साम्यवादको दिशामा अघि बढ्दछ।

मानव जातिको इतिहासमा आदिम साम्यवाद वर्गविहीन समाज हो। जहाँ वर्ग र सत्ता थिएन। तर, मानिसको जीवन अत्यन्त कष्टकर थियो। त्यसलाई ढुङ्गे युगका रुपमा पनि चिन्ने गरिन्छ। सामान्यतः मार्क्सवादी स्कूलमा आदिम साम्यवादलाई एकै ठाउँमा राखेर अध्ययन गर्ने गरिन्छ। तर, आदिम साम्यवादलाई मुलतः सात चरणहरुमा विभाजन गरी अध्ययन गर्न सकिन्छ।

उत्पादनको सामाजिक स्वरुप जस्तोसुकै भएता पनि श्रमिक जनता र उत्पादनका साधन सधैभरि एउटै अंगका रुपमा रहेका हुन्छन्। उत्पादनका लागि तिनको एकरुपता कायम हुनै पर्दछ। यही एकरुपताको पद्धतिले सामाजिक संरचना भएका विभिन्न आर्थिक युगहरुको निर्माण हुन्छ। यी प्रत्येक युगमा उत्पादन पद्धति फरकफरक खालको हुन्छ। यस अनुसार आदिम साम्यवादी उत्पादन पद्धतिका सात वटा चरणहरु छन्।

(१) वन्य अवस्थाको निम्न चरण :– यस चरणमा मुख्यत भाषाको विकास भयो। यो चरण साँढे पाँच लाख वर्षदेखि यताबाट प्रारम्भ भएको मानिन्छ। भाषाको विकासका पनि चार चरणहरु छन्, १. सांकेतिक भाषा, २. ध्वनी साम्यताको भाषा अर्थात् ध्वनीका आधारमा शब्दहरु निर्माणको चरण, ३. अक्रियावाचक भाषाको विकास अर्थात् एक शब्दीय भाषाको विकास र, ४. क्रियापदयुक्त भाषाको विकास अर्थात् शब्दबाट क्रियापद छुट्टाउने भाषाको विकास। क्रियापदयुक्त चरणलाई भाषिक छलाङको चरण पनि भनिन्छ। मानिसले यसै चरणमा भाषाको विकास गर्‍यो।

भाषाको विकासका साथै यस चरणमा मानिसले एक वस्तुनिष्ठ हतियार प्रचलनमा ल्यायो। एउटा मात्रै वस्तुलाई हतियारका रुपमा प्रयोग गरेका कारण यसलाई एक वस्तुनिष्ठ हतियार भनिएको हो। मानिसले आफ्नो भौतिक सुरक्षा, आक्रमण र आहाराका लागि एउटै वस्तुको हतियार प्रयोग गर्थ्यो, जस्तैः ढुंगा, लठ्ठी आदि। यो आदिम साम्यवादको सबैभन्दा प्रारम्भिक चरण थियो।

(२) वन्य अवस्थाको मध्यम चरण :– यस चरणमा मानिसले आगोको प्रयोग र औजारका रुपमा द्विवस्तुनिष्ठ हतियार प्रयोग गर्‍यो। यो चरण साँढे पाँच लाख वर्षदेखि अढाइ लाख वर्षसम्मको अवधि मानिन्छ। आगोको आविस्कार मानव जातिको इतिहासमा निकै ठूलो क्रान्ति थियो। यस चरणमा मानिसले २ वटा वस्तुको हतियार प्रयोगमा ल्यायो। यस युगमा मानिसले काठ र ढुंगाका हतियारलाई सँगै प्रयोग गर्न सक्ने भयो।

(३) वन्य अवस्थाको उन्नत चरण :– यस चरणमा मानिसले उत्पादनका साधनमा थप विकास गर्दै गयो। यस चरणमा मानिसले धनुर्वाण, औजार र त्रिवस्तुनिष्ठ हतियारको प्रयोग गर्न थाल्यो। तीन वटा वस्तुलाई मिलाएर बनाएको हतियारका कारण त्यसलाई त्रिवस्तुनिष्ठ हतियार भनिएको हो। धनुर्वाण त्रिवस्तुनिष्ठ हतियार हो। यो चरण डेढ लाख वर्षयताको चरणलाई मानिन्छ।

(४) अर्धवन्य अवस्थाको निम्न चरण :– यस चरणमा मानिसले माटाका भाँडाहरु प्रयोग गर्न थाल्यो। त्यतिबेलाको मानिस समूहमा बस्थ्यो, समूहमै खाना पकाउँथ्यो, समूहमै खान्थ्यो। त्यस बेला आफ्नो सुरक्षाका लागि मानिसले माटोको प्रयोग गर्न थालिसकेको थियो। माटो आगोका कारण कडा बन्दै गएको र त्यसैबाट भाँडाको आकृति बन्न थालेपछि मानिसले माटाका भाँडा प्रचलनमा ल्याउन थालेको मानिन्छ। माटोका भाँडा प्रचलनमा आएपछि मानिसले कन्दमुल र खानेकुरा सञ्चित गर्न सम्भव भयो। यस चरणमा मानिसले आफ्नो स्वत्व बुझ्न थालेको थियो।

(५) अर्धवन्य अवस्थाको मध्य चरण :– यो उत्पादनको साधनमा पशुपालन र आरम्भिक कृषिको चरण थियो। यस चरणमा मानिसले पशुहरु पाल्न थाल्यो। खेतीपातीको काम पनि मानिसले यही चरणबाट प्रारम्भ गर्‍यो। यसै चरणमा मानिसमा दार्शनिक चेतनाको प्रारम्भ हुन थालेको मानिन्छ। मानिसले प्रकृतिका वस्तु र सौर्यमण्डल हेरेर आफ्नो जिज्ञासा प्रस्तुत गर्न थालेको थियो। मानिसले पानी किन पर्छ, रात किन पर्छ, अध्याँरो र उज्यालो कसरी हुन्छ, पानी किन तलतिर बग्छ ? जस्ता विषयमा त्यति बेलाबाटै आफ्नो जिज्ञासा जाहेर गर्न थालेको थियो।

(६) अर्धवन्य अवस्थाको उन्नत चरण :– यस चरणमा मानिसले कृषि क्षेत्रमा थप प्रगति गर्‍यो। उत्पादनका साधनमा नहर प्रणालीको विकास यसै चरणमा भएको मानिन्छ। यसै चरणमा मानिसले संगीत एवं नाट्यकलाको विकास गर्‍यो। मानव जातिको पहिलो बाजा डमरु मानिन्छ, जुन यसै चरणबाट मानिसले प्रयोगमा ल्याएको थियो।

(७) अर्धवन्य अवस्थाको सभ्य युग :– यस चरणमा मानिसले वस्तु विनिमय गर्न थाल्यो। आफूलाई बढी भएको खानेकुरा वा वस्तुहरु अरुलाई दिने र आफ्ना लागि आवश्यक वस्तु लिने प्रचलन यसै चरणबाट अगाडि आयो। यसै चरणमा मानिसले फलामको प्रयोगका साथै घोडाको प्रयोग गर्न थाल्यो। फलामका औजारहरुको प्रयोगमार्फत् घोडाको प्रयोग गरी शिकार खेल्ने प्रचलन यहीँबाट आरम्भ भयो।

दास युगको प्रारम्भसम्म समाजमा वर्ग थिएन। आदिम साम्यवादको अन्तिम चरणको वस्तु विनिमयसम्म आइपुग्दा पनि समाजमा वर्ग थिएन। यति बेलासम्म मानिस समूहमै बस्थ्यो, समूहमै आगो ताप्थ्यो, समूहमै खान्थ्यो, त्यसलाई यज्ञाग्नि भनिन्थ्यो। तर, यसका केही खराबीहरु पनि थिए। सामूहिक जीवनमा सबैले समान उत्तरदायित्व बहन गर्दैनथे, कोही अल्छी थिए। साधन स्रोतको सीमितताका कारण कतिलाई पर्याप्त खाना पुग्दैनथ्यो। यसकारण केही मानिसले यज्ञाग्निको बिकल्प खोज्न थाले।

यज्ञको अर्थ उनीहरु जान्छन्, जम्मा हुन्छन् र उत्पादन गर्छन् भन्ने लाग्छ। यसरी मानिसले सामूहिक जीवनको बिकल्प खोज्दै जाँदा केही मानिसले एक्लै आगो फुक्ने र चुल्हो बाल्न थाले, जसलाई पूर्वीय दर्शनमा गृहयाग्निका रुपमा चिनिन्छ। यसले सामूहिक उत्पादन सम्बन्ध र जीवन पद्धतिबाट अलग भएर गृहयाग्नि अर्थात् घरमा एक्लै आगो बाल्न थालेपछि समाज क्रमशः वर्गमा विभाजित हुँदै गयो।

Comments
Loading...
You might also like