श्वास गन्हाउने समस्याबाट मुक्ति पाउने आठ उपाय

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। आत्मग्लानि त्यसबखत हुन्छ, जब कुराकानी गर्दा आफ्नै साथीले अर्कैतिर मुन्टो बटार्छ। जसका कारण मानसिक पीडा पनि पैदा हुन्छ।

व्यक्तित्व विकासका लागि मुखबाट निस्कने मिठा वचनका साथ गन्धरहित सास पनि त्यत्तिकै आवश्यक छ। मानिसको सबैभन्दा पहिलो पहिचान भनेकै उसको बोली हो, जसले मानिसको स्तर निर्धारण गर्छ। हाँस्दा र बोल्दा अरू समक्ष सास गन्हाउन थाल्यो भने भोलि ऊसँग कोही पनि नजिकिन चाहँदैन। त्यसैले यो सामाजिक जिवनका लागि पनि पीडादायक हुन्छ।

गन्हाउने मोजा, काखी र सास यद्यपि हरेकका व्यक्तिगत समस्या होलान्, तर यी समस्याले अरूलाई अप्ठ्यारो पार्छन्। गन्हाउने सासका कारण मुखै नखोली बस्न अवश्य सकिँदैन। मानिसको मुखले उसको शारीरिक स्वस्थता बुझाउँछ। सास गन्हाउनु अस्वस्थताको प्रतीक हो। यो समस्याले कतिपय दम्पतिमा पनि फाटो आएको छ। पीडित आफूसँग हिँडडुल गर्ने र उठबस गर्ने साथीसंगीलाई मात्र हैरानीमा पार्ने नभई स्वयं पनि हीन भावनाले ग्रसित हुनपुग्छ। यस्तो अवस्थालाई रोग आफूलाई र समस्या अरूलाई भनेर चिनिन्छ।

रोग के हो ? : मुख वा नाकबाट अपवित्र वा अशुद्ध नराम्रो, मन नपर्ने गन्ध आउने अवस्थालाई ‘हेलिटोसिस’ वा ब्याड ब्रेथ वा सास/मुख गन्हाउने रोग मानिन्छ। सास गन्हाउने अवस्था रोग नभई यो सामान्य अवस्था वा शरीर तथा मुखमा भएका रोगहरूको लक्षण वा औषधि प्रयोगको असर हुनसक्छ। त्यसकारण सास गन्हाउने अवस्थाले शरीरमा भएका अन्य रोगको जानकारी दिएर ‘मुख शरीरको ऐना हो’ भन्ने भनाइलाई पनि चरितार्थ पार्छ।

प्रकार : सास गन्हाउने बिरामीहरू तीन प्रकारका हुन्छन् : आफ्नो सास गन्हाएको थाहा नपाउनेहरू। आफ्नो सास गन्हाएको थाहा पाएर पनि चिन्ता नगर्नेहरू। आफ्नो सास गन्हाएकोमा चिन्तित हुनेहरू। यद्यपि विवाहको लगन भएको बेला यस्ता बिरामी बढी आउने गरे तापनि जीवनसाथी सहपाठीको सिकायतले सधैंजसो आउने गर्छन्। गिँजा सम्बन्धी रोग, दाँतमा किरा लाग्ने, पछि सास गन्हाउने सिकायत लिएर आउने बिरामी धेरै छन्।

कारण : सामान्य अवस्था– बिहान उठ्नासाथ भोको/व्रत बसेको अवस्था, खानामा प्रयोग गरिएका वस्तुहरू जस्तै– चिया, कफी, मकै, प्याज, लसुन, रक्सी, बोसो, भुटेको खाना, धूमपान, दाँत भर्न प्रयोग भएको सिमेन्ट, राख्ने–निकाल्ने खालको नक्कली दाँत लगाएरै सुत्ने, नाकको सट्टा मुखबाट सास फेर्ने, नमिलेका कृत्रिम दाँत लगाउने, बान्ता वा डकारको सास सामान्य अवस्था भए पनि गन्हाउँछ।

सास गन्हाउनुका विभिन्न कारण हुनसक्छन्। सास गन्हाउने समस्याबाट मुक्ति पाउने केही उपाय यस्ता छन्-

कम्तिमा २ पटक नियमित दाँत माझ्नेः दाँतको सरसफाइमा उचित ध्यान दिनुभयो भने, श्वास गनाउने समस्याको त समाधान हुन्छ। त्यसका साथसाथै विभिन्न दन्तरोगहरूबाट पनि बच्न सकिन्छ। बिहान उठेपछि तथा सुत्नुभन्दा अगाडि दाँत माझ्दा बिहानीपख श्वास गनाउने समस्या कम हुँदै जान्छ।

ताजा फलफूल तथा साजसब्जी खानेः ताजा र प्रशस्त पानी पाइने फलफूल, जस्तै गाँजर, काँक्रो, स्याउ, आदि दैनिक खानुभयो भने पनि श्वास गन्हाउने समस्यामा कमी हुन्छ।

पिरो खानेकुरा नखानेः सबैलाई थाहा भएकै कुरा हो कि, प्याज खाएपछि कत्तिको श्वास गन्हाउँछ भनेर। हुन त प्याज खानु स्वास्‍‍‍थ्यका लागि राम्रै कुरा हो, तर नराम्रो श्वासबाट मुक्त हुन चाहनुहुन्छ भने यस्ता खानेकुराहरू नखाँदै उचित हुन्छ।

गुलियो खानेकुरा कम खानेः धेरै गुलियो खानेकुराहरू खाएपछि मुखमा केही कणहरू बाँकी हुन्छ, जुन पछि गएर दुर्गन्धको स्रोत बन्न जान्छ। त्यस्ता कणहरूमा ब्याक्टेरिया पनि छिट्टै नै आकर्षित हुने गर्दछ। ती ब्याक्टेरियाहरू एसिडमा परिणत हुन्छन् र दाँत कुहिने, दाँत खिइने तथा श्वास गनाउनेजस्ता विभिन्न समस्याहरू देखा पर्दछन्।

जिब्रो सफा गर्नेः बिहान उठ्दा श्वास गन्हाइराखेको छ भने तपाईंको जिब्रोमा बाक्लो सेतो लेउ लागेको हुन सक्छ। यस्तो लेउमा श्वासलाई दुर्गन्धित बनाउने ब्याक्टेरियाहरू जम्मा भएर बसेका हुन्छन्। त्यसैले दाँत माझेपछि नरम ब्रसले जिब्रोलाई हलुका सफा गर्ने बानी बसाल्नुहोस्।

नुन पानीले मुख कुल्ला गर्नेः मुख कुल्ला गर्दा घरेलु उपाय अपनाउन पनि सकिन्छ। त्यसका लागि १ गिलास मनतातो पानीमा आधा चम्चा नुन राखेर घोल्नुहोस् र त्यस पानीले मुख कुल्ला गर्नुहोस्। यसो गर्दा पनि केही राहत मिल्दछ।

सुत्ने बानीलाई सुधार्नेः राति सुत्दा घुर्नुभयो अथवा मुख खुल्ला गरेर सुत्नुभयो भने गह्रौँ श्वास फेर्नुपर्ने हुन्छ, जसले गर्दा बिहान श्वास गन्हाउन सक्छ। त्यसैले सुत्ने बानीमा सुधार ल्याउनु जरूरी हुन्छ। त्यसका लागि उत्तानो परेर सुत्नुभन्दा कोल्टे परेर सुत्नु उचित हुन्छ, र सुत्दा मुखको सट्टा नाकले श्वास फेर्ने बानी बसाल्नुहोस्।

सुत्नुभन्दा अघि पानी पिउनेः राति सुत्दा शरीरमा पानीको कमी हुन गयो भने पनि मुख सुक्खा हुने गर्दछ, जसले बिहानमा दुर्गन्धित श्वास निम्त्याउँदछ। त्यसैले दिनमा पनि कम्तिमा ८ गिलास पानी पिउनुपर्ने हुन्छ र राति सुत्नुभन्दा अगाडि पनि १ गिलास पानी अनिर्वाय पिउनुहोस्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्