टेकु स्रोत भन्छ, ‘रुघाखोकीका बिरामी हुन्, कोरोना देखिएको छैन’

Teku hospital
लोकपाटी न्यूज

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्र टेकुमा कोरोनाभाइरसको संक्रमणसँग मिल्दाजुल्दा लक्षणका पाँच बिरामी भर्ना भएका छन्। अहिलेसम्म कोरोना संक्रमणको आशंकामा पाँच व्यक्ति भर्ना भएका अस्पताल स्रोतले जनाएको छ।

उनीहरु सबै चीन र दक्षिण कोरियाबाट फर्किएका व्यक्ति हुन्। उनीहरूमा ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएको केन्द्रका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए। उनीहरु शंकास्पद बिरामीको मापदण्डमा परेकाले निगरानीमा राखिएको पाण्डेको भनाई छ। कोरोना भाइरसको संक्रमण भएका देशबाट फर्किएका र कडा रुघा र ज्वरोको लक्षण देखिएका बिरामीलाई निगरानीमा राखिएको उनले बताए।

एक महिनाअघि नेपालमा एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो। तर त्यसपछि अरू कसैमा पनि संक्रमणको पुष्टी भएको छैन। कोरोनाभाइरसका कारण चीनसहित ११ देशमा मृत्यु हुने मानिसको संख्या तीन हजार नाघिसकेको छ। झण्डै ९० हजार संक्रमित उपचारको क्रममा छन्।

टेकु अस्पताल स्रोत भन्छ, ‘हामीकहाँ विदेशबाट आएका बिरामी भर्ना हुन आएका थिए। तर, उनीहरुमा कोरोनाको लक्षण देखिएको छैन। हामीले स्वास्थ्य परीक्षण गरिरहेका छौं। अहिलेसम्म त्यस्तो लक्षण छैन। अन्तिम परीक्षणपछि बल्ल यसबारे आधिकारिक रुपमा भन्न सकिन्छ।’

स्रोतले भन्यो, ‘रुघाखोकी र कोरोनाको प्रारम्भिक लक्षण उस्तैउस्तै हुने भएकाले मानिसमा भ्रम छ। तर, यो कोरोना होइन। सामान्य लक्षणबाट हामी आत्तिनु हुँदैन। नेपालमा कोरोनाको खास लक्षण देखिएको छैन।

भर्खरै प्राप्त जानकारी अनुसार कोरोना (कोभिड-१९) भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएको छ। परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले जानकारी दिएका छन्।

आइतबार चीनबाट एकजना र कोरियाबाट आएका तीनजना गरी चारजनालाई अस्पताल भर्ना गरिएको थियो। हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ। तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्