‘लकडाउनको रचनात्मक उपयोग गरौं’

  • 47
    Shares
0

निरु आचार्य ‘नवरश्मी’

पछिल्लो समय विश्वमा आतंक मच्चाइरहेको कोरोना भाइरस नेपाल लगायत १९९ भन्दा बढी देशमा फैलिसकेको छ। यस्तो विकराल अवस्थामा राज्यको मात्र भर नपरी निजी क्षेत्र, नागरिक समाज र नागरिक तवरबाट हातेमालो गरी अगाडि बढ्नुपर्ने अवस्था सिर्जना भएको छ, यस्तो अवस्थामा राज्यलाई एकनास दोषी नबनाई नागरिकहरुले आफ्नो तहबाट गम्भीरतापूर्वक आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने अवस्था सिर्जित भएको छ। कुन सत्ता पक्ष, कुन प्रतिपक्ष, कुन पार्टी, कुन जातजाति, भाषाभाषी, धर्म नभनी सबै जना मिलेर कोरोनाविरुद्ध लड्नुपर्ने भएको छ।

नागरिकहरु राज्यले लगाएको नियममा बस्दा, राज्यको नियम मान्न बाध्यकारी अवस्थामा पुगेको अनुभूति गर्दैछन्। तर वास्तवमा यो राज्यलाई सहयोग गरेको मात्र नभई आफ्नो स्वास्थ्यका लागि गरिएको उच्चतम पहल हो। सामान्य अवस्थामा जस्तै एक पक्षले गरेको निर्णय अर्को पक्षले विरोध नै गर्नुपर्छ भन्ने मानसिकताबाट ग्रसित हाम्रो समाज आज पनि अग्रपंक्तिमा पुग्न सकेको छैन। आफूभन्दा दोस्रो व्यक्तिले केही सकारात्मक कार्यको शुरुवात गर्न खोज्दा प्रेरणा प्रदान गर्नुको सट्टा खुट्टा तान्ने प्रवृत्ति अझै पनि हाम्रो समाजमा ज्वलन्त रुपमा देख्न पाइन्छ। विविधतामा एकताका जतिसुकै फुक्ला भाषण गरेता पनि ब्यवहारमा कार्यन्वयन भएको देखिँदैन।

सरकारले अनावश्यक रुपमा घर बाहिर ननिस्किन, भीडभाडमा नजान, मानिसहरु जम्मा नहुन आग्रह गरे तापनि अझै पनि कुनै कुनै ग्रामीण परिवेशमा त्यति कार्यन्वयनमा ल्याएको पाइँदैन। दशैमा गाउँ घर गएर धित नमरुञ्जेल बस्न, भेटघाट गर्न नपाएका दाजुभाइहरु जम्मा भई क्रिकेट खेल्ने, भलिबल खेल्ने ब्याडमिन्टन खेल्ने, खसी काट्ने, तास खेल्ने, गाउँमा त केही हुँदैन, शहरमा हो संक्रमण हुने भनी गम्भीर नहुने, खोलामा जाने माछा मार्ने गरेको सुन्न पाइन्छ। जतिसुकै शैक्षिक क्षेत्रमा अब्बल भए पनि बुद्धिमता प्रयोग गर्न सकिँदैन भने ती शैक्षिक प्रमाणपत्रको कुनै महत्व रहँदैन। हरेक सकारात्मक कार्यको सुरुवात हामी आफैबाट गर्नुपर्छ भन्ने मानसिकता युवामा हुनुपर्छ।

लकडाउनको समयमा सरकारले भनेको मान्नु मात्र नभई आफू र आफ्नो परिवार घरमा सुरक्षित तबरले रहनु पनि हो। त्यसैले हरेक नागरिकले यो भयावह स्थितिलाई साम्य पार्न शतप्रतिशत होम क्वारेन्टाइनमा बस्नु अति जरुरी छ। कफ्र्युको बेलामा समेत चोकचोकमा पुलिसहरु छ कि छैन ? मानिसहरु बाहिर निस्केका छन् कि छैनन् ? भनी चियोचर्चो गर्न बाहिर निस्किने हामी नेपालीको बानी करेन्टाइनको यो विषम परिस्थितिमा बिहान र साँझ तरकारी किन्ने निहुँमा हिडडुल गरेको पाउन सकिन्छ। कसैले बाटो सुनसान छ भनी फोटा खिच्न, सोर्स लगाएर पास कार्ड बनाई जथाभावी बजार डुल्न होस् या प्रहरीले गरेको कार्यको भिडियो खिच्न होस्, मानिसहरु लुकिछिपी सडकमा निस्केका छन्।

राज्यको चौंथो अङ्ग भनेर चिनिने पत्रकारहरु पनि सूचनामा प्रथम हुने होडबाजीमा गलत सूचना सम्प्रेषण गर्न बन्द गर्न जरुरी देखिन्छ। यो लकडाउनको समयमा हामी पनि राज्य हो भनेर प्रत्येक नागरिकले चिन्तन मनन नगरे, सुरक्षीत हुन सरकारको मुख नताके यो महामारीलाई अन्त्य गर्न सकिँदैन, त्यसैले यो समयलाई एक महत्वपूर्ण अवसर सम्झी परिवारको साथमा रमाइरमाइ बस्ने, आफूले पढ्न नपाएका पाठ्यपुस्तकहरु पढ्ने, घरायसी कामहरु गर्ने, छोराछोरीलाई घरको काम सिकाउने लगायतका रचनात्मक काम गरेर उपयोग गरौं।

Comments
Loading...
You might also like