कुश्मा नगरपालिकाद्वारा ५० लाखको विपत व्यवस्थापन कोष स्थापना

  • 239
    Shares
0

निर्मल पौडेल/ पर्वत, २१ चैत। पर्वतको कुश्मा नगरपालिकाले ५० लाख बराबरको राहत कोषको स्थापना गरेको छ।विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइस कोभिड-१९ को जोखिम न्यूनिकरण गर्न तथा राहत वितरण गर्न उक्त रकम बराबरको कोषको स्थापना गरिएको नगरपालिकाले जनाएको छ।

जसमा नगरपालिकाले रु १५ लाख, कार्यरत कर्मचारीहरुहरुबाट रु २ लाख, जनप्रतिनिधिबाट रु ३ लाख, विभिन्न संघ संस्थामार्फत् रु १० लाख, प्रदेश सरकारबाट रु १० लाख लगायत अन्य विभिन्न निकायहरु मार्फत रकम उठाउने अपेक्षासहित उक्त कोषको स्थापना गरिएको हो। जसमा राहत सामग्री खरिदमा रु १५ लाख कोरोना अस्पताल व्यवस्थापन तथा मेडिकल सामग्रीहरु खरिद लगायतमा खर्च गरिने भएको हो।

नगरपालिकाले विभिन्न निकायहरुसँग पनि सहयोगको अपेक्षा राखेको कुश्मा नगरपालिका ११ का वडाध्यक्ष शिव शर्मा पौडेलले बताए। नगरपालिकाले राहत वितरण नगर समन्वय समिती समेत गठन गरी खाद्य सामग्री बैंकको स्थापना गरेको छ। उक्त रकम लकडाउनका कारण समस्यामा परेका पीडित, बिपन्न परिवार तथा ज्याला मजदुरी गरी जिवन गुजारा चलाउने, साँझबिहान हातमुख जोड्न धौ धौं हुने वर्गका लागि खर्च गरिनुका साथै आपतकालिन अवस्थाका लागि खर्च गरिने भएको छ।

नगरपालिकाले कुश्मा नगर शिक्षा अधिकृत राजेन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा खाद्यान्न सामग्री संकलन तथा राहत वितरण गर्ने समिति निर्माण गरेको छ। समितिले विभिन्न संघ संस्थामार्फत् आउने खाद्यान्न तथा राहत नेपाल सरकारको मापदण्ड बमोजिम एकद्धार प्रणालीबाट प्रदान गर्ने नगरपालिका कार्यालयले जनाएको छ।

Comments
Loading...
You might also like