मूख्यमन्त्री पोखरेलद्वारा पूर्वि रुकुमका स्थानीय तहका प्रमूख र प्रजिअसँग भिडियो संवाद

  • 83
    Shares
0

अस्मिना पाण्डे/ बुटवल, २१ चैत। कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयासबारे शुक्रबार मूख्यमन्त्री शंकर पोखरेलले पूर्वि रुकुमका स्थानीय तहका प्रमूख र प्रमूख जिल्ला अधिकारीसँग एकीकृत भिडियो संवाद गरेका हुन्। उनीहरुबीच कोरोना रोकथाम र नियन्त्रणका लागि अहिले भइरहेका काम र आगामी योजनाका बारेमा छलफल भएको प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

मूख्यमन्त्री पोखरेलले मापदण्डअनुसारका क्वारेन्टाईन निमार्ण गर्न, क्वारेन्टाइनमा बसेकालाई गुणस्तरीय खानाको व्यवस्थापन गर्न र स्थानीयस्तरबाट प्राप्त सूचना प्रदेश र संघीय सरकारलाई उपलब्ध गराउन निर्देशन दिए। उनले राहत कोष निर्माण गर्न, दैनिक ज्यालादारी मजदुर र विपन्न समुदायको तथ्याङ्क संकलन गर्न, राहत एकद्धारबाट वितरण गर्न ध्यानाकर्षण गराएका थिए।

स्थानीय तहका प्रमूख र प्रमूख जिल्ला अधिकारीले अहिलेसम्म गरेका कामबारे जानकारी गराएका थिए। उनीहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङ्क संकलन गरी राहत वितरण गर्न थालेको जानकारी मूख्यमन्त्रीलाई गराएका थिए। त्यसपछि मूख्यमन्त्री पोखरेलले महामारी रोकथामका लागि स्थानीय तहको सक्रियता प्रशंसनीय रहेको बताउँदै स्थानीयस्तरमा खाद्यवस्तुको अवस्थाको जानकारी लिएका थिए।

पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष ओमप्रसाद घर्तीले गाउँपालिका खाद्यान्नमा आत्मनिर्भर रहेको बताए। भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगर र सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले तत्काल समस्या नरहेपनि केही समयपछि समस्या आउन सक्नेबारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए। मूख्यमन्त्रीले दाङ र बाँकेबाट खाद्यान्नको आपूर्तिको लागि आवश्यक व्यवस्था मिलाउने बताए।

प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निर्माण गरी उपचारको व्यवस्था गरेकोले कोरोनाको कोही शंकास्पद बिरामी फेला पर्नेबित्तिकै अस्पताल पठाउन र त्यसका लागि प्रत्येक स्थानीय तहका एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्न उनले आग्रह गरे।

प्रमूख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले स्वास्थ्य सामग्रीको व्यवस्थापन अझै बढाउनुपर्ने र बाग्लुङबाट भूमे गाउँमा पूर्णरुपमा आवतजावत रोक्न आवश्यक रहेकोले गृहमन्त्रालयलाई जानकारी गराएको बताए। प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यबाट प्रभावकारी बनाई कोरोना विरुद्धको लडाई जित्नको लागि यो भिडियो संवाद थालिएको हो। यसअघि उपमहानगरका प्रमूख र जिल्ला सदरमुकामका नगरपालिका प्रमूखसँग भिडियो संवाद भइसकेको छ।

Comments
Loading...
You might also like