अमेरिकाको सडक पनि मेरो लागि पाठशाला हो : शुनिल कुमार झा (अन्तर्वार्ता)

  • 17
    Shares
0

काठमाडौं। सिस्को (CISCO-CCIE) प्रमाणपत्रको लागि लिइने परीक्षा विश्वभरि लिइने परीक्षाहरुमध्ये सबैभन्दा गाह्रो परीक्षाहरुको सूचिमा पर्छ। सूचना प्रविधिको राजधानी मानीने क्यालीफोर्नियामा अवस्थित ‘सिस्को’ एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनि हो।

यसले सूचना–प्रविधिर साईबर सुरक्षाका लागि आवश्यक प्रविधिहरु उत्पादन गर्छ। साथै उक्त प्रविधिलाई आवश्यकता अनुसार परिमार्जन गरि सञ्चालनमा ल्याउनका निम्ति विभिन्न चरणको परीक्षा लिइ दक्ष जनशत्ति समेत उत्पादन गर्ने गर्छ।  यसै प्रणालीद्वारा सञ्चालित ‘ईन्टरनेट नेटवर्किङ’ सम्बन्धि ‘सिस्को सर्टीफाईड ईन्टरनेटवर्क एक्सपर्ट’को प्रमाणपत्र पाउने पहिलो नेपाली हुन् शुनिल कुमार झा।  शुनिल कुमार झासँग लोकपार्टी सम्मवाददाताले लिएको अन्तरवार्ताः

तपाईको प्रारम्भिक शिक्षा तथा पारिवारिक पृष्ठभूमि कस्तो थियो ?

सर्लाही जिल्लाको सिमरा गाँउमा मेरो जन्म भएको थियो। पिताजी नेपाल प्रहरीमा हवल्दार हुनुहुन्थ्यो। खाँटी मध्यमवर्गीय परिवार थियो हाम्रो।

बाल्यकालमा पढाईप्रतिको लगाव कस्तो थियो?

मेरो बाल्यकाल पनि सामान्य नै थियो। यद्यपी म अरुभन्दा जीज्ञासु स्वभावको भएकोले परिवार बाहिरका मानिसहरुले पनि माया गथ्र्यो। मैले प्रारम्भिक शिक्षा अनौपचारिक रुपमा मेरो काका कवि शडानन्द झाबाट पाएको थिए । उहाँ आँखाले देख्न सक्नु हुन्थेन। तर ज्ञानको महासागर हुनुहुन्थ्यो। कतै जान परे प्रायः मलाईसँगै लिएर जानुहुन्थ्यो। र, बाटोमा रामायण, माहाभारत तथा वेद पुराणका कुरा लगायत विश्वको घटनाहरुबारे सिकाउनुहुन्थ्यो। वहाँमार्फत् नै मैले जिवनको उद्देश्य तथा मार्गदर्शन पाएको थिए । म ६ वर्षको भएपछि गाँउमा गुच्चा खेल्न गएर छोरो बिग्रिन्छ कि भनेर बुवाले आफूसँग राखेर औपचारिक शिक्षाको लागि वहाँ कार्यरत ठाँउसर्लाही जील्लाकै बरहथवा लग्नुभो ।

सर्लाहीको सिमराबाट अमेरिकासम्मको यात्रा कसरी तय भयो?

कवि काका भन्नुहुन्थ्यो ईमान्दारिपूर्वक चिताएको लक्ष्य पाउन निरन्तर परिश्रम गर्दै जानुपर्छ। परिणामको जीम्मा ईश्वर माथि छोडिदिनुपर्छ। काग र कोईली दुईटैको रङ्ग एउटै छ तर प्रतिभाको आधारमा कोईली सबैको प्रिय छ। त्यसैले मेहनत गर र प्रतिभा हाँसिल गर। हेर त म अन्धो छु, तैपनि ज्ञान आर्जन गर्न मलाई यसले रोकेन।

त्यसैगरि एकचोटी हाम्रो गाँउमा एउटा अमेरिकन आएको थियो रे। उ धनी छ कि गरीब छ त्यो कसैलाई थाहा थिएन तर अमेरिकन भएकोले सबैले उसलाई सम्मान गथ्र्यो। त्यसैले तिमी जहाँ गएपनि सिप सिक्न र ज्ञान आर्जन गर्न छोड्नु हुँदैन। तिमीले राम्रो गरे सबैको नाम र ईज्जत हुन्छ।

यो वाक्यले मलाई जहिलेपनि प्रेरित गरि रह्यो। यो कुराले मेरो मानसपटलमा गहिरो छाप छोडेको थियो। त्यतिबेला देखि नै अमेरिका गएर पढ्ने इच्छा जागेको थियो। तर चिताएकै भरमा त्यो सम्भव थिएन। परिवारबाट पाएको निरन्तर हौसला र मलाई पढाउनु हुने शिक्षकहरुको आशिर्वादले मलाई मेहनत गर्न उत्प्रेरित गरिरह्यो। वहाँहरुकै प्रेरणा अनुशार मैले परिश्रम गर्दै गए हरेक सिढिहरु एकएक गरी पार गर्दै गए र ईश्वरको कृपाले मलाई यो लक्ष्यसम्म डोर्याएर ल्यायो।

आफ्नो सफलताको श्रेय केलाई वा कसलाई दिनुहुन्छ ?

अमेरिका गएर विज्ञता हाँसिल गर्नु मेरो सानैदेखिको सपना थियो। पुल्चोक क्याम्पसबाट इञ्जिनियरिङमा स्नातक गरेपछि अमेरिकालाई गन्तव्यको रुपमा रोज्दा नै सफलताको पहिलो खुड्किलो चढे जस्तो लाग्छ। अमेरिका आइसकेपछि पनि सुरुको ५वर्षसम्म संघर्ष गर्नुपरेको थियो। त्यसैले काम गर्दै लगातार ५ वर्षसम्म अध्ययन गरे। कष्टकर थियो जीवन तर मैले लक्ष्यसम्म पुग्न अरु विकल्प देखिन। आत्मनिर्भर भएर काम गर्न तथा पढ्न मलाई अमेरिकाले सिकाएको हो। त्यसैले अमेरिकाको सडक पनि मेरो लागि पाठशाला हो ।

ऋइक्ऋइ को नाममात्र सुनेको थिए। नेपालबाट हालसम्म कसैले पनि यो प्रमाणपत्र प्राप्त गरेको छैन भनि थाहा पाएपछि मैले गर्नुपर्छ भन्ने इच्छा जाग्यो। पास भइएला कि नभइएला थाहा थिएन तर मेहनत र ईश्वरको कृपाको जीत भयो। भनिन्छ नि परिश्रम गर्नेको साथ परमात्माले पनि दिन्छन्। परिश्रमका साथै मलाई पढाउनुहुने गुरुहरु तथा परिवारलाई मेरो सफलताको श्रेय दिन्छु।

नेपालमा यस्तो प्रणाली स्थापना गर्न तथा नेपालमा थप योगदान दिन के कस्तो योजना छ?

सूचना प्रविधिमा अझैपनि नेपाल बामे सर्दै छ। व्यक्तिगत स्तरबाट यो प्रणाली स्थापना गर्न सकिने सम्भावना न्युन छ। नेपाल सरकारको तर्फबाट नै ठोस योजनासहित् आवश्यक बजेटको व्यवस्था भए दक्षहरुको एउटा टोली नै गठन गरी गृहकार्य गर्ने हो भने सम्भव छ। र, नेपालको लागि यो निकै फलदायी पनि हुनेछ।

नेपालमा विज्ञको अभाव मात्र नभई सूचना प्रविधिको विकासको विषयमा सरकारको ध्यान अझैपनि पुगेको देखिदैन। नत्र सूचना प्रविधिजनशक्ति उत्पादन मात्र नभई हरेक दृष्टिकोणले विश्वशक्ति बन्ने प्रतिस्पर्धामा रहेको भारत र चीनको बिचमा अवस्थित नेपालले निकै लाभ लिन सक्थ्यो। तर यसको लागि विभिन्न देशसँग सहकार्य तथा राजनीतिक अवरोधरहित वातावरण आवश्यक छ।

नेपालमा बसेर तपाईजस्तै सपना देखिरहेका युवाहरुलाई के भन्न चाहनुहुन्छ ?

विश्वको जुनसुकै कुनामा बसेर सपना देखे पनि कडा परिश्रम नगरि सफलता हात पार्न सकिँदैन। सहि गन्तव्य रोजेर निरन्तर अभ्यास गर्नु एउटा मात्र बाटो हो। यहाँसम्मको भोगाई तथा अवसरहरुको सम्पूर्ण विवरण सहित एउटा किताब प्रकाशित गर्दैछु। यसै वर्षको अन्त्यमा आउने उत्त किताबमार्फत् मेरो यात्राबारे थप प्रकाश पार्नुका साथै मेरो भावी योजनाहरु पनि सार्वजनिक गर्नेछु।

Comments
Loading...
You might also like