यौनमा पित्तृसत्ताः यौनकर्म रहर कि बाध्यता ?

Pratima Sharma
दुनियासँग डराइडराई भए पनि बाँच्नैका लागि.....। तर कोहीकोही मान्छेले पैसा नदिई उल्टै लान्छना लगाएर जान्छन्, कसैले दुइचार पैसो दिन्छन्। कहिले ग्राहक पाइन्छ, कहिले पाइँदैन। आज तपाईले बोलाएर यहाँ आएँ, ग्राहक छुटे, साँझ कसरी छाक टार्ने ? महिनाको अन्त्यमा घरभाडा कसरी तिर्ने ? थाहा पाए भने घरबेटीले निकाल्छन्, आफन्तले छीछी गर्लान्, अब तपाई आफै भन्नुस् म कसरी खुसी हुन सक्छु यो पेशामा ? फेरि खुसी नभए पनि बाध्यताले गर्नु नै छ आफ्ना सन्तानका लागि।
प्रतीमा शर्मा

काठमाडौं उपत्यका र काठक्षेत्रका महिला र काठमाडौं शहरभित्र दैनिक जीवन गुजाराका लागि बिभिन्न समस्याको जोखिम उठाउँदै अनौपचारिक मनोरञ्जनका क्षेत्रमा काम गरिरहेका करिब ५९५ महिला यौनकर्मी, पुरुष यौनकर्मी, महिला समलिंगी, पुरुष समलिंगी, द्वीलिंगी र पारलिंगीहरुसँग भेटघाट, छलफल, अन्तरक्रिया, तालिम र मनोविमर्श गर्ने अवसर पाएँ। शिक्षा, स्वास्थ्य, रोजगार, राजनीति, सुरक्षा र परिवारको न्यानो माया लगायतका बिभिन्न अवसरबाट पछाडि पारिएका यी समूहसँग नजिकबाट छलफल गर्ने यो अवसर अत्यन्तै महत्वपूर्ण रह्यो मेरा लागि। यही छलफलबाट उनीहरुको कथा, व्यथा, समस्या र उनीहरुले भोग्दै आएको पीडा कति दर्दनाक छ भन्ने कुरा अनुभूत गरें।

अनौपचारिक मनोरञ्जन र यौन मनोरञ्जनको क्षेत्रमा काम गर्दैगर्दा भोग्नुपरेका पीडा, वेदना र अनुभवलाई लिपिवद्ध गर्ने हो भने संसारकै ठूलो महाकाव्य बन्छ। अलिखित महाकाव्यको सचित्र कथा सुन्ने यात्रामा सहभागी हुने, आफूले जानेका सशक्तिकरणका उपाय साटासाट गर्ने, मनोविमर्श र अधिकारमुखी अवधारणाबाट नेतृत्व विकास गर्न सहयोग पुर्‍याउने हेतुले सञ्चालन गरिएको तालिमको सहजीकरण गर्ने, कानुनी तथा मनोसामाजिक बिमर्श गर्ने अवसर उपलब्ध भयो।

बिबिध यौनिक अभिमुखीकरण र यौनिकता

हरेक व्यक्ति फरक हुन्छन्, खास हुन्छन् र उनीहरुका भावना पनि खास हुन्छन्। सबै व्यक्तिको लैंगिक तथा यौनिक पहिचान महिला र पुरुषमा मात्र सीमित हुँदैन। तर पुरुषप्रधान यौन साम्राज्यताले बिबिध यौनिक अभिमुखीकरण र स्वतन्त्र यौनिकताबारे नियन्त्रण गर्दै आएको छ। राज्यले बनाउने नीति, कानुन र कार्यक्रममा उनीहरुको समस्या, सशक्तिकरण र अधिकारलाई समेटेन, प्राकृतिक रुपमै बिबिध यौनिक अभिमुखीकरण भएका व्यक्ति हुन्छन् भनेर स्वीकार गर्न सकेको छैन। पुरुषप्रधान यौन साम्राज्यले बिपरित लिंगीको मात्र परिकल्पना गर्‍यो र पुरुषलाई पहिलो लिंगीको रुपमा प्रस्तुत गर्दै महिलाको यौनिकतामाथि पनि नियन्त्रण गर्‍यो।

बिबिध लैंगिक अभिमुखीकरणबारे त झन उदासिन बन्यो पुरै समाज, राज्य र विश्व समुदाय नै। फलस्वरुप जबरजस्ती कि महिला, कि पुरुष बनाई बिपरित लिंगीसँग बैबाहिक सम्बन्ध जोड्ने, प्रजनन् भूमिकामा अड्काउने र फरक यौनिक अभिमुखीकरण भएका व्यक्तिको स्वतन्त्र यौनिकताको हकलाई निशेध गर्ने, उपहास गर्ने र समाजबाटै अलग्याउने खालका सामाजिक मूल्य मान्यता बनाएर यही मूल्य मान्यताका आधारमा बिभेदपूर्ण कानुन बनाउँदै बिभेदपूर्ण व्यवस्थालाई संस्थागत रुपमै पुस्तान्तरण गरिँदै आएको पाइन्छ। यसको प्रत्यक्ष असर संसारभरिका फरक फरक लैंगिक तथा यौनिक अभिमुखीकरण भएका व्यक्तिहरुलाई परेको छ भने अप्रत्यक्ष असर उनका परिवार, समाज र राज्यलाई नै परेको छ।

फरक लैंगिक तथा यौनिक अभिमुखीकरण भएका व्यक्तिहरुलाई बिभिन्न कालखण्डमा बिभिन्न नामले परिचित गराइएको पाइन्छ, जस्तैः नपुंसक, हिजडा, छक्का, समाजमा बिकृति ल्याउने समूह, तेस्रो लिंगी हुँदै लैंगिक तथा यौनिक अल्पसंख्यक भन्न थालिएको छ। नपुंसक, हिजडा, छक्का, समाजमा बिकृति ल्याउने समूह, तेस्रो लिंगी आदि उपनाम दिएर बिबिध यौनिक अभिमुखीकरण भएका व्यक्तिहरुको लिंगीय पहिचान अस्वीकार मात्र गरेका छैनन्, होच्चाउँदै निक्रिस्ट गाली गर्ने, लान्छाना र आक्षेप लगाउने तथा उपेक्षा र लैंगिक हिंसा गर्दै घर, परिवार र समाजबाट अलग्याएका छन्। यसको मुख्य कारण पुरुष प्रधान समाज, पूँजीवाद र पुरुषप्रधान यौन साम्राज्यता नै हो।

अरुको यौनिकताप्रति धावा बोल्ने, नियन्त्रण गर्ने, अरुलाई तेस्रो लिंगी भन्दै घुमाउरो पाराले आफ्नो यौन साम्राज्यतालाई व्यापक र फराकिलो बनाउँदै महिला र फरक यौन अभिमुखीकरण भएका समूह तथा व्यक्तिको यौनिकतालाई निषेध गर्ने पुरुषप्रधान सामाजिक संरचनाले समाजमा धान्नै नसक्ने गरी बिकृति ल्याएको छ। तर यतातिर कसैको ध्यान गएको छैन, उल्टै पीडित समूहलाई आरोप लगाएर हेट्र सेक्सुअल समूह बिशेषगरी पुरुष प्रधानताका हिमायतीहरुले समजलाई बिकृत गरेका छन् भन्दा अतिउपयुक्त हुन्छ।

लैंगिक तथा यौनिक अल्पसंख्यक भन्ने शब्द पनि लैंगिक संवेदनशील छैन। यो शब्दले पनि एउटा ठूलो समूहमाथि हिंसा गरेको प्रतीत हुन्छ। कसैले कसैलाई जबर्जस्ती बिपरित लिंगी भन्दिँदैमा, बिपरित लिंगीसँग बिबाह गरिदिँदैमा वा उसले आफ्नो पहिचान कागजको खोस्टोमा महिला वा पुरुष लेख्दैमा के साँच्चै नै उक्त व्यक्ति आफ्नो यौनिकताबारे जागृत छ ? के उसले आफ्नो यौनिकता पहिचान गरेर बिपरित लिंगीसँग बिबाह भएको हो ? कदाचित होइन।

बिपरित लिंगीसँग बिबाह हुँदैमा के उनीहरु आफ्नो यौनिकताको अधिकार प्रयोग गरेर तृप्त हुन सकेका छन् ? के आफ्नो चाहना, रुचि र सन्तुष्टिबारे खुलेर बताउन सकेका छन् ? के आफ्नो पार्टनरसँगको यौन क्रियाकलापमा, भावनात्मक र मनोवैज्ञानिक रुपमा प्रेमानुभूति गरेका छन् ? के उनीहरुले बाहिर अरु कसैसँग यौन तथा भावनात्मक सम्बन्ध राखेका छैनन् ? पुरुषहरुले घरभित्रै यौन सन्तुष्टी प्राप्त गर्न सकेनन् भने वा यौन तथा भावनात्मक सन्तुष्टि पाए पनि यौन बजारबाट सजिलै किन्दछन्, नयाँ नयाँ अनुभव लिन मन पराउँछन् र लिन्छन पनि (सबै पुरुषले गर्दछन् भन्ने होइन) तर के महिलाहरुलाई त्यो छुट छ ?

के महिलाहरु आफ्नो श्रीमानसँगको शारीरिक सम्बन्ध, यौन सहकार्य तथा भावनात्मक र मानसिक सम्बन्धमा सन्तुष्ट छन् ? छैनन् भने के महिलालाई आफ्नो रुची बमोजिमको यौनसम्बन्ध, शारीरिक, मानसिक तथा भावनात्मक सम्बन्ध बजारबाट किन्ने वा लिने छुट छ ? कदापि छैन। यदि यो सबै कुरामा महिला तथा पुरुषलाई आफ्नो यौनिकताबारे स्वतन्त्रता दिने हो भने लैंगिक तथा यौनिक अल्पसंख्यक भनेर जस्लाई सम्बोधन गर्न खोजिएको छ, त्यो समूह बहुसंख्यकमा परिणत हुन्छ। त्यसैले मुठीभरका बिपरित लिंगीहरुले ठूलो मासको यौनिकतामा बिभिन्न तरिकाले नियन्त्रण गरेर लैंगिक तथा यौनिक अल्पसंख्यक नाम दिइएको पाइन्छ। त्यसैले निर्बाद रुपमा जसले जे पहिचान दिन चाहन्छन्, त्यही लेख्न पाउनुपर्छ भनेर पैरबी गर्न आवश्यक छ।

बिबिध यौनिक अभिमुखीकरण भएका व्यक्तिको वास्तविक चाहना, अवस्था र समस्या अरु मानिसले साेंचेभन्दा धेरै नै फरक, मार्मिक र पीडादायी छ। न त परिवारले स्वीकार गर्छन्, न समाजले सहज रुपमा लिन्छन्, गाउँका अरु छोराछोरीलाई बिगार्दछन्, बिकृति ल्याउँछन्, पाप कुर्लेको, लाज, इज्जत र प्रतिष्ठाको सवाल आदि बनाइन्छन्। शहरमा समेत गाली, बोली, लान्छना, उपेक्षा, उपहास र भेदभाव भोग्दै आएका छन्।

म नराम्री, गन्हाउने, बुढी, नपढेकी स्वास्नी भए रे, उनको अगाडि म सुहाइनँ, उनले अर्को ल्याए, मलाई घरबाट निकालिदिए। कति ठाउँमा जाउँ म न्याय माग्दै, हातमा पैसो छैन, सन्तान साना छन्, जहाँ न्याय माग्न गए पनि बोली उनकै चल्ने, अब आफू पनि मर्ने र बच्चालाई पनि मार्ने कि जे काम पाइन्छ त्यही गरेरै भए पनि आफू र आफ्नो सन्तानलाई बचाउने ? मेरो मनमा दुविधा आयो। त्यसपछि बाध्य भएर म काठमाडौं आएँ, सन्तानसहित। मसँग बेच्नका लागि अरु केही थिएन, मात्र एक थान योनी र दुई थान स्तन छन्। यिनै बेचेर कोठाको भाडा तिर्दै आएकी छु सन्तानलाई स्कुलमा पढाएकी छु।

छलफल र अन्तरक्रियाको सिलसिलामा मलाई कैयौंपटक उनीहरुले प्रश्न गरे, तपाई त अधिवक्ता पनि हो, के साँच्चै हाम्रो देशमा लोकतन्त्र आएको छ ? के अरु मानिसको जस्तै हाम्रो मानवअधिकार छैन ? के हाम्रा लागि घरेलु हिंसा र लैंगिक हिंसा बिरुद्ध संबिधान र कानुनमा कुनै व्यवस्था छैन ? के हामी राज्यका नागरिक होइनौ ? प्राकृतिक रुपमा हामीलाई यस्तै जन्म दिइयो त हाम्रो के दोष ? यसरी उनीहरु प्रश्न गर्दै गए। कैयौपटक निशब्द भए म उनीहरुका प्रश्नले। हो नि प्रकृतिले जे जन्म दियो, त्यसमै रमाउन, आफ्नो र आफ्नो यौनिकताका बारेमा स्वनिर्णय गर्न पाउने उनीहरुको नैसर्गिक अधिकार हो।

हाम्रो समाजमा बिबिध यौनिक अभिमुखीकरण र महिला यौनकर्मीलाई बाहिरबाट हेर्ने नजर र उनीहरुप्रति आम मानिसको धारणा जे छ, त्योभन्दा अत्यन्तै फरक छ उनीहरुको वास्तविकता र यथार्थता जीवनशैली। समाज एउटै हो, शरीर एउटै हो, चाहना, भौतिक तथा जैविक आवश्यकता सबैका उत्तिकै महत्वपूर्ण हुन्छन्। तर किन परिवार, समाज र राज्यले अर्कै नजरले हेर्छ ? कहिले मानवता नै बिर्सेर निर्जिव वस्तुसरह व्यवहार गर्छन् त कहिले यौनतृप्तिको साधनमात्र मान्छन्, जो हुनै सक्दैन। आखिर सबै मान्छे हुन्। तर मन, विचार, भावना र विवेकहीन प्राणी बनेर सबै प्रकारका मानवीयता गुमाएर चरम दुर्व्यवहार गर्छन्।

एउटा मानिस अर्को मानिसबाट यसरी हेपिनु पर्दा, घृणित हुनुपर्दा र अपमानित हुनुपर्दा कैयौं पटक मोर्दै बाँचेको अनुभव छ यौनकर्मी महिलालाई र समलिंगी तथा पारलिंगी व्यक्तिहरुलाई। हरेक व्यक्ति फरक छन्। त्यसैले उनीहरुका रुचि, आवश्यकता र अनुभव पनि फरकफरक छन्। केही पारलिंगी, द्वीलिंगी, तथा समलिंगीहरु अधिकारकर्मीको रुपमा खुलेर बोल्न थालेका छन् त केही सार्वजनिक जीवनमा पनि आएका छन्। तथापि ठूलो संख्या अझ खुलेर बाहिर आउन सकेका छैनन्, उनीहरुसँगै छन् अथाहा लुकेका पीडाहरु।

फरक यौनिक अभिमुखीकरणलाई स्वतन्त्र पहिचान नदिने हो भने अधिकांश पुरुष समलिंगी र पारलिंगीहरु यौन व्यवसाय तथा जोखिमपूर्ण काममा संलग्न हुने सम्भावना बढ्दछ, मात्र दुई छाक टार्नका लागि, आफ्नो पहिचान जोगाउनका लागि, र आफ्नो यौनिकताको सम्मानका लागि। छलफलका क्रममा महिला समलिंगीहरु अरुको तुलनामा जोखिमपूर्ण काममा कम संलग्न भएको पाएँ। उनीहरुले भोग्दै आएको सबैभन्दा ठूलो जोखिम र चुनौति भनेको जन्मजात स्त्रीलिंग धारण भएकै कारण जबरजस्ती बिपरित लिंगीसँग बिबाह गरिदिने परम्परा, सामाजिक धार्मिक रितिथिति र कानूनी बन्धन हो। अभिभावकको इज्ज्यत, प्रतिष्ठा, मान, सम्मान, घरका मान्छेहरुको रुचि र यौन चाहना पूरा गरिदिएर आफ्नो जीवनलीला समाप्त गरिदिनुपर्ने बाध्यता छ उनीहरुलाई। सिङ्गो जीवन अरुको नाममा समर्पण गर्न बाध्य छन्, जहाँ आफू कहिल्यै खुसी हुन सकेनन्, आफ्नो यौनिकताको पहिचान र चरमसुखको अनुभूति कहिल्यै गर्न पाएनन्।

यतिमात्र होइन, बिपरित लिंगीसँग बिबाह हुँदैमा सामाजिक तथा यौन बिकृति रोकिन्छ भन्ने सामाजिक, धार्मिक, सास्कृतिक मूल्य मान्यताका कारण गरिदिने बिपरित लिंगीसँगको बिबाहले अन्ततः दम्पतिमा यौन सुख, मानसिक तथा भावनात्मक प्रेम लामो समयसम्म टिक्न सक्दैन, जसले गर्दा बिस्तारै सम्बन्धमा दरार आउँछ। पुरुष तथा श्रीमानलाई केही फरक पर्दैन, यौन बजारमा ऊ स्वतन्त्र र निर्बाद रुपमा यौन सुख खरिद गर्न पाउँछ वा धाकधम्की दिएर अर्की बिबाह गर्छ।

तर महिला वा श्रीमतिको अवस्था के हुन्छ ? के उसले यौन बजारमा सुख किन्ने हैसियत पाएकी छ ? के उसले आफ्नो लोग्नेसँग बसेकै अवस्थामा आफ्नो यौन, भावना तथा मन शान्तिका लागि अर्को साथी बनाउन पाउछे ? के महिलाले मात्र यौन, प्रेम र भावनामा समर्पण गरेर सामाजमा यौन बिकृति रोकिएको छ ? यस्तै यस्तै कारुणिक प्रश्नहरु आउँछन् छलफलमा। अनि को हुने जवाफदेही यतिबेला। यसको मुख्य कारण हो पुरुषप्रधान समाज र यौनिकतामाथि उसकै नियन्त्रणको पराकाष्ठा।

यौनकर्मी र यौनिकता

काठमाडौं उपत्यकामा काम गर्दै आएका फरक फरक यौनिक अभिमुखीकरण भएका व्यक्ति र महिला यौनकर्मीहरु आफ्नो अनुभव, विचार, भावना, सपना र कथाव्यथाका धनी छन्। जीवनका मीठा नमीठा, हिंसा, पीडा, दुख र सुखका प्रहरहरुमा अपार अनुभव संगालेका छन् उनीहरुले। नजिकबाट उनीहरुको पीडा, समस्या र अवस्थालाई नियाल्न खोजे, आफूलाई त्यही स्थानमा राखेर अनुभूत गर्न खोजे र श्रद्धाले पटकपटक भावुक बने। त्यही समूहसँग भलाकुसरी र छलफल गर्न पाउनु जीवनको अति महत्वपूर्ण समयमध्येको एक थियो मेरा लागि पनि।

मनोसामाजिक विमर्श, तालिम, गोष्ठी र अन्तरक्रियाको क्रममा लैंगिकतामा आधारित हिंसा प्रभावित यौनकर्मी महिला र फरक फरक यौनिक अभिमुखीकरणका प्रतिनिधि पात्रले प्रश्न सोधे, हामीले आफ्नो यौनिकताको पहिचान खोज्दा परिवारबाट बाहिरिन पुगेका छौं। आफ्नो परिवारबाट बाहिरिएर पछि गाउँघर तथा समाजबाट तिरस्कृत भएका छौं, त्यसैले हामीलाई नचिन्ने ठूलो शहरमा कामको खोजीमा आएका हौं। तर काममा जाँदा आउदा बाटोमा प्रहरीले देख्यो भने पिट्छ, हाम्रो के दोष छ, हामीलाई पिट्नका लागि ? उनीहरुको कारुणिक प्रश्नहरुको जवाफमा ‘हँ मा हैसें’बाहेक अरु केही थिएन मसँग।

एकजना यौनकर्मी सालिंगी पुरुषले भने, ‘मलाई केटीको लुगा, मेकअप र भान्साको काम गर्न मन पर्छ। तर बाबा र आमाले छोरो भएर छोराकै स्थानमा बस्, मोटरसाइकल किन्दिन्छु, राम्री केटीसँग बिबाह गरिदिन्छु, सबै सुख सुविधा पुर्‍याइदिन्छु, केटी जस्तो बनेर नहिड्, बरु बिदेश जा पढ्न, म सबै खर्च दिन्छु’ आदि भन्नुभयो। मेरो मनले मलाई केटीजस्तै बन्न भन्छ, मेरो आकर्षण केटीतिर छैन, केटासँग छ। मैले नमानेपछि घरपरिवारले रित्तै निकाले घरबाट। नाना, खाना, छाना, शिक्षा र स्वास्थ्यका लागि केही काम गरेर पैसा कमाउने अभिलासा लिएर शहर आएँ, कुनै काम पाइएन। म बाध्य भएर साथीको संगतबाट यौन व्यवसायमा लागें। यसमा मेरो के दोष ? परिवार र समाजले म जे छु, त्यही अवस्थामा स्वीकार गर्ने हो भने म घरमै बस्छु, यहाँ शहरमा किन भौंतारिन्थे ?

त्यस्तै अर्की एक यौकर्मी महिलाले भनिन्, मेरो बालबिबाह भएको हो। उमेर बढ्दै जाँदा छोराछोरी पनि जन्मे, मलाई स्कुल छुटाएर घरको काममा लगाएँ, मैले घर धानिदिएँ, मेरा लोग्नेले पढ्दै गए। उनका लागि म नराम्री, गन्हाउने, बुढी, नपढेकी स्वास्नी भए रे, उनको अगाडि म सुहाइनँ, उनले अर्को ल्याए, मलाई घरबाट निकालिदिए। कति ठाउँमा जाउँ म न्याय माग्दै, हातमा पैसो छैन, सन्तान साना छन्, जहाँ न्याय माग्न गए पनि बोली उनकै चल्ने, अब आफू पनि मर्ने र बच्चालाई पनि मार्ने कि जे काम पाइन्छ त्यही गरेरै भए पनि आफू र आफ्नो सन्तानलाई बचाउने ? मेरो मनमा दुविधा आयो। त्यसपछि बाध्य भएर म काठमाडौं आएँ, सन्तानसहित। मसँग बेच्नका लागि अरु केही थिएन, मात्र एक थान योनी र दुई थान स्तन छन्। यिनै बेचेर कोठाको भाडा तिर्दै आएकी छु सन्तानलाई स्कुलमा पढाएकी छु। हामी यौनकर्मीको पेशा व्यवसाय चलाइदिने जात पुरुष नै हुन्। हामीकहाँ आउने ग्राहक प्रहरी पनि छन्। आफू आउँछन्, प्रयोग गर्छन्, जान्छन्, पैसा पनि दिँदैनन्, गैरप्रहरी ग्राहकको रुपमा आएको बेला समात्छन्, ग्राहकलाई छोडिदिन्छन्। तर हामीलाई हिरासतमा पुर्‍याउँछन्। हामीलाई ठगी गर्नेहरु बिरुद्ध हामीले उजुरी कहाँ गर्ने, न्याय माग्न कहाँ जाने ? हिरासतमा बसेको बेला समेत दुव्र्यवहार गर्छन् प्रहरीले। त्यसको उजुरी कसलाई गर्ने ? घरबेटीले म यौनकर्मी हुँ भन्ने थाहा पाए भने घरबाट निकालिदिन्छन्। के हामी यो देशका नागरिक होइनौं ? कि राज्यले रोजगार दिनुपर्‍यो, कि त भने हामीसँग जे छ, त्यो इज्जत, मान, प्रतिष्ठाका साथ बेच्ने व्यवस्था गरिदिनुपर्‍यो। आफूले सहेको घरेलु हिंसा, काम गर्ने थलोमा भएको लैंगिक हिंसा र प्रहरीबाट भएको ज्यादति तथा अपमान सुनाउँदै रुँदै गरेकी महिलाको नजिक गएर सहानुभूति प्रकट गर्नुबाहेक मबाट अरु के नै हुन सक्छ र ?

यतिमात्र होइन, बिपरित लिंगीसँग बिबाह हुँदैमा सामाजिक तथा यौन बिकृति रोकिन्छ भन्ने सामाजिक, धार्मिक, सास्कृतिक मूल्य मान्यताका कारण गरिदिने बिपरित लिंगीसँगको बिबाहले अन्ततः दम्पतिमा यौन सुख, मानसिक तथा भावनात्मक प्रेम लामो समयसम्म टिक्न सक्दैन, जसले गर्दा बिस्तारै सम्बन्धमा दरार आउँछ। पुरुष तथा श्रीमानलाई केही फरक पर्दैन, यौन बजारमा ऊ स्वतन्त्र र निर्बाद रुपमा यौन सुख खरिद गर्न पाउँछ वा धाकधम्की दिएर अर्की बिबाह गर्छ।

जति धेरै अनुभव संगालेका छन्, त्यति नै धेरै कारुणिक प्रश्न छन् उनीहरुसँग। मसँग पनि उनीहरुको कारुणिक प्रश्नको उत्तर त थिएन। तर मैले यति मात्र भने कि आफ्नो उमेर पुगेर स्वेच्छाले रोजेको पेशा हो भने आफूलाई विश्वास गर्नुपर्छ, आफैमा आत्मसम्मान हुनुपर्छ, आफ्नो पेशालाई आफैले मर्यादित बनाउनुपर्छ, यौन सम्बन्धबाट सर्नसक्ने सरुवा रोगहरु जस्तै एच.आइ.भी. एड्स, यौन रोग, हेपाटाइटिस बी र सी जस्ता रोगहरुबाट सुरक्षित हुनका लागि यौनसाथीलाई कण्डम अनिवार्य लगाउन भन्नुपर्छ। तपाईले रोजेको पेशालाई मर्यादित बनाउनका लागि सरकारले रेडलाइट एरिया तोक्न आवश्यक छ, सोका लागि तपाईहरुले पैरबी गर्न बलियो नेटवर्क बनाउनुपर्छ।

रेडलाइट एरिया तोक्ने सरकारले हो। सरकारमा पितृसत्ताकै हिमायतीहरुको हालीमुहाली छ। रेडलाइट एरिया तोकियो भने त्यहाँ जाने अधिकांश सेवाग्रही पुरुष हुन्छन्, त्यस्ता पुरुष जो सुरक्षा निकायमा छन्, कर्मचारीतन्त्रमा छन्, राजनीतिक दलमा छन्, अनि नीति निर्माता उनीहरु नै छन्। कसले हिम्मत गर्ने यौन उद्योगको घोषणा गर्न।

जन्मजात महिला हुनुमा, बिबाह गर्नुमा, आमा बन्नुमा र पुरुष समलिंगी हुनुमा आफैमाथि दोष दिन्छन्, आत्मलान्छना लगाउँछन् र बेचयन हुन्छन् उनीहरु। आफ्नो विगत बिर्सनका लागि र आफू र आफ्नो व्यवसाय सम्हाल्ने उपायका रुपमा गाँजा, चुरोट र रक्सी रोजेको बताउँछन् उनीहरु।

सामूहिक मनोविमर्शका बेला, एक जना महिलाले भनिन् – घरबाट निकालिएपछि राम्रो जागिर पाइन्छ कि भनेर शहरमा आएँ, नयाँ ठाउँमा आफ्नो दैनिकी गुजार्न केही न केही काम त चाहियो। तर कहाँ पाउनु काम ? कसले दिन्छन् नयाँ मान्छेलाई काम ? यो शहरमा आफ्नो भन्ने कोही छैन। पढेकाले रोजगार नपाएको देश, मैले के रोजगार पाउँछु होला ? मनमनमा धेरै बेचयनता आयो। अब घर फर्किने वातावरण पनि छैन। त्यसैले घर बनाउने ठाउँमा गए र ठेकेदारसँग अनुनयबिनय गरे, त्यसपछि केही दिनका लागि ढुङ्गा बोक्ने काम पाएँ। त्यो काम पनि सकियो। अनि अरु काम के गर्नु ? घरमा भाँडा माझ्ने, घर सफा गर्ने र लुगा घुने काम खोज्दै हिँडें, त्यो पनि पाइनँ। बाध्य भएर यौन धन्दा शुरु गरें। मर्न सकिनँ, बाँच्नका लागि, भोको पेट भर्नका लागि, एकसरो लुगा लगाउनका लागि र घरभाडा तिर्नका लागि।

घरेलु तथा लैंगिक हिंसाकै कारण घरबाट तिरस्कृत भएको व्यक्ति, जोसँग दैनिक गुजराका लागि न्यूनतम आर्थिक उपाय छैन, जसलाई उसको परिवारबाट आर्थिक सहयोग हुँदैन, तिनै व्यक्तिहरुको विशेष व्यवस्थाका लागि सरकारसँग प्रभावकारी योजना छैन। अर्को एक जनाले सोधे, यस्तो अवस्थामा हामीले आफ्नो दैनिक जीवनका आधारभूत तथा अत्यावश्यक कुराहरु कसरी पुरा गर्ने ? राज्यका सेवाप्रदायक निकाय विशेषगरि शान्ति सुरक्षा (प्रहरी), स्वास्थ्य, शिक्षा र न्याय दिने अड्डाले किन हतोत्साही बनाउँछन् हामीलाई ? किन लैंगिकमैत्रीपूर्ण वातावरण सिर्जना गर्दैनन् घरदेखि राज्यसम्म ?

हामीलाई बाटोमा हिडेको देख्दैमा प्रहरीले समातेर हिरासतमा लैजान्छन्। बिना अपराध किन समातिन्छ हामीलाई ? तथानाम गाली गरेर उल्टै चर्को जरिवाना तिराउँछन् प्रहरी चौकीमा। प्रहरी चौकीमा ‘केटो मान्छे भएर केटा मान्छेसँग कसरी सुतिस् ? हामीलाई पनि मनोरञ्जन दे’ जस्ता निकृष्ट र तुच्छ व्यवहार गरिन्छ र होच्चाएर बोलिन्छ। सुरक्षाको प्रत्याभूत गर्ने निकायबाटै हामी असुरक्षित छौं, कैयौंपटक लुटिएका छौं। अब हाम्रो सुरक्षाको प्रत्याभूत कसले गर्ने ? के हामीप्रति राज्यको कुनै दायित्व छैन ? लैंगिक हिंसा प्रभावित महिला, पुरुष समलिंगी र पारलिंगीहरुले उठान गरेका व्यवहारिक र मार्मिक प्रश्नहरु हुन् यिनी। महिला यौनकर्मीहरुको आफ्नो मुद्धामा सशक्तिकरणका कार्यक्रम गरे पनि यौन व्यावसायलाई वैध गराउने विषयमा पैरवी गर्ने संगठित संस्था शून्यप्राय छन्।

अनौपचारिक मनोरञ्जनको क्षेत्रमा काम गर्ने महिलाहरुले आफ्नो पेशागत समस्या, मर्यादा र आर्थिक तथा सामाजिक सुरक्षाको बारेमा आफै पैरवी गर्दै आएका छन्। तर यौनकर्मी महिलाले म यौनकर्मी महिला हुँ, यो समाजमा हामी किन र कसरी यौनकर्मी बन्यौंं, हाम्रा समस्या के–के छन्, राज्यले हाम्रो न्यायका लागि कस्तो कानुन बनाउनुपर्छ भनेर खुलेर पैरवी गर्न सक्ने स्थितिमा छैनन्। किनकि यो समाज पुरुषप्रधान समाज हो, यौन मनारञ्जन लिन जाने पुरुषलाई कानुन लाग्दैन, दिने महिलालाई कानुन लाग्छ, लिन जाने पुरुषको बदनाम हुँदैन, दिने महिलाको बदनाम हुन्छ, लिन जाने पुरुषलाई परिवार, समाज र राज्यले स्वीकार गर्छ। तर दिने महिलालाई अस्वीकार गर्छन् र समाजबाट उठीबास लगाउँछन्, त्यसैले राज्य यो सवालमा मौन बसेर यौनकर्मीहरुमाथि ज्यादती गरेको देखिएको छ।

त्यसैगरी घरेलु तथा लैंगिक हिंसाको अन्त्य नभएसम्म महिलाहरु बाध्य भएर यो पेशामा संलग्न हुन्छन् आफ्नो ज्यान पाल्नका लागि। अर्कोतिर पुरुषप्रधान यौन साम्राज्यता भएसम्म बजारमा यौन मनोरञ्जनको माग बढिरहन्छ। जबसम्म माग हुन्छ, पूर्ति पनि स्वभाविक रुपमा विकास हुन्छ।

भविष्यमा के बन्न चाहनुहुन्छ ? अहिले तपाईले गर्दै आएको पेशासँग कत्तिको सन्तुष्ट हुनुहुन्छ ? मैले छलफलका क्रममा महिला यौनकर्मीलाई सोधें। आफ्नो जीवनको सबैभन्दा दुखदायी क्षण सम्झिँदै कमला (नाम परिवर्तित) ले भनिन्, खान पुग्ने परिवारकी छोरी थिएँ, क्याम्पस पढाउने प्रोफेसर भनेर सानले बिहे गरिदिए बाआमाले, इज्जतसाथ राम्रो दाइजो पनि दिए। पछि उनी अर्को केटीसँग हिडे, मलाई एउटा कोठामा राखिदिएका छन्, कहिलेकाहीँ आउछन्। तर घरभाडा, खाना, लुगा, बच्चाको स्कुलको खर्च केही दिँदैनन्। अहिले मेरो बच्चा र मेरो पेटका लागि म बाध्य भएर यो काम गर्दै आएकी छु।

दुनियासँग डराइडराई भए पनि बाँच्नैका लागि…..। तर कोहीकोही मान्छेले पैसा नदिई उल्टै लान्छना लगाएर जान्छन्, कसैले दुइचार पैसो दिन्छन्। कहिले ग्राहक पाइन्छ, कहिले पाइँदैन। आज तपाईले बोलाएर यहाँ आएँ, ग्राहक छुटे, साँझ कसरी छाक टार्ने ? महिनाको अन्त्यमा घरभाडा कसरी तिर्ने ? थाहा पाए भने घरबेटीले निकाल्छन्, आफन्तले छीछी गर्लान्, अब तपाई आफै भन्नुस् म कसरी खुसी हुन सक्छु यो पेशामा ? फेरि खुसी नभए पनि बाध्यताले गर्नु नै छ आफ्ना सन्तानका लागि।

प्रहरी चौकीमा ‘केटो मान्छे भएर केटा मान्छेसँग कसरी सुतिस् ? हामीलाई पनि मनोरञ्जन दे’ जस्ता निकृष्ट र तुच्छ व्यवहार गरिन्छ र होच्चाएर बोलिन्छ। सुरक्षाको प्रत्याभूत गर्ने निकायबाटै हामी असुरक्षित छौं, कैयौंपटक लुटिएका छौं। अब हाम्रो सुरक्षाको प्रत्याभूत कसले गर्ने ? के हामीप्रति राज्यको कुनै दायित्व छैन ? लैंगिक हिंसा प्रभावित महिला, पुरुष समलिंगी र पारलिंगीहरुले उठान गरेका व्यवहारिक र मार्मिक प्रश्नहरु हुन्।

गोष्ठीमा सहभागी भएका यौनकर्मी महिलाहरु, लैंगिक हिंसाबाट प्रभावित व्यक्ति नै थिए। हेला र भेदभावमा परेका समलिंगी र पारलिंगी, बालबिबाह भएका, घरबाट निकालिएका, बहुबिबाहमा परेका, श्रीमानले हेला गरेका, बेचबिखनमा परेका, मसाज पार्लर, होटेल तथा डान्सबार र रेष्टुरेन्टमा काम गर्दै गरेका व्यक्तिहरु थिए। आफ्नै रहर र शोखले यो पेशामा आउने महिलासँग भेट्ने अवसर पाइनँ मैले। परिवेशले यौनकर्मी बनाइएकाहरुसँग धेरै भलाकुसारी गरें। छोराछोरी र आफ्नो पेट पाल्नका लागि, आफैले पढ्न वा छोराछोरीलाई पढाउनका लागि, घरभाडा तिर्न, लुगालत्ता किन्न, औषधी उपचार गर्न आदि खर्चको जोहो गर्ने सिलसिलामा बाध्य भएर यौनकर्मी बनेका धेरै व्यक्तिसँग कुरा गरे मैंले।

सबै हिंसा प्रभावित व्यक्ति यौनकर्मी बनेका छैनन् भने सबै यौनकर्मी हिंसा प्रभावित पनि होइनन्। बस्ने बास, शिक्षा, औषधी उपचार र मनोरञ्जन सबै व्यक्तिका लागि अपरिहार्य छ। त्यसै गरी सबैले रोजगारको अवसर पाउनु, राज्यको सेवा, सुविधा लिन पाउनु सबैको नैसर्गिक अधिकार हो। यी आधारभूत तथा नैसर्गिक अधिकारको प्रयोग गर्नबाट बञ्चित गराउने परिवार, सामाजिक ढाँचा र राज्यको नीतिले नै मानव अधिकारको उल्लंघन गरेको छ।

निष्कर्ष

हरेक व्यक्ति फरक र खास हुन्छन्। रुप-रंग, स्वभाव, तन-मन, सोंचाइ, विचार, अग्लो, होचो, मोटाइ आदि इत्यादीमा जसरी फरक फरक हुन सक्छन्, त्यसैगरी मानवीय आवश्यकता, जैविक चाहना, संवेगात्मक र भावनात्मक सोचाइ र माया ममता लिने दिने तरिका, चरम सुखभोग सबैका लागि आवश्यक भएता पनि तरिका, यौनिक अभिमुखीकरण फरक हुन्छन् भन्ने कुरा बुझ्नु आवश्यक छ।

महिला यौनकर्मी र फरक यौनिक अभिमुखीकरण भएका व्यक्तिको जैविक तथा शारीरिक, मानसिक, भावनात्मक र स्वास्थ्य आवश्यकता हुन्छन्, समस्या हुन्छन्। तर राज्य ती वास्तविक आवश्यकता, समस्या र अवस्थाबारे बेखबर हुँदा वा उदासिन हुँदा उनीहरुले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा र न्यायमा पहुँच पुग्न सक्दैन। अरु मानिसको जस्तै मन र भावना हुन्छ उनीहरुको पनि, अरु मानिसलाई जस्तै जैविक चाहना, प्रेम, आत्मसुरक्षा, औषधी उपचार र सुरक्षित बास, खाना, नाना, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकता चाहिन्छ। तर फरक लिंगकै आधारमा आफ्नो परिवार र समाजबाट लैैगिक हिंसा, भेदभाव र लान्छना लगाएर घर र समाजबाट तिरस्कृत भएका व्यक्तिप्रति राज्यले कुनै जिम्मेवारी पुरा गरेको देखिँदैन, उल्टै पीडा थपिदिएको छ राज्यबाट पनि।

घरेलु हिंसा तथा लैंगिक हिंसाका कारण यौन व्यवसायमा आएका महिला र विविध यौनिक अभिमुखीकरण भएका व्यक्तिलाई परिवार र समाजबाट निकालिएपछि कहाँ बस्ने, के लगाउने, के खाने, बिरामी हुँदा औषधि उपचार कसरी गर्ने, बिद्यार्थीले कसरी पढ्ने, छोराछोरीसहित बाहिरिएका महिलाले आफ्ना सन्तानको सुरक्षा, पोषण, शिक्षा र माया ममताका लागि कहाँ राख्ने, के खुवाउने ? के आफ्ना नागरिकप्रति राज्यको कुनै जिम्मेवारी छैन, के राजनीति दलहरुको कुनै जिम्मेवारी छैन ? यी थुप्रै प्रश्नको जवाफ राज्यले दिनुपर्छ।

हिंसा प्रभावितलाई गास, बास र शिक्षा, स्वास्थ्यको उचित व्यवस्था गर्न सकियोस्, हरेक मानिसले सम्मानजनक जीवन पाउन सकोस्, शक्तिको बर्दी पनि हिंस्रक नबनोस् र हिंसा प्रभावितलाई सम्मानजनक किसिमले गास, बास, शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था गरियोस्।

उनीहरुका प्रश्नको प्रतिउत्तरमा राज्य, समाज र परिवारले लैंगिक समानताको वावावरण बनाउनु, लैंगिक न्याय स्थापना गर्नु, आयआर्जनका बैकल्पिक अवसरहरुको शीघ्र व्यवस्था गर्नु र सीपमूलक तालिममा हिंसा प्रभावित व्यक्तिलाई बढीभन्दा बढी संलग्न गराएर आयआर्जन हुने काममा संलग्न गराउनु, यौनकर्मी र समलिंगी, तथा पारलिंगीहरुको समस्या सम्बोधन हुने कानुन र नीति निर्माण गरेर शीघ्र लागू गर्नु आवश्यक छ।

छलफलका क्रममा प्रस्तुत गरिएका उनीहरुका यथार्थ घटना, कथाव्याथा र वास्तविक जीवन सुन्दा राज्यलाई चिच्चाएर सोध्न मन छ यो कस्तो लोकतन्त्र हो, जहाँ पीडा सुनिँदैन। तर पीडा भएकाहरुमाथि शक्तिको बर्दी ओडेर अर्को पीडा दिइन्छ ? यो पीडा परिवारबाट दिइएको छ, समाजबाट दिइएको छ र राज्यका बिभिन्न अवयवबाट दिइएको छ। २१ औं शताब्दीमा पनि लैंगिकताकै आधारमा घर, समाज र राज्यबाट भेदभाव र हिंसा गरिन्छ, लान्छना लगाइन्छ, शोषण, दमन र अत्याचार गरिन्छ भने अब कहिले कहाँबाट पाउने न्याय ?

यौन मनोरञ्जनलाई बैंसको उन्मातसँग जोडेर हेर्ने पुरानो शैली हो। यौनकर्मीहरुले आफूले मनोरञ्जन लिनका लागि यो काम छनोट गरेका छैनन्। आफू र आफ्नो बच्चाको लालनपालनका लागि पैसाको अलिकति जोहो गर्ने अभिप्रायले अरुलाई यौन मनोरञ्जन दिन विवश भएका छन्। त्यसैले हिंसा प्रभावित र तेस्रो लिंगीको वास्तविक समस्या विश्लेषण नै नगरीकन राज्यले कथित कारबाहीको नाममा बेइज्जती गर्नु केवल अरुको भावनामाथि बलात्कार गर्नु हो। यो आम मानिसको पूर्वाग्रही धारणाको उपज हो। आम मानिसको मात्र होइन, नेपाल प्रहरीको समेत पूर्वाग्रही धारणा छ। प्रहरीकै कारण बाटोमा खुल्ला रुपमा हिड्न समेत कठिन छ यौनकर्मी र पुरुष समलिंगी तथा पारलिंगीहरुलाई।

सतप्रतिशत महिला कुनै न कुनै हिंसाबाट प्रभावित छन्। ३ जनामा एक जना महिला शख्त प्रभावित छन्। त्यसैले परिवारबाट अपहेलित, समाजबाट तिरस्कृत र राज्यबाट उपेक्षित भएका महिलाहरु, जसले रोजगारका अरु माध्यम र अवसर पाउन सकेनन्, उनीहरुमध्येका केही बाध्य भएर यौनपेशामा आएका छन्। नेपालमा यौन व्यवसायलाई गैरकानुनी मानिन्छ। तथापि कानुनको डण्डी र बियो जसको हातमा छ, तिनै मध्येका अधिकांश व्यक्तिहरु नै यस व्यवसायबाट लाभान्वित भएका छन्।

यौन मनोरञ्जनका लागि पनि उनीहरु नै जाने, रिस उठ्यो भने यौन मनोरञ्जन दिनेलाई पक्रेर कानुनी कठघेरामा ल्याउने पनि उनीहरु नै, कस्तो बिडम्बना ? प्रहरीले कहिले यौन मनोरञ्जनका लागि प्रयोग गरेको पाइन्छ भने कहिले शान्ति, सुरक्षा, संस्कार र कानुनको बचावटका नाममा बिना पक्राउ पुर्जी अरेष्ट गरेर थुनामा राख्ने, अश्लिल शब्द बोल्ने, ठूलो रकम माग गर्ने, लान्छना लगाउने, मानसिक पीडा दिने, तर्साउने आदि गरेको पाइन्छ। यस्तो नीति र व्यवहार समस्या समाधानका उपाय होइनन्।

माथि उल्लेखित समस्या समाधानका लागि यौन मनोरञ्जन दिने काममा किन संलग्न भए ? के–के कारणले त्यो पेशामा आए ? कस्तो व्यवस्था भएमा जोखिमपूर्ण काम गर्न निरुत्साही हुन्छन् ? आदि विषयमा अध्ययन गरेर व्यवहारिक र प्रभावकारी योजना बनाउन जरुरी छ। फलस्वरुप हिंसा प्रभावितलाई गास, बास र शिक्षा, स्वास्थ्यको उचित व्यवस्था गर्न सकियोस्, हरेक मानिसले सम्मानजनक जीवन पाउन सकोस्, शक्तिको बर्दी पनि हिंस्रक नबनोस् र हिंसा प्रभावितलाई सम्मानजनक किसिमले गास, बास, शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था गरियोस्।

हरेक कुरा आवश्यकताले जन्माउँछ। घरघरमा भएका लैंगिक हिंसालाई शून्यमा झार्ने, समविकासको अवधारणामा व्यापक जनचेतना अभिवृद्धि गर्ने, नीति तथा कार्यक्रम र बजेट लैंगिकमैत्री बनाउने, रोजगारका अवसर उपलब्ध गराउने, हिंसा प्रभावित महिला तथा तेस्रो लिंगीलाई साना व्यवसायका लागि सीप विकास तालिम र व्यावसाय अनुदानको व्यवस्था गर्ने, हरेक हिंसा प्रभावितलाई अर्को व्यवस्था नहुँदासम्म सुरक्षाबासको व्यवस्था गर्ने, गोपनीयता, शिक्षा, स्वास्थ्य आदिको सुनिश्चित गर्ने लगायतका धेरै काममा सरकार र नेपाल प्रहरीले ध्यान नदिएसम्म पक्रेर २८ दिनसम्म हिरासतमा राख्नु, जरिवाना तिराउनु र आतातायी बनाउनु समस्या समाधानको उपाय होइन।

लैंगिकतामा आधारित हिंसा र घरेलु हिंसालाई दुनियावादी हिंसाबाट हटाई फौजदारी अपराधभित्र पार्ने, घरेलु हिंसा न्यूनिकरण र लैंगिक समानताका लागि बनाइएका कानुन र त्यसको कार्यविधिलाई तुरुन्त स्थानीय तह, प्रहरी चौकी र सबै न्यायिक निकायमा शीघ्र सर्कुलर गर्ने, न्याय सम्पादन गर्नेहरुका लागि लैंगिक संवेदनशीलताका विषयमा क्षमता अभिवृद्धि तालिम चलाउनु, धार्मिक तथा संस्कारको व्याख्या गरिएका पाठ्यक्रम, रिफरेन्स पुस्तक, स्कुल र क्याम्पसका पाठ्यक्रम, विज्ञापन, चलचित्र, टेलिसिरियल सबै क्षेत्रमा लैंगिक दृष्टिकोणले सेन्सर गर्दै सबै प्रकारको लिंगीहरुलाई सम्मानजनक स्थान दिनु आवश्यक छ।

(अधिवक्ता शर्मा अधिकारकर्मी हुन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्