भारतकाे बिस्तारवादी रवैया

Daljit Sripali
लोकपाटी न्यूज
0 Shares

दलजीत श्रीपाली

भारतको नियतमै खोट छ। नेपालको निर्माणदेखि हालसम्मको राजनैतिक घटनाक्रम, प्राकृतिक प्रकोप, महामारी रोगबाट जब नेपाल र नेपालीहरु अप्ठेरोमा पर्छन् तब नेपालीहरुको सपना खोस्न र राष्ट्रियतामाथि दादागिरी मच्चाउन भारत नै अगाडि आएको सत्यता सर्व्विदितै छ। हामीलाई थाहा छ हरेक अप्ठेरो परिस्थितिमा नेपालीलाई हेप्ने र चेप्ने भारतीय कुदृष्टिले स्वाभिमान नेपालीहरुको मन अमिलो भएको छ, खिन्नता जागेर आउँछ। एउटा छिमेकी राष्ट्रले अर्काे छिमेकी राष्ट्रमाथि गर्ने मानवीय व्यवहार नभएको राष्ट्रको रुपमा हामी भारतलाई लिन सक्छौं।

हाम्रो देशका २६ जिल्ला भारतीय सीमासँग जोडीएका छन्। ती मध्ये २३ जिल्लाका सीमानाहरुमा नेपाली जमीन मिचेको छ, त्यहाँ नेपाल र भारतको सिमा विवाद छ। ६ दशकयता दार्चुलाको पश्चिमोत्तरमा पर्ने कालापानी जवर्जस्ती कब्जा गरी अर्धसैन्य बल स्थापना गरेको छ। कालापानी र सुस्ता अतिक्रमणले नेपालीको मुटु दुखिरहेको छ। लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर भारतको नक्सा सार्वजनिक गरेको छ। नेपालको राष्ट्रियतामाथि बारम्बार भारतबाटै हस्ताक्षेप भैरहेको छ। सीमानावारी प्रवेश गरी नेपालीहरुमाथि निर्घात कुटपिट,बलात्कार, आगजनी,लुटपाट र हत्याका घटनाहरु घटाएको छ। भारतीयहरुको यो राक्षसी व्यवहारलाई कुनै पनि कोणबाट छिमिकी राष्ट्रको व्यवहार मान्न सकिँदैन।

२०७२ साल वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पबाट नेपालमा ठूलो जनधनको क्षति भयो। नेपाल अस्तव्यस्त भयो, नेपालीहरु शोकमा डुबे। बाँचेकाहरु उद्दार र राहतको हात फैलाईरहेका थिए। ठिक यसैबेला भारतले नेपालमा उधुम मच्चायो। नेपालको काठमाडौंस्थित त्रिभुवन विमान स्थलमा देखाएको भारतीय दादागिरीलाई नाफाको जीवन पाएका हामी नेपालीहरुले कहिल्यै भुल्न सक्दैनौं। राहत र उद्दारको नाउमा गाउँ-गाउँमा पसेर गरेका लुटपाट र ज्यादतीका घटनाहरु कसैले भुल्न सक्दैनन्। भारतीय रवैया विश्वका कुनै पनि राष्ट्रलाई मन परेन। भारतीय मिडियाहरुको चर्चा गरी साध्य नै छैन।

नेपालमा विपती आउदा भारतले आफ्ना मिडियाहरुबाट नेपाललाई चराईरहेको घाउमा मलमपट्टी लगाउनु सट्टा नूनचुक लगाउने काम गर्‍यो। सामाजिक सञ्जालहरुमा Go home indian media ले भरिए। भारतीय हमलाको भत्र्सना गर्दै विश्वभरीका मानिसहरुले नेपाल र नेपालीहरुलाई सहयोग र सहानुभुति व्यक्त गरे।  राजनैतिक घटनाहरु पनि छन्, नेपालीहरुले आफ्नो देशको स्वाभिमासँगै आत्मनिर्भर भै लिन खोजेका निर्णय र पहलकदमीहरुमा विश्वका अन्य राष्ट्रहरुले स्वागत गरिरहेको बेला भारतले अनावश्यक हस्ताक्षेप गरेका सत्य-तथ्यका सप्रमाण नेपालीहरुसमक्ष सुरक्षित छन्।

जहिले पनि नेपालको निम्ति बाधक भारत नै रहेको इतिहास साक्षी छ। राजनैतिक परिवर्तनको महान यात्रा जनयुद्धको बेला विस्तारवादी भारतको विरुद्ध सुरुङ, टनेललगायत विभिन्न सैन्य कवजहरु खनेर बनाईएका थिए। भारतीय विस्तारवादविरुद्ध लडनै पर्ने कारण यसरी रहेछ भन्ने पुष्टि भयो। छिमेकी राष्ट्र भारतबाट नेपाललाई आपत(विपतमा परेको बेला सहयोग, सदभाव, मित्रता देखाउनेतिर होइन बरु सधैं हेप्ने, चेप्ने, दादागिरी र हस्ताक्षेप गर्ने देशको रुपमा लिन सकिन्छ भारतलाई। हामी चाहन्छौ, भारत-नेपाल सम्बन्ध सधै कायम रहोस् तर भारतको व्यवहार भने त्यस्तो कहिल्यै रहेन।

आज विश्व मानव जगत कोरोना भाइरसको महामारीबाट त्रासदीमा छ। लाखौ मानिसको ज्यान गएको छ, लाखांै मानिसहरु संक्रमित छन्, धर्तीका अरबौं मानिसहरु आतंकित छन्। मानिस जातीकै समस्याको रुपमा कोरोना भाइरस(कोभिड-१९) आएको छ। विश्वका मानव समुदाय मिलेर आपसी सहकार्य र समझदारीबाट कोरोना भाइरसलाई जित्नु छ। नेपालमा कोरोनाको संकट परेको बेला भारतले मानवीयता गुमाउदै मानवअधिकारविरुद्ध अपराधी गतिविधी अगाडि बढाएको छ। केही दिन अघि मात्र मोदी सरकारको कालो कर्तुत र असक्षमतालाई ढाकछोप गर्न भारतीय मिडियाहरुले नेपालले भारतमा कोरोना संक्रमितहरु पठाएको हवला फिजायो। नेपाल र नेपालीहरुको राष्ट्रियतामाथि नै आँच आउने किसिमले खुवै प्रचारबाजी गर्‍यो।

भारतमा कोरोना भाइरसको प्रभाव व्यापक भैसकेको बेला नेपालमा नौजनामा मात्र देखा परेको थियो, कसरी हुन्छ नेपालबाट भारतमा रोग फैलाउने काम, यो असंभव कुरा चढाईबढाई प्रचार गरयो। भारतीयहरुलाई सप्रमाण भन्न सकिन्छ। भारत सरकार नेपालको लागि अपराधी नै हो, भर्खरै उदयपुरको त्रियुगा नगरपालिका ३ झुल्केस्थित मस्जिदमा रहेका १२ जना भारतीय नागरिक भारतबाटै कोरोना भाइरस लिएर आएका व्यक्ती हुन्। जनकपुरधाम उपनगरपालिक ६ महावीरचोकमा दुई महिलाले रुपैयाँमा थुकेर बाटोमा छोड्ने काम गरेका छन्। खुल्ला सीमाना र सीमा नाकाहरुमा नेपालीहरुलाई लिदै छोड्दै गर्ने काम भारत सरकारले गरेको छ। यी मध्ये कतिलाई कोरोना भाइरस रोग लागेको छ, नेपाललाई यसले पार्ने असर अहिले नै आंकलन गर्न सकिदैन। नेपालमाथि निरन्तर अपराध गरिरहने भारतीय सरकार कोरोना भाइरसबाट आफै पनि असुरक्षित छ। पछिल्लो अवस्था हेर्दा कोरोना भाइरसले भारतमा विकराल रुप लिन सक्ने संभावना देखिन्छ। नेपाल असल छिमेकी राष्ट्रको हैसियतले भारतीय जनताप्रति चिन्ता व्यक्त गर्दै कोरोनाबाट बच्ने शक्ती प्राप्त होस् भन्न चाहन्छ।

भारतीय मोदी सरकारलाई यो कुरा राम्ररी याद होस् नेपालले लकडाउन घोषणा गर्नुभन्दा पहिले नै कोरोना भाइरसबाट भारतको स्थिति गम्भीर अवस्थामा आइपुगेको थियो। भारतमा रहेका नेपालीहरु मध्ये झण्डै एक लाख नेपालीहरु सीमा नाका, खुल्ला सीमानाबाट नेपाल प्रवेश गरिसकेका थिए। भारतबाट आफ्नो देशमा फर्किएका नेपालीहरुलाई रोग ट्रेस र ट्रयाक गर्न सकिएन भने नेपालमा कोरोना फैलन सक्ने खतरा मात्रात्मक बढेर जान्छ। अब नेपाललाई कोरोना भाइरसको सबैभन्दा खतरा भारतबाटै हो। नेपालमा कोरोना भाइरसबाट कोही कसैको मृत्यु भएको छैन। आजसम्मका ३० जना कोरोना संक्रमितहरुमध्ये ४ जना कोरोना पिडित बिरामीले कोरोनालाई जितेर सन्चो भएर घर फर्कसकेका छन्। भारतको अवस्था भने नेपालको यो अवस्थाभन्दा कल्पना बाहिर छ। नागरिकको सुरक्षा र व्यावस्थापन गर्न भारतलाई हम्मे हम्मे परेको छ।

भारतको फोटो कपि गरी नथाक्ने र परि आएपछि लम्पसार परिहाल्ने नेपाल सरकार र नेताहरु भारतीय विस्तारवादी नीति र नेतृत्वको हेपाहा प्रवृत्तिलाई धिकार्दै स्वाभिमान नेपालीको पहिचान दिन आवश्यक छ। छिमेकी राष्ट्र आफ्नो ठाउँमा छ। नेपाल र नेपालीको रक्षाको लागि भारत-नेपालको सीमानामा पर्खाल लगाउनु पर्छ। अन्य विकास निर्माणका कामहरु हुँदै रहन्छन। मुख्य कुरा सीमानामा पर्खाल निर्माण गर्ने हो। नेपाल रहे पो नेपाली रहन्छन्। लकडाउन पालना गरौं, कोरोना भाइरस (कोभिड-१९) माथि जीत हाँसिल गरौं, सबै नेपाली बाँचेर भारत-नेपाल सीमानामा पर्खाल निर्माण गरी नेपाल र नेपालीको सुरक्षा गरौं।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्