नेकपाका केन्द्रीय सदस्य एवं संविधान सभाको सभासद रामकुमार शर्मा आफुले गर्नुपर्ने काम सेनामाथि पन्छयाएर सरकार भाग्न नमिल्ने बताएका छन । सेनालाई निर्माण व्यवसायको काम (ठेक्का पट्टा) लगाएकोमा जनता खुशी नभएको बताउदै उनले सरकारको जिम्बेवारी सरकारले नै पूरा गर्नुपर्ने, सेनामाथी पन्छाएर भग्न नमिल्ने बताएका हुन।
समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै शर्माले नेपाली जनता कोरोनाको उपचारमा सरकारले गरेको कमि कमजोरी भन्दा पनि कोरोनाको नाममा हुने भ्रष्टाचारबाट बढी चिन्तित देखिएको उल्लेख गरेका छन। नेपाली सेना राष्ट्रिय एकताको प्रतिकको रूपमा रहेको संस्था भएकाले सरकारले सेना को प्रयोग गर्दा नेपालको संविधान, लोकतान्त्रिक मुल्य मान्यता, अन्तर्राष्ट्रिय प्रचलन आदिलाई गम्भीरता पुर्वक ध्यानमा राखेर गर्न पनि उनको सुझाव छ।
‘भ्रष्टाचारको कसुरमा सेनालाई अख्तियारले हात हाल्दैन,’ उनले लेखेका छन, ‘सेना पनि हाम्रै समाजको उत्पादन हो तसर्थ सेनामाथि शंकाको सृजना हुने कुनै काम नगरौ, जनताको आस्था र बिश्वास बलियो हुने काम मात्रै सेनालाई दिऊ किनकी मंत्रीमाथि शंका लागे मंत्री फेर्न सकिन्छ, प्रम माथि शंका लागे सरकार फेर्न सकिन्छ तर नेपाली सेना माथि नै शंका लाग्यो भन्ने हाम्रो राष्ट्रियतानै खतरामा पर्न सक्छ। तसर्थ आफ्नो स्वार्थको लागि राष्ट्रियतलाई संकटमा नपारौ, नेपाली सेनालाई अप्ठ्यारो नपारौ।’
यस्तो छ उनको फेसबुक स्टाटसः
नेपाली सेना राष्ट्रिय एकताको प्रतिकको रूपमा रहेको संस्था हो। सरकारले सेना को प्रयोग गर्दा नेपालको संविधान, लोकतान्त्रिक मुल्य मान्यता, अन्तर्राष्ट्रिय प्रचलन आदिलाई गम्भीरता पुर्वक ध्यानमा राखेर गर्नु पर्दछ।
नेपालको संविधान २०७२ भाग२८ धारा २६७ को १ ७ बुँदामा नेपाली सेनाबारे व्यवस्था गरेको छ। जसले मुलरुपमा सेनाले गर्नुपर्ने कामको बारेमा दिशानिर्देशन गरेको छ। मुख्य गरी नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, वा कुनै भागको सुरक्षामा युद्ध, बाह्रय आक्रमण, सशस्त्र बिद्रोह वा चरम आर्थिक विश्रृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषदको सिफारिसमा नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुनेछ। घोषणा भएको १ महिना भित्र प्रतिनिधि सभावाट अनुमोदन हुनेछ। सेनाले संघिय कानुन बमोजिम विकास निर्माण र विपद व्यवस्थापन लगायतका अन्य कार्यमा समेत परिचालन गर्न सक्नेछ। बिश्व स्तरमा कोरोना महामारीले ठुलो प्रभाव पारेपनि संयोगवश नेपाली हालसम्म यस महामारीबाट बच्न सफल भएकै छ। आम नेपालीमा अहिले पनि एउटा बलियो बुझाई छ।
बिगत चार महिनाको अवधिमा यो नेपालको सन्दर्भमा प्रमाणित पनि भएको छ। नेपाली जनताले कोरोनाको उपचारमा सरकारले गरेको कमिकमजोरी भन्दा कोरोनाको नाममा हुने भ्रष्टाचारबाट बढी चिन्तित देखिन्छ। नेपाल सरकार त्यही चुक्दैछ जहाँ नेपाली जनताको बढी चिन्ता छ। नेपालीमा एउटा उखान छ, ‘लाटो लड्छ एक बल्ड्यागं बाठो लड्छ तीन बल्ड्यागं’ तसर्थ आफूले गर्नुपर्ने काम सेनामाथि पन्छयाएर भाग्न मिल्दैन सरकार। त्यसै पनि सेनालाई निर्माण व्यवसायको काम वा ठेक्का पट्टाजस्ता काममा लगाएर जनता खुशी छैन किनकी भ्रष्टाचारको कसुरमा सेनालाई अख्तियारले हात हाल्दैन। सेना पनि हाम्रै समाजको उत्पादन हो तसर्थ सेनामाथि शंकाको सृजना हुने कुनै काम नगरौ, जनताको आस्था र बिश्वास बलियो हुने काम मात्रै सेनालाई दिऊ किनकी मन्त्रीमाथि शंका लागे मन्त्री फेर्न सकिन्छ, प्रम माथि शंका लागे सरकार फेर्न सकिन्छ। तर नेपाली सेनामाथि नै शंका लाग्यो भन्ने हाम्रो राष्ट्रियता नै खतरामा पर्न सक्छ। तसर्थ आफ्नो स्वार्थको लागि राष्ट्रियतालाई संकटमा नपारौ, नेपाली सेनालाई अप्ठ्यारो नपारौ।।