मेयरविरुद्ध उपमेयरले दिए प्रधानमन्त्री कार्यालयमा उजुरी

Office of PM
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्रकुमार पट्टेलले १८ करोड बढी भ्रष्टाचार गरेको आरोपसहित उजुरी परेको छ। नगरपालिकाकी उपमेयर परनियादेवी पट्टेललगायतले मेयर पट्टेलविरुद्ध उजुरी दर्ता गरेका हुन्।

प्रधानमन्त्री कार्यालय, सङ्‌घीय मामिला मन्त्रालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपमेयर परनियादेवीसहितले लिखित उजुरी दिएका छन्। पट्टेलले नगरसभाबाट पारित नगरी बजेट वितरण गरेर १८ करोड २६ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप उजुरीमा उल्लेख छ।

उपमेयरलाई सोही नगरपालिकाका वडाध्यक्षहरूले पनि साथ दिएका छन्। ‘आर्थिक वर्ष २०७५/७६ को बजेट नगरसभावाट पारित नगरी तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र पटेल, मनोज झा र लेखापाल नागेन्द्र यादवसमेतको मिलोमतोमा देवाही नगरपालिकाको सञ्चित कोषमा जम्मा भएको झन्डै १८ करोड २६ लाखभन्दा बढी रकम नगरप्रमुख र संलग्नहरूले आफ्नो पदीय अधिकारको चरम दुरुपयोग गरी भ्रष्टाचार गरेका छन्,’ उजुरीपत्रमा उल्लेख छ।

भ्रष्टाचार गरिएको भनिएको रकम सशर्त अनुदानतर्फको झन्डै ८ करोड ९८ लाख, राजस्व वाँडफाँडतर्फको ५ करोड ३९ लाख, मालपोततर्फको आन्तरिक आम्दानीबाट ६७ लाख, प्रदेशतर्फको विशेष अनुदान ९७ लाख र सङ्‌घीय सरकारबाट समानीकरण अनुदानमार्फत प्राप्त २ करोड २५ लाख रहेको उजुरीमा उल्लेख छ।

सञ्चित कोषमा जम्मा भएको रकम नेपालको संविधानको धारा २९९ (२), स्थानीय सरकारको सञ्चालन ऐन–२०७४ को परिच्छेद १० बमोजिम आर्थिक कार्यप्रणालीसबन्धी प्रक्रिया पूरा गरेर सोही ऐनको दफा १०२ बमोजिम आर्थिक ऐन र विनियोजन ऐन स्थानीय राजपत्रमा प्रकाशित नगरी, नगरसभाबाट स्वीकृत नीति तथा कार्यक्रम र बजेट समेटिएको नगर विकास कार्यक्रम पुस्तिका सार्वजनिक गरी नगरपालिकासँग भएको सञ्चित रकम खर्च गर्ने व्यवस्था छ।

‘उल्लेखित संवैधानिक तथा कानुनी व्यवस्थाविपरीत नगर प्रमुख पट्टेलले नगरपालिकाको आव २०७५/७६ को बजेट नगरसभाबाट पारित नगरी मिलोमत्तोमा आफ्नो पद र अधिकारको चरम दुरुपयोग गरी भ्रष्टाचार गरेको,’ भन्दै कारबाहीको माग गरिएको छ।

२०७६ मङ्सिर ११ गते आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम र बजेट नगरसभामा पेस गर्ने भनेर बैठक बोलाएकामा नगरप्रमुख पट्टेलले नै उक्त बैठक भङ्‌ग गरेको उजुरीकर्ताको आरोप छ। ‘२०७५ साउनदेखि २०७६ सम्म १८ करोड २६ लाखभन्दा बढी भ्रष्टाचार गरेको’ निष्कर्षसहित उजुरी दिइएको उनीहरूको दाबी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्