पर्वतमा विदेशबाट फर्किएकाको ‘थ्रोट स्वाब’ परिक्षणको तयारी

parbat corona hospital
लोकपाटी न्यूज
0 Shares

निर्मल पौडेल/ पर्वत, २३ चैत। पर्वतमा चैत १ गतेदेखि जिल्लामा भित्रिएका मानिसहरुको थ्रोट स्वाब परिक्षण गरिने भएको छ। विदेशबाट फर्किएर होम क्वारेन्टाईनमा बसेका सबै जनाको थ्रोट स्वाब परिक्षणको तयारी गरिएको हो।

जिल्लामा विदेशबाट फर्किएर होम क्वारेन्टाईनमा बसेपनि गाउँघरमा हिडडुल गरेको स्थानीयले गुनासो गरेपछि जोखिमको सम्भावना बढेको भन्दै विदेशबाट फर्किने सबैको स्वाब परिक्षण गरिने पर्वत अस्पताल विकास व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गिरी पहाडीले जानकारी दिए। जिल्लामा छिमेकी मुलुक भारतबाट २ सय १३ जना र तेस्रो मुलुकहरुबाट आउनेको संख्या १ सय ३ जना रहेका छन्।

जिल्लाका विभिन्न स्थानीय तहहरुले उपलब्ध गराएको विवरण अनुसार विदेशबाट फर्किएकाको आइतबारबाट स्वाब संकलनको काम शुरु भएको पर्वत अस्पतालले जनाएको छ। पर्वत अस्पतालका प्रमूख डा.शिशिर देवकोटाका अनुसार पहिलो चरणमा भारत बाहेक तेस्रो मुलुकबाट फर्किएकाहरुको स्वाब संकलन गर्ने तयारी भैरहेको डाक्टर देवकोटाले बताए। बागलुङमा २ जनामा कोरोनाको संक्रमण देखिएपछि पर्वतलाई पनि उच्च जोखिममा राखिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय पर्वत र पर्वत अस्पतालले संयुक्त रुपमा स्वास्थ्य विज्ञ टोली गठन गरी आइतबारबाट स्वाब संकलनको सुरु गरेका हुन्। पहिलो चरणमा भारतबाट वाहेक अन्य मुलुकबाट आएकाहरुको स्वाब परिक्षण गरिने र त्यसपश्चात दोस्रो चरणमा भारतबाट आएकाहरु तथा गाउँमा कोरोनाको आशंका गरिएकाहरुको स्वाब परिक्षण गरिने स्वास्थ्य कार्यालय पर्वतका प्रमूख डा.भोजराज गौतमले  जानकारी दिए।

आइतबार कुश्मा नगरपालिकामा बाहिरबाट आएका मध्य केहीको स्वाब परिक्षण गरिएको छ। कुश्माको सकिएपछि फलेवास नगरपालिकामा बाहिरबाट आएकाहरुको स्वाब परिक्षण गर्ने र त्यसपछि अन्य स्थानीय तहहरुमा रहेकाहरुको परिक्षण गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। विदेशबाट फर्किएकाहरुलाई जिल्ला अस्पताल  पर्वत र जिल्ला स्वास्थ्य कार्यालय पर्वतले फोनमार्फत् जानकारी लिइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्