काठमाडौं, २९ वैशाख। विदेशमा अलपत्र नेपालीलाई फर्काउन संसदमा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता भएको छ। कोरोना भाइरस महामारी सिर्जित असहज परिस्थितिका कारण विभिन्न मुलुकमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउनुपर्ने विषयमा संघीय संसद्मा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता भएको हो।
सोमबार नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा प्रस्ताव दर्ता गराएका हुन्। प्रस्तावको समर्थकहरुमा कांग्रेसकै सांसदद्वय डा. डिला संग्रौला र प्रकाश रसाइली (स्नेही) छन्। प्रस्तावमा ‘कोरोना महाव्याधिबाट प्रभावित विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ पेश गरिएको भनिएको छ।
सामान्य अवस्थामा समेत वैदेशिक रोजगारीमा जानेहरुले कुनै न कुनै समस्या भोग्ने भएकाले अहिले झन् रोजगारी नै गुमाएको अवस्थामा अनेकौं समस्याका बीच लाखौं नेपाली बसिरहेकाले उनीहरुलाई स्वदेश फिर्ता गर्नुपर्ने प्रस्तावमा भनिएको छ।
भारतका विभिन्न ठाउँमा रहेका नेपालीहरु झन् ठूलो समस्यामा रहेकाले राज्य गैरजिम्मेवार बन्न नमिल्ने प्रस्तावमा उल्लेख छ। स्वदेश फर्किन चाहनेको तथ्यांक संकलन गर्ने, जोखिमको अवस्था वर्गीकरण गर्ने र परीक्षण गरेर क्वारेन्टिनको व्यवस्थासहित राख्न सकिने सुझाव प्रस्तावमा दिइएको छ।