मेलम्ची आयोजना सम्पन्न, ‘कठोर संघर्षबाट इतिहास रच्यौं’ : मन्त्री मगर (विज्ञप्तिसहित)

unnamed
लोकपाटी न्यूज
0 Shares

काठमाडौं, २१ असार। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ। आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न भएकोबारे जानकारी दिन खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्चीको उद्घाटन छिटै गरिने जानकारी दिइन्।

आइतबार बिहानबाट मेलम्ची खोलाको पानी आयोजनाको सुरुङ मार्गमा पथान्तर गरिएको छ। सुरुङ मार्ग भरिन केही दिन लाग्ने र त्यसपछि सुरुङको अन्तिम परीक्षण हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। पत्रकार सम्मेलनमा बोल्दै मेलम्ची आयोजना प्रमूख तिरेशकुमार खत्रीले सुरुङमा पानी हालिसकिएकाले केही दिनमा नै २६ किलोमिटर लामो सुरुङ भरिने र त्यसपछि सुरुङ खाली गरी फेरि पानी हालेर उपत्यकामा पानी बितरणको प्रक्रिया सुरु गरिने बताए।

पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजना सम्पन्न गरिएको जानकारी पाउँदा आफूलाई गौरववोध भएको बताइन्। मन्त्री मगरले भनिन्, ‘मेलम्चीबारे थुप्रै आशंकाहरु थिए। आम जनतामा निरासा थियो। मेलम्ची कतै दन्त्यकथा हुने त होइन भन्ने खालका चिन्ताहरु पनि थिए। तर, हामीले चुनौतीसँग जुध्यौं। ती सबै आशंकाहरु, अन्यौलताहरु, गलत प्रचारहरु हटाएर रातदिन काममा खटिरह्यौं। आज आयोजना सम्पन्न भएको छ। यो हाम्रा लागि ऐतिहासिक उपलब्धी हो।’

मन्त्री मगरले आयोजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्। मन्त्री मगरले भनिन्, ‘मेलम्ची आयोजना निकै लामो समयदेखि सुरु भएको आयोजना हो। मैले मन्त्रालयको नेतृत्व सम्हालेपछि निकै मेहेनतका साथ आयोजना सम्पन्न गर्न लागिरहें। आयोजना सम्पन्न गर्ने क्रममा थुप्रै चुनौतीहरु आए, अनेकौं गलत प्रचारहरु गरिए। तर, हिम्मत नहारिकन हामी अगाडि बढ्यौं। त्यसकै प्रतिफल आजको उपलब्धी हासिल गरेका छौं। यसले हामी सबै नेपालीको शीर उच्च भएको छ।’

पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले निकै चुनौतीपूर्ण आयोजना सम्पन्न गरिएको बताए। उनले आयोजनाको निर्माण कार्य सम्पन्न भएको र अब छिटै उद्घाटन गरेर मेलम्चीको पानी काठमाडौं उपत्यकामा बितरण गरिने जानकारी दिए।

प्रेस विज्ञप्ति

बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजना मेलम्चीको खानेपानी आयोजनाको पानी आजदेखि सुरुङ मार्गमा पथान्तर गरिएको छ। सुरुङ मार्गमा पानी पथान्तर गरिएसँगै मेलम्चीबारे दशकौंदेखि रहेका हाम्रा आशंका र अन्यौलको मात्र अन्त्य भएको छैन, हामी सम्पूर्ण नेपालीमा गौरवको अनुभूति गराएको छ। मेलम्ची आयोजना सम्पन्न भएको यस ऐतिहासिक अवसरमा आयोजनाबारे जानकारी दिने उद्देश्यले यो पत्रकार भेटघाट आयोजना गरिएको छ।

काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकारले लामो समयदेखि बिभिन्न प्रयासहरु गर्दै आएको कुरा सर्वविदितै छ। यसै क्रममा नेपाल सरकारले वि.सं. २०२९ देखि नै खानेपानी आपूर्तिका लागि संभाव्य स्रोतहरुको पहिचानका लागि अध्ययन कार्य थालेकोमा २०४१ मा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्ची लगायत विभिन्न २२ वटा विकल्पहरु पहिचान गरेको थियो। वि.सं. २०४९ को  तुलनात्मक अध्ययनबाट आर्थिक र प्राविधिक रुपमा उत्तम विकल्पको रुपमा मेलम्ची, याङ्ग्री र लार्के नदीहरुबाट दैनिक कूल ५१ करोड लिटर (प्रत्येकबाट १७ करोड लिटर) पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न उपयुक्त हुने निश्कर्ष निकालेको थियो।

प्रवेशमार्ग लगायतका पूर्वाधार निर्माणका प्रारम्भिक कार्यहरु तथा आयोजनाको बिस्तृत डिजाइनसम्पन्न भएसंगै वि.सं. २०६६ देखि सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका अन्तर्गत अम्बाथानबाट काठमाडौं उपत्यकाको सुन्दरीजलसम्म पानी प्रवाह गर्न करिब २७.५ किमी सुरुङ निर्माण कार्य China Railway 15 Bureau Group Corporation and China Machinery Industry Group Corporation Inc. JV सँग ठेक्का सम्झौता गरियो। उक्त निर्माण व्यवसायीबाट सन्तोषजनक प्रगति हुन नसकेका कारण २०७० माठेक्का सम्झौता रद्द गर्नु परेको थियो। त्यसपछि नियुक्त दोस्रो निर्माण व्यवसायी Cooperative MuratoriCementesti di Ravenna, Italy ले सुरुङको ब्रेकथ्रू गरेको भएतापनि २०७५ पुष १ देखि एकतर्फी रुपमा निर्माणस्थल छाडेपछि मेलम्ची आयोजनाले निजसँगको ठेक्का रद्द गरी वैकल्पिक व्यवस्था गर्नु परेकाले आयोजना सम्पन्न गर्न थप ढिलाई हुन गएको हो। सुरुङको बाँकी काम एक वर्ष भित्रमा सम्पन्न गर्न समितिले तत्कालै द्रुत प्रक्रिया अपनाई Sinohydro Corporation, Chinaसँग २०७६ असोज १२ मा सम्झौता गरेको थियो। त्यसैगरी हेडवर्क्स निर्माणको कार्य १५ महिनाभित्र सम्पन्न गर्ने गरी सोही कम्पनीसँग २०७६ असोज २४ गते अर्को छुट्टै सम्झौता पनि गरिएको छ।

विश्वव्यापी  महामारीको रुपमा फैलिएको Covid-19  को कारणले नेपालले सामना गर्नुपरेको चुनौति र लकडाउनका बावजुद कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले निर्धारण गरेका मापदण्डको अबलम्वन गर्दै मेलम्ची खानेपानी विकास समितिले निर्माण कार्यलाई निरन्तरता दिन अथक प्रयास गरिरहेको अवगत गराउँदछौं।

सम्झौता अनुसार सुरुङका बाँकी कार्यहरु र पानी पथान्तरण गर्न आवश्यक बैकल्पिक  संरचनाहरुको निर्माण निर्धारित समयमा सम्पन्न गर्न खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले निर्माण व्यवसायीलाई नियमित रुपमा आवश्यक सहजीकरण गरिएको र सो कार्य समयमै सम्पन्न भएकोव्यहोरा आज यहाँहरु समक्ष सहर्ष जानकारी गराउदछौ। हेडवर्क्सको कार्यपनि २०७७ भित्रनै सम्पन्न गर्न सबै उपायहरुको अवलम्बन गर्दै आएको छ। नेपाल सरकारले आर्थिक वर्ष २०७७।७८को बजेट वक्तव्यमा असार महिनाभित्रै मेलम्चीको पानी पथान्तरण कार्य सुरु गर्न निर्दिष्ट गरेको जिम्मेवारीलाई मन्त्रालयले आत्मसात गरी सो अनुरुप आजैका मिति देखि (२०७७ असार २१ गते आइतबार) सुरुङ परिक्षणको लागी पानी भर्ने कार्यको  सुरुवात गरिएको जानकारी गराउदछौ।

यसरी विभिन्न समस्या र चुनौतीहरु पार गर्दै काठमाडौंबासीको दुई दशक भन्दा लामो व्यग्र प्रतिक्षालाई सम्बोधन गने क्रममा सुरुङमा पानी पथान्तरण गरेसँगै आजैका मितिदेखि आयोजना नयाँ चरणमा प्रवेश गरेको व्यहोरा समेत सार्वजनिक गर्दछौं। सुरुङको परीक्षणका लागि चाहिने सबै आवश्यक प्राविधिक तयारी आयोजनाले सम्पन्न गरिसकेको छ। शुरुमा परीक्षणका लागि प्राविधिक मापदण्ड अनुसार प्रति सेकेन्ड २६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिदैछ। सुरुङको सुरक्षा तथा संचालनका लागि प्रचलित अन्तरर्राष्ट्रिय मापदण्ड अनुरुप पानी प्रवाह गरिने छ। यसअनुरुप पानी प्रवाह गर्दा २६ किलोमिटर सुरुङ भरिएपछि पूर्ण भरिएको सुरुङलाई केही दिन यथास्थितिमा राखिनेछ। त्यसपछि पानी भरिएकै  दरमा सुरुङ्ग खाली गरी सुरुङको अवस्थाको पूर्ण परीक्षण गरिएपछि कुनै समस्या देखिएमा आवश्यकता अनुसार तिनको समाधान गरिनेछ। त्यसपछि भने नियमित रुपमा पानी पथान्तरण गरी काठमाडौं उपत्यकाको वितरण प्रणालीको लागि उपलब्ध हुनेछ।

पानी पथान्तरण शुरु भएसँगै मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम लगायतका क्षेत्रहरु साथै बाग्मती नदीमा कुनैपनि बेला पानीको बहाब बढ्नसक्ने भएकाले नदी किनारमा जानुपर्दा विशेष सावधानी अपनाउनुपर्ने भएकाले तपाई संचारकर्मीहरुमार्फत सो सम्बन्धी जानकारी सर्वसाधारणमा प्रवाह गरिदिनुहुन अनुरोध गर्दछौं।

अन्तमा, राष्ट्रिय गौरवको यस आयोजनालाई समयमै सम्पन्न गर्न सहयोग गर्नुहुने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, एसियाली विकास बैंक लगायत संलग्न सम्पुर्ण दातृ निकायहरु, सामाजिक उत्थान समिति, स्थानीयवासी, राजनीतिक दल, निर्माण व्यवसायीहरु, परामर्शदाताहरु, नियमित रुपमा सहयोग गर्ने सुरक्षा निकायहरु तथा सधैं सकारात्मक सन्देश प्रवाह गरी आयोजनालाई हौसला प्रदान गर्ने संचारकर्मीहरु सबैलाई मेलम्ची खानेपानी आयोजना विकास समिति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।  धन्यवाद।

(मितिः २०७७।०३।२१)

मेलम्ची खानेपानी आयोजना विकास समिति

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्