कोरोनाका कारण श्रमिकको व्यवस्थापन चुनौतीपूर्ण बन्दै : गोकर्ण विष्ट

  • 245
    Shares
0

काठमाडौं, २४ जेठ। पूर्वश्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले कोरोनाको संक्रणसँगै नयाँ श्रमशक्ति र रोजगारीबाट बाहिरिएका श्रमिकको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजिन विधेयक २०७७’ माथिको छलफलमा भाग लिंदै पूर्वमन्त्री विष्टले भने, ‘नयाँ आउने श्रमशक्तिको व्यवस्थापनमा एकातिर समस्या बढ्दै गएको छ, अर्कातर्फ रोजगारीबाट बाहिरिने अवस्था ज्यादै चुनौतीपूर्ण बन्दैछ, अब अझै माथि उठेर देशमा रोजगारी सिर्जना गर्नेतर्फ गम्भीरतापूर्वक लाग्नु जरुरी छ।’

पूर्वमन्त्री विष्टले कोरोनाका कारण मुलुक ७० दिनभन्दा बढी समयदेखि बन्दाबन्दी अवस्थामा रहेको, आर्थिक क्रियाकलाप चलायमान नहुँदा लाखौं मजदूरले रोजगारी गुमाइसकेको, वैदेशिक रोजगारीमा गएका मजदूर स्वदेश फर्कने क्रम शुरु भएको, भइरहेको श्रमशक्ति रोजगारीबाट बाहिरिँदै गएका बेला बाहिरबाट फर्किएर आएका युवालाई रोजगारी दिनुपर्ने मुलुकसामु ठूलो चुनौती भएको अवस्थामा तुलनात्मक हिसाबले उत्पादन वृृद्धिमा जोड दिनुपर्ने बताए।

मुलुकको उत्पादनलाई संरक्षण र प्रोत्साहन गर्न सकिएन भने रोजगारीको अवसर सिर्जनाको कुनै सम्भावना नहुने र अर्थतन्त्रलाई समूल विकास गर्न नसकिने विष्टको धारणा थियो। दुई वर्षदेखि सञ्चालित प्रधानमन्त्री रोजगारी कार्यक्रमअन्तर्गत दुई लाखलाई रोजगारी दिने गरी आगामी आवको बजेट विनियोजन भएको, अन्य विभिन्न शीर्षकमा समेत आगामी आवमा रोजगारीलाई प्राथमिकता दिइएकाले बजेटको प्रशंसा गर्दै उनले केन्द्र र प्रदेश तथा स्थानीय तहबीच समन्वय भएन भने अपेक्षानुसार प्रगति हासिल गर्न नसकिने दावी गरे।

उनले श्रम बजारको माग र आपूर्तिका लागि काम र जनशक्तिका बीचमा सन्तुलन कायम गर्न नसक्दा हुने बेरोजगारीको अवस्था गम्भीर र चुनौतीपूर्ण रहेका अवस्थामा सरकारले सीपयुक्त जनशक्ति विकासका लागि बजेट व्यवस्थापन गर्नु सुखद् भएको बताए।

उनले देशभित्र र बाहिर प्रतिस्पर्धा हुन सक्ने गरी जनशक्ति उत्पादन गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए। अन्तर्राष्ट्रिय श्रम सङ्गठनले चौथो संस्करणका रुपमा सार्वजनिक गरेको एक विश्लेषणमा ३० करोड ५० लाख जनशक्ति कामबाट बाहिरिएको र आगामी असारसम्म यो अवस्था अझै गम्भीर र भयावह बन्ने देखिएको तथा नेपालका सन्दर्भमा १६ देखि २० लाख मजदूर रोजगारीबाट बाहिरिने खतरा अनुमान गरिएको पूर्वमन्त्री विष्टले बताए।
सङ्कटपूर्ण अबस्थामा मुलुकको कृषि र औद्योगिक क्षेत्रमा रोजगारी सिर्जना गर्न पर्याप्त सम्भावना रहेको उनले बताए।

Comments
Loading...
You might also like