६ महिनापछि रसुवागढी नाका खुल्यो

ii
  • 19
    Shares

रसुवा, २२ असार। विगत ६ महिनादेखि बन्द नेपाल–चीन रसुवागढी नाका आज (सोमबार) देखि सञ्चालनमा आएको छ। दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदरी बनेपछि नाका खुलेको हो।

हिमपात र पहिरोका कारण उत्तरी छिमेकी चिनसँगको मुख्य नाका गत पुस १४ बाट बन्द थियो। नाका खुलेपछि पहिलो चरणमा केही अघिदेखी चीनतर्फ रोकिएका तयारी पोशाक र स्याउहरु नेपाल भित्रिने रसुवागढी भन्सार कार्यालयले जनाएको छ।

नाका संचालन प्रोटोकलअनुसार दैनिक चार वटा चिनियाँ ट्रकले १ सय २० टन सामाग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिनेछन्। नेपालतर्फ आयात हुने सामानको ढुवानी र लोड गर्न नेपालीहरु नै परिचालित हुनेछन्। मितेरी पुलसम्म ल्याइएको सामान नेपाली कन्टेनरले ढुवानी गरेर नेपालतर्फ ल्याउनेछन्।

कोरोना संक्रमणको जोखिम रहेसम्म नेपाली व्यावसायीहरु भने चीनतर्फ जान पाउने छैनन्। रसुवागढी नाकासम्म जानको लागि पनि रसुवा जिल्ला प्रशासनको पास अनिवार्य गरिएको छ।