स्वास्थ्य

नेपालमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि

corona doctor
  • 25
    Shares

काठमाडौं, २३ असार। पछिल्लो २४ घण्टामा देशभर २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमितको सङ्ख्या १६ हजार १६८ पुगेको छ।

पछिल्लो २४ घण्टामा छ हजार १३३ नमूनाको पिसिआर विधिबाट परीक्षण गरिएको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। यस्तै, काठमाडौं उपत्यकामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता गौतमले काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए।

जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका एक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौंका १२ र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमै गरिएको परीक्षणमा भक्तपुरका चार र ललितपुरका १० जनामा संक्रमण देखिएको हो।

मंगलबार सबैभन्दा बढी बाजुरामा ५४ जनामा कोरोना संक्रमण देखिएको छ। अछाम र बैतडीका ११-११, महोत्तरीका नौ, धनुषा र अर्घाखाँचीका आठ-आठ, डोटीका सात, मोरङ र डडेल्धुराका छ-छ, सल्यान, रुकुम पश्चिम र नवलपसारीका पाँच-पाँच, सप्तरी, सुनसरी, दाङ, सुर्खेत र गोरखाका तीन-तीन, तनहुँ, पाल्पा र बर्दियाका दुई-दुई, झापा, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, कास्की, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, सप्तरी, रुकुम पूर्व, बागलुङ र कपिलवस्तुका एक-एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म पिसिआर विधिबाट दुई लाख ६१ हजार ८६१ नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

लेखकको बारेमा

लाेकपाटी न्यूज