जितेर हार्ने कि हारेर जित्ने ?

Dilaram Acharya
मनहरि तिमिल्सिना
0 Shares

डिलाराम आचार्य/

सुसान मञ्चमा बोलिरहेको थियो। जसरी मजबुत घर बनाउन गुणस्तरीय सामग्रीको आवश्यकता पर्छ, त्यसरी नै जनताको शक्तिशाली आन्दोलनको निम्ति शक्तिशाली संगठनको आवश्यकता पर्छ र शक्तिशाली संगठनको निम्ति इमान्दार, समर्पित र लगनशील कार्यकर्ताको आवश्यकता पर्दछ। उसको मन्तव्य धाराप्रवाह चलिरहेको थियो।

पाका मानिसहरुको ठूलै जमघट थियो। उता चौरमा एउटा ठूलै हुल मानिसहरु बसेका थिए। चौपारीको माथि मञ्च थियो र तल भुइँमा मानिसहरु बसेका थिए। धुपिलो दिन थियो। मानिसहरूको बाक्लो उपस्थिति थियो। चौपारीको पीपलको छहारीले आधाआधी चौर ढाकेको थियो। धेरैजसो मानिसहरूको टाउकोमा छहारी पुगेको थियो। केही छाता ओडिरहेका थिए त केही मानिसहरु घाममा बसेका थिए। केही भने अलिपर छायाँमा र केही केही घरको पिँढी र केही केहीले बार्दलीमा उभिएर सुनिरहेका थिए। सुसान बोली रहेको थियो र उसको बोलीमा सबैलाई गोलबद्ध पार्ने आग्रह र सच्चाइ अनुभूत भइरहेको थियो धेरैलाई, तर वक्ताको ठिक पछाडिको कालो चश्मा लगाउने अधबैंसे मानिस भने मञ्चमै झुलिरहेको थियो। कसले के बोल्यो भन्ने कुरामा भन्दा आफै निद्रामै मस्त थियो। छेउमा बसेकी भद्र महिला भने पटकपटक आफ्नो मोवाइल हेर्दै थिइन्।

वक्ताले प्रसंग फेरे। हामी हिजो पञ्चायत कालमा राजाको शासनकालमा, जनयुद्ध, जनआन्दोलनको समयमा पनि यिनै गाउँबस्तीमा तपाईंहरूको घरमा सेल्टर लिएर बस्दै आएका हौँ। यो गाउँ र यहाँका बासिन्दाहरुले हामीमाथि धेरै ठूलो गुन लगाउनुभएको छ र देशभरिका जनताले पनि। तपाईहरुले त्यसरी हामीलाई माया नगरेको भए, साथ नदिएको भए हामीले देशलाई यहाँसम्म ल्याउन सक्ने थिएनौँ। हामी अग्रपंक्तिमा भए पनि तपाईहरुको सहयोग विना हामी पानी विनाको माछा जस्तै हुने थियौँ। त्यो कुरा हिजो पनि सत्य थियो, आज पनि हो र भोलिको निम्ति पनि। कैयौँ साथीहरू आज तल माथिका विभिन्न सत्तामा पुगेका छन्। ती मानिसहरुमध्येका केहीले खुल्लमखुल्ला घोषणा गर्दैछन् कि अब राजनीतिक आन्दोलनको काम समाप्त भयो। हाम्रो आफ्नै केही साथीहरु पनि त्यसो भनिरहेका मात्र होइन, वहाँहरु मन, वचन र कर्मले नै आन्दोलनको पिरियड समाप्त भएको अब विकास निर्माण प्रगति उन्नतिको काम गरे पुग्छ भन्दैछन् र त्यसै गर्ने कोसिस पनि छ। तर त्यो सोचाई ठीक यस्तै हो, जसले भिरमौरीको मह त देख्छ र र्‍याल काढ्छ। तर त्यो मह प्राप्त गर्ने भीरको कठीन बाटोलाई बुझ्दैन, देख्दैन। यो त्यस्तै कुरा हो, जसले डुङ्गालाई नदीको बीचमा लागेर अब आफै तर्छ भनेर छाडिदिन्छ।

आज हामी कठिन मोडमा उभिएका छौं। धेरै ठूलो परिवर्तनपछि पनि जनताले व्यवहारिक रुपमा परिवर्तनको अनुभूति गर्न पाएका छैनन्। त्यसकारण राजनीतिक आन्दोलनको समय समाप्त भएको होइन कि राजनीतिक आन्दोलनको रुप परिवर्तन गर्नुपर्ने आवश्यकता बढेर गएको छ। नयाँ परिवेशको, नयाँ आन्दोलनको खाँचो बढेर गएको छ। अबको आन्दोलन समानता र न्यायको निम्ति केन्द्रित गर्नुपर्ने हुन्छ। सबै प्रकारका विभेदहरुको अन्त्यको लागि केन्द्रित गर्नुपर्ने हुन्छ। त्यसको निम्ति तपाईं हामीजस्ता लाखौं लाख सचेत नागरिकले फेरि एकपल्ट आन्दोलनको हुँकार भर्नुपर्ने हुन्छ। तपाईहरु त्यसको लागि तयार हुनुहन्छ ? भन्दा जनताहरूले जोडले ताली बजाएर समर्थन गरेका थिए।

भीड थपिँदैछ। साना बच्चाहरु मञ्चको साइडमा आफ्नो धुनमा खेलिरहेका छन्। एकजना पाको मान्छेले ती बच्चाहरूको हल्ला शान्त पार्दै अलि परको चौरतिर इसारा गर्छन्। बच्चाहरु त्यता दगुर्छन् र चौरमा पुगेर फेरि खेल्न थाल्छन्। झोपे मुन्द्री लगाएकी आवैले आफ्नो नातीलाई काखमा राखेकी छन् र नानी विस्कुट खाइरहेको छ र आधाभन्दा धेरै थुकमा रोमलेर साडीमा पुछ्दैछ। तर तिनी महिलालाई बच्चाको गतिविधिमाथि कुनै वास्ता छैन। वक्ताको भाषणमा ध्यानमग्न छिन्। हो र होइनमा टाउको पनि हल्लाउँछिन्।

वक्ताको प्रसंग फेरिएको छ। हिजो हाम्रा गाउँघर अँध्यारोमा बाँचेका थिए। विद्यार्थीहरुलाई मुस्किलले टुकी बत्ती नशिब हुन्थ्यो। हिजोसम्मका हाम्रो जीवन अँध्यारोमा बित्यो। तर हाम्रो मन सफा र सुन्दर थियो। हामी आफ्नो कमजोरीहरु लुकाउने होइन, साथीहरुलाई बताउन आत्मालोचित हुन आतुर हुन्थ्यौं। आफ्नो मात्र होइन, हाम्रा साथीहरुका कमजोरीबारे पनि आमनेसामने आलोचना गरेर कमजोरीहरुबाट साथीसंगीलाई सच्चाउने पहल लिन्थ्यौं। तर अब गाउँमा बिजुली आएको छ। हाम्रा घर मात्रै होइन, बाटाघाटा उज्याला भएका छन्। हिजो टुकीको उज्यालो नबोल्ने कोठाहरुमा बिजुलीका चिमहरु बल्न थालेका छन्। गाउँबस्ती झकमक उज्याला भएका छन्। झिसमिस देखिने अनुहारहरु रातिमा प्रष्ट देखिन थालेका छन्। तर हाम्रा मनहरु क्रमशः अँध्यारा हुँदै गएका छन्। आत्मालोचित हुनेहरु आज आत्मसन्तुष्टिमा रमाउन थालेका छन्। हिजो त्यागका निम्ति तछाडमछाड गर्नेहरु आज पाउनका निमित्त लुछाचुडी गर्न थालेका छन्। हिजो आलोचनामा उठ्ने औलाहरु क्रमशः दलाली, चाकडी र चाप्लुसीमा लाग्न लालयित हुँदैछन् र मुख अगाडि झुटो प्रशंसा र पछाडि गालीगलौजमा तल्लीन हुँदैछन्। तर यो आन्दोलनको मुख्य पाटो होइन। मुख्य पाटो त आज पनि दुःख, पीरमर्का, उत्पीडनमा बाँचिरहेका, शोषण उत्पीडनको झातोमुनि पिल्सिरहेका र दुई छाकको जोहो गर्न देशविदेश भौतारिरहेका मानिसहरु नै हुन्। उनीहरुलाई सम्पूर्ण रुपले न्याय र स्वतन्त्रतामा आधारित राज्य व्यवस्था चाहिएको छ, जसले उनीहरुलाई भोक र गरिबीबाट मुक्ति दिन सकोस्।

धेरै मानिसहरु बुझिरहेका थिए र केहीले कम बुझेको थिए। तर सुसानको दुब्लोपातलो र अग्लो शरीर हसिलो अनुहार, उसले प्रयोग गर्ने सरल भाषा र उसको अभिव्यक्तिमा प्रकट हुने भविष्यको चिन्ताले सबैलाई आकर्षण गरिरहेको थियो। ऊ विगत ३० वर्षदेखि यही गाउँ वरिपरि काम गरिरहेको छ। गाउँलेहरुको जीवनसँग राम्रो गरी परिचित छ। सुसान र ऊजस्तै केही सीमित मानिसहरूको पहलको कारणले यो गाउँ र वरिपरिका गाउँहरु तुलनात्मक रुपले सचेत गाउँहरु नै हुन् भन्ने कुरा यहाँका मानिसहरूको आपसी एकता र व्यवहारबाट झल्किन्छ। सुसानको जन्म यो जिल्लामा नभए पनि यहाँ सबैको दुःखसुखमा विगत ३० वर्षदेखि घुलमिल छ यो मान्छे यो गाउँमा। पहिले मास्टर भएर पढाउँदै थियो। पछि भूमिगत राजनीतिमा होमियो र अहिले गाउँकै ठूलो नेता जिल्लाकै ठूलो नेता हो। आज सबैले मान्ने मान्छे भएर पनि जीवन व्यवहार उस्तै सरल र सामान्य छ। उसको आवाजमा भविष्यको चिन्ता छ। त्यो चिन्ताभित्र समाजको सुखको चाहना लुकेको छ। समानता र न्यायको चिन्ता लुकेको छ भन्ने सबै जसोले बुझेका छन्। उसको भावना बुझ्ने भएरै होला सुसानको कुरामा उपस्थितहरुको सहमति जस्तै थियो। बीच बीचमा एकश्वरले ताली पड्काएर सहमति पनि जनाइरहेका थिए।

आज सुसानको मन अलि कुडिएजस्तो छ। यति ठूलो परिवर्तनपछि पनि जनताको जीवनमा परिवर्तन हुने गरी काम भइरहेका छैनन् भन्ने कुरा उसलाई गहिरो गरी लागेको छ केन्द्रदेखि स्थानीय तहसम्म। तर उसको गुनासो निर्वाचित प्रतिनिधिहरूसँग छैन। उसको गुनासो त पार्टीले नै ठोस योजना बनाएर आफ्नो नीति निर्देशनमा जनप्रतिनिधिहरुलाई सञ्चालन गर्न सकेन, त्यसकारण जनअपेक्षा अनुरुप कामहरु हुन सकेनन् भन्ने नै छ। यतिकैमा वक्ताले कुन्नि के भनेर सहभागीहरू खित्का छाडेर हाँसे वरिपरिको वातावरण नै थर्कनेगरि।

तर गाउँलेहरुको सुसानसँग एउटा ठूलै गुनासो पनि थियो। न गाउँको चुनाव, न माथि माथिको चुनाव कतै चुनावमा आफू उमेदवार बन भन्दा त्यसको वास्ता नगर्ने नमान्ने मात्र होइन, अरु नै मान्छे तयार गरेर ल्याउँछ र त्यसलाई जिताउन मरीमेटी गर्छ। आफै उठेजस्तै गर्छ। गएको चुनावमा त चार गाउँघरका मानिस जुटेर सुसानलाई माथि कै ठूलो चुनाव लडाउने कुरामा जोड गरे। सबैको जोडबल नै चल्यो। सुसानलाई घेरा नै हाले। तर उसले मानेन। सबैले त्यसो भए तैले के खोजेको हो भन्ने जोड गरेपछि उसले भन्यो, यो सबैभन्दा माथि अर्को कुरा छ त्यो हो आन्दोलनको निरन्तरताको कुरा। आन्दोलनले परिस्थितिका जटिलताहरुलाई चिर्दै अगाडि बढ्न सकेन भने जनता, समाज, देशको आवश्यकताअनुसारको आन्दोलनको ज्योति बलिरहेन भने फेरि अन्धकार आउन सक्छ। त्यसकारण अन्धकार फर्कन नदिन र हाम्रा मानिसको जीवनलाई अझ सुखी र समृद्ध बनाउँदै लैजान सचेत मानिसहरुको एक हुल झूठो त्यागको आडम्बर बोकेर होइन, बरु समाजलाई सही बाटोमा निरन्तर हिडाउँदै रहन अटुट विश्वासका साथ आन्दोलनमा लागिरहन जरुरी हुन्छ। चुनाव, सरकार, सत्ताभन्दामाथि त्यहीमध्येको म एकजना हुँ र तपाईहरु सबै मेरा साथीहरु पनि। त्यही हो चुनाव त, जो लडे पनि एकजना न लड्ने हा । बाँकी साथीहरु सुन्दर भविष्यको निर्माणका योजना बनाउने काममा जुटिरहने हो। यही मेरो कुरा हो भन्दा साथीहरूले परर ताली पिटेका थिए। केही पाका मानिसहरूको भने चित्त बुझेको थिएन भन्ने कुरा स्पष्ट रूपमा देखिन्थ्यो उनीहरूको भावबाट।

यता भाषण सिद्धि नै लागेको थियो। सुसानले पसिना छाडेको थियो र बोल्दाबोल्दै तातिसकेको थियो। अब ऊ पार्टीभित्रका मुद्दाहरू बारेमा बोल्दै थियो। आज हाम्रा पार्टीका मुद्दाहरु सडकमा पोखिइरहेका छन्।

देश विदेशका सञ्चार माध्यमहरूका हेडलाइन बनिरहेका छन्। तर त्यस प्रकारको गतिविधिले परिवर्तनको निम्ति रगत बगाउने शहीदहरुका परिवारलाई, घाइते, अपाङ्गहरुलाई, बेपत्ता योद्धाका परिवारहरुलाई, जेलनेल र यातनाको जीवन बाँचेका हजारौं कार्यकर्ताहरुलाई, देशको आमूल परिवर्तनलाई एक मात्रै लक्ष्य ठानेर जीवन समर्पण गर्ने लाखौंलाख कार्यकर्ताहरुलाई के अनुभूति भइरहेको छ भन्ने बारेमा हाम्रा सङ्घर्षरत नेताहरुलाई हेक्का छ कि छैन ? देशमा कम्युनिस्टहरूको दुईतिहाइको सरकार बनेपछि जीवनमा आमूल परिवर्तनको आस गरेका जनतालाई कस्तो अनुभूति भएको छ भन्ने कुराको हेक्का छ कि छैन ? यही परिवर्तनको जग्गालाई टेकेर भोलि देशलाई समानता र न्यायको बाटोमा हिडाउनुपर्छ भन्ने कुराको अनुभूति छ कि छैन ? बोल्दाबोल्दै सुसानको भावुक तर चर्को आवाज निक्लिन पो थाल्यो। परपर छरिएका मान्छेहरु पनि दौडेर मञ्चको नजिकै आएर उभिए। सुसान बोल्दै गयो। यदि हेक्का छ भने, अराजकतावादी व्यक्तिवादी तरिकाले होइन। सामूहिक निर्णय र व्यक्तिगत उत्तरदायित्वको वैज्ञानिक बाटोबाट हिडौँ, पार्टीभन्दा गुट ठूलो र गुट भन्दा व्यक्ति ठूलो भन्ने जुन परिस्थिति आज बन्दै गइरहेको छ, त्यसलाई बदलौं र लेनिनवादी संगठनात्मक पद्धतिलाई दरोसँग लागू गरौं। मुख्यतः हाम्रा नेताहरु यो एकतालाई जोगाउन कति चाहनुहुन्छ र चाहनुहुन्न भन्ने प्रश्न आफ्नो ठाउँमा छ। तर यो कुरा प्रष्ट रुपमा भन्न सकिन्छ नेपालमा बनेको दुईतिहाइ बहुमतको कम्युनिष्ट शासनसँग साम्राज्यवादीहरू, विस्तारवादीहरु, देश र संसारभरिका प्रतिक्रियावादीहरु सहमत छैनन् र कुनै पनि तरिकाद्वारा यसलाई असफल पार्न चाहन्छन् भन्ने कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ। व्यक्तिगत वा सामूहिक कमजोरीहरुका कारणले प्राप्त यो सफलतालाई विखण्डन गराउने कुनै पनि नेता व्यक्ति वा समूहले यो पनि लेखेर राख्नुपर्छ कि यो अवस्थाको विखण्डनपछि नेपालमा यो स्तरको सफलता कैंयौं दशकसम्म हाम्रो निम्ति सम्भव हुन दिने छैनन्।

हामीहरु सानो सानो विषयमा विवादित छौं। दुश्मन भने ठूलो कुरामा एक ठाउँमा छ। त्यो हो नेपालमा कम्युिष्टहरुको प्रभावलाई इतिहास बनाइदिने षड्यन्त्र, विषयलाई त्यहाँबाट हेर्न सकियो भने हाम्रा मतान्तरहरु पनि साना देखिन थाल्ने छन्। विभाजन र विखण्डनको भन्दा एकताको महत्वको बोध बढ्दै जानेछ। त्यस्तै होस् भन्ने हामी चाहन्छौं र सारा देशले त्यही चाहिरहेको छ।

पार्टी जीवनका आफ्नै समस्या र जटिलताहरु छन्। ती सबै जटिलताहरु कहीं न कहीं हाम्रो कारणले नै सिर्जना भएका हुन् र हामीले नै बसेर छलफल गर्दा समाधान पनि हुने विषयहरु हुन्। त्यसतर्फ गम्भीर हुन म सबै नेता कमरेडहरूको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु र तपाईंहरु उपस्थित क्रान्तिकारी जनसमुदायलाई इतिहासका धेरै ठूला दुःखकष्टको मूल्यमा आर्जित यो शक्तिलाई छिन्नभिन्न हुन नदिन आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्न आग्रह गर्दछु। आजको यो विशाल उपस्थितिको निम्ति तपाईहरु सबैलाई फेरि एकपल्ट हार्दिक धन्यवाद दिन चाहन्छु।

सुसानको भाषण सिद्धियो। उद्घोषक आएर पहिलेको कुरालाई चिच्चाइचिच्चाई दोहोर्‍याउन थाल्यो। मानिसहरु सलबलाए र आफ्नो घरतिर हिडे। दुईजना बुढा मानिसहरु उक्कालो लाग्दै कुरा गरिरहेको सुनियो। आखिर सुसानले पार्टी र आन्दोलन बाहेक केही चाहना राखेन। पार्टीको अवस्थादेखि साह्रै चिन्तित बनेको रहेछ बिचरा। नफुटे त ठिकै होला, फुटे त सबै जान्छ, यत्रो दुःख गरेर बनाएको पार्टी र आन्दोलन अर्कोले थप्यो।

(आचार्य नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता हुन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्