राष्ट्रसंघ अमेरिकाको कठपुलती हो : भरत दाहाल

  • 266
    Shares
0

पाकिस्तानमा ड्रोन हमलाबाट दिनहुँ दर्जनौं निरपराध पाकिस्तानीहरु मारिँदा राष्ट्रसंघले विरोध गरेको छ ? छैन, किनभने आक्रमण अमेरिकाले गरिरहेको छ। भारतको छत्तिसगढ र तेलंगानामा माओवादीका बहानामा भइरहेको वर्वर दमनका विरुद्धमा त्यहाँका नागरिकहरुको बाँच्न पाउने अधिकारका पक्षमा राष्ट्रसंघ बोलेको छ ? छैन, किनभने सो दमन त्यहाँका आदिबासीहरुको जमिन हड्पेर बहुराष्ट्रिय कम्पनिहरुलाई सुम्पिएको निर्णयलाई कार्यान्वयन गर्नका लागि भइरहेको छ।

यूरो–अमेरिकी गठबन्धनले सिरिया, लिबिया, इराकमा मच्चाइरहेको ताण्डव नाच र इरान तथा उत्तर कोरियाका विरुद्धमा सुरु गरेको उत्तेजनात्मक कार्वाहीका बारेमा राष्ट्रसंघ बोलेको कसैलाई थाहा छ ? छैन, किनभने ति घटनाहरु क्रमशः खाडीको तेल कब्जा गर्ने र चीनको घेराबन्दी गर्ने साम्राज्यवादी षडयन्त्रका परिणामहरु हुन्। नेपालमा दरबार हत्याकाण्ड जस्तो विश्वकै विभत्स घटना हुँदा राष्ट्रसंघले कुनै चासो राख्यो ? राखेन, किनभने सो घटना त्यसका अन्नदाताहरुले घटाएका थिए।

कमजोर देशहरुलाई रासायनिक हतियारहरु राखेको र जनताको दमन गरेको बहानामा महिनैपिच्छे नाकाबन्दीको प्रस्ताव पारित गर्ने राष्ट्रसंघले शक्ति राष्ट्रहरुले थुपारेका घातक परमाणु अस्त्रहरुका विरुद्धमा कहिल्यै नाकाबन्दीको प्रश्न उठाएको छ ? छैन, किनभने त्यसको कुनियत कमजोर देशहरुलाई च्याँपेर साम्राज्यवादीहरुको हात बलियो पार्ने उद्देश्यमा केन्द्रित छ।

आफूले पारित गरेको आदिबासी जनजाति हक सम्बन्धि आइएलओको १६९ धारा कार्यान्वयन गर्न नेपाल जस्ता कमजोर देशहरुलाई धम्काउने त्यसले यही धारा भिटो अधिकार प्राप्त देशहरुले आजसम्म अनुमोदन नगर्दा तिनीहरुलाई कहिल्यै धम्काएको छ ? छैन, किनभने सो धारा कमजोर देशहरुभित्र द्वन्द गराएर साम्राज्यवादीहरुलाई घुस्ने आधार बनाउनका लागि मात्र पारित गरिएको हो। यस्ता सयौं उदाहरणहरु छन्, जसले के सावित गर्दछन् भने राष्ट्रसंघ विश्वका सबै देशहरुमा समान व्यवहारका आधारमा शान्तिका लागि काम गर्ने संस्था नभएर साम्राज्यवादी गुण्डाहरुको संघ हो।

भारत तात्कालिन सोवियत संघको धुरिभित्र रहेको रिसमा काश्मिरमा जनमत संग्रह र आत्मनिर्णयको अधिकारको पक्षमा प्रस्ताव पारित गर्ने त्यसले भारत पश्चिमी धुरिमा मिसिएपछि सो मुद्दा उठाउनै छोडिदियो। इन्दिरा गान्धिलाई तह लगाउन बेलायतमा स्वतन्त्र खालिस्तानको योजना बनाउन सघाएको त्यसले इन्दिरा गान्धिको हत्या सफल भएपछि शिख आन्दोलनलाई तितरवितर पारिदियो।

चीनमा कुनै व्यक्तिले प्रदुषित वायु छोड्दा विश्व समाचार बनाउने त्यसले स्पेन, फ्रान्स, अमेरिका, बेलायत, ग्रिस, साइप्रस आदिमा बेरोजगारीका विरुद्ध दशौं लाखको प्रदर्शनमाथि बर्बर दमन गरिँदा चुइँक्कसम्म गरेन। किनभने ती प्रदर्शनहरु साम्राज्यवादको मजदुरमारा नीतिका विरुद्धमा गरिएका थिए। यस्ता छद्म गुण्डा संस्थाहरुको भूमिकालाई सदैव होसियारिपूर्वक अवलोकन गर्नु पर्दछ।

Comments
Loading...
You might also like