बेइजिङ, २५ माघ। कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म ७ सय २२ पुगेको छ। चीनमा मृत्यु हुनेमध्ये दुई जना विदेशी पनि रहेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन्।
उनीहरुले ६० वर्षीय एक अमेरिकी नागरिकको उहानमा बिहीबार मृत्यु भएको जानकारी दिएपनि अन्य विवरण भने दिएका छैनन्। त्यसैगरी अर्का एक जना ६० वर्षीय नै जापानीजको पनि कोरोना भाइरसकै कारण उहानमै मृत्यु भएको छ। जापानको विदेश मन्त्रालयले घटनाको पुष्टि गरेको समाचारमा जनाइएको छ।
सरकारी अधिकारीहरुका अनुसार थप झण्डै ३५ सय जनामा यस भाइरसको सङ्क्रमण देखिएको छ। कोरोनाका कारण चीन बाहिर भने अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ। उनीहरु दुबै जना चिनियाँ नागरिक नै हुन्। डिसेम्बरको अन्त्यमा चिनियाँ बजार उहानमा पहिलो पटक देखा परेको नयाँ कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएको छ। विश्वका झण्डै ३० देशमा यो भाइरसबाट ग्रसित व्यक्ति फैलिएको छ भने तीन देशमा कुल ३ सय २० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।
कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्र मानिने उहानमा सरकारले शुक्रबार ११ हजार स्वास्थ्यकर्मी थप गरेको छ। देशका अति राम्रा मानिएका आईसियु स्टाफसहितका स्वास्थ्यकर्मीको टोली उहानमा पठाइएको अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुमध्ये तीन हजार जना सघन उपचार कक्षमा काम गर्ने चिकित्सक र नर्स रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका गुओ यानहोङले बताए।