क्लारा जेट्किन : साँढे तीन अर्ब महिलाकी आमा

Klara zetkin1-
सामन्ती, रूढीवादी, निम्न पूँजीवादी विचारहरूको विरूद्ध अहिले पनि संगठित सङ्घर्ष चलिरहेको छ। जेट्किनका विचारहरूले अहिले पनि महिलाहरूलाई घरधन्दा, चुलोचौका, बालबच्चाको लालनपालन आदिमा मात्र सीमित राखेन, परिवारको दायित्वबाट माथि उठेर अधिकार प्राप्तिको आन्दोलनमा होमिन प्रेरित गर्‍यो।
  • 6.1K
    Shares
  • मनहरि तिमिल्सिना

महिला आन्दोलनकी नेता क्लारा जेट्किनको जन्म ५ जुलाई १८५७ का दिन जर्मनीको लिपगिजमा भएको थियो। जेट्किनलाई महिला मुक्ति आन्दोलनकी प्रवर्तक मानिन्छ। उनका २ सन्तान थिए। प्रगतिवादी आन्दोलनमा जेट्किनको योगदान विश्वव्यापी रुपमा स्थापित हुँदै आएको छ। क्लारा जेटकिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको संस्थापक पनि हुन्।

जेट्किन सामान्य परिवारमा जन्मिएकी थिइन्। उनका बाबुआमा दुवै शिक्षण पेशामा आबद्ध थिए। हुने बिरूवाको चिल्लो पात भनेझैं उनी सानै उमेरदेखि मेहेनती र लगनशील स्वभावकी थिइन्। उनी त्यतिकै निडर पनि थिइन्। उनको बाल्यकाल सामान्य रुपमा बित्यो। प्रारम्भिक शिक्षा हासिल गरिसकेपछि उनी शिक्षक बनिन्। परिवारमा चल स्रोत थिएन, त्यसैले आफैले कमाएर उच्च शिक्षा पढ्नुपर्ने बाध्यतामा थिइन् जेट्किन।

जेट्किनले जर्मन नागरिक ओसिपसँग विवाह गरेकी थिइन्। तर, वैवाहिक जीवनले उनको राजनीतिक यात्रा र महिला मुक्ति आन्दोलनमा कुनै नकारात्मक प्रभाव पारेन, जेट्किन नियमितजसो महिलाहरुको मुक्ति र सङ्घर्षको पक्षमा लागिरहिन्। जेट्किनका २ सन्तान पनि थिए।

प्रथम विश्वयुद्ध चरम विन्दुमा पुगेको बेला उनले शान्तिको आवाज उठाएकी थिइन्। शान्तिका लागि सन् १९१५ मा जर्मनीको वोन भन्ने ठाउँमा महिलाहरूको विशाल भेला आयोजना भएको थियो। त्यस भेलामा सहभागी विश्वका अग्रगामी हजारौं महिलाहरूमाझ उनले राखेको शान्ति प्रस्ताव सर्वसम्मत पारित गरिएको थियो।

महिला मुक्ति आन्दोलनको सन्दर्भमा ८ मार्चलाई ऐतिहासिक दिनको रूपमा सम्झने गरिन्छ। उक्त दिनमा विश्वभरिका महिलाहरूले खुसियालीका साथ विभिन्न कार्यक्रमहरू सम्पन्न गर्दछन्। ८ मार्चलाई श्रमजीवी महिलाहरूले मात्र होइन, विभिन्न पेशा, वर्ग, जातजातिका महिलाहरूले पनि आफ्नो चाडको रूपमा मनाउने गर्दछन्।

विश्वभरिका महिलाहरू महिला भएर जन्मिएकै आधारमा भेदभावपूर्ण जीवन जिउन बाध्य भएका छन् । प्राकृतिक रूपमा महिला र पुरूष जन्मजात समान हुन्छन्। यी दुवैको बीचमा समान अस्तित्व र अधिकार पनि समान हुन्छ। तर, पूँजीवादी व्यवस्थाले महिलाहरूको समान अस्तित्वलाई स्वीकार गर्न सकेन। र, महिलाहरूलाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गर्‍यो। जेट्किनको समयसम्म महिलाहरु मतदानको अधिकारबाट समेत बञ्चित थिए।

विश्वभरि नै महिलालाई पूरूषसरह समान अधिकारबाट बञ्चित गर्न पूँजीवादले अथक प्रयत्न गर्‍यो। संविधान, कानून, धर्म, चालचलन, समाज, परिवार, यी सबै परिपाटीहरू पुरूषको पक्षमा निर्माण गरियो र महिलालाई भेदभाव गर्नेगरि शासनको संरचना खडा गरिए। फलस्वरूप महिलाहरू अन्यायमा परे। पूरूषसरह समान अधिकार उपभोग गर्नबाट बञ्चित भए। अन्यायको विरूद्ध आफ्नो स्वतन्त्रता र मुक्तिको खातिर जर्मनी, अमेरिकी लगायतका विश्वभरि नै फरक फरक देशहरूमा महिलाले विभिन्न ढंगले आन्दोलनलाई अगाडि बढाए।

निश्चित समयसम्म महिलाहरूको उक्त आन्दोलन राष्ट्रभित्र मात्र सीमित रह्यो। ती आन्दोलनहरू महिलाहरूले स्वतस्र्फूत रूपमा संगठित गरेको आन्दोलन नै थिए। तर, आन्दोलनको विकासको क्रममा सबै मेहेनतकश श्रमजीवी जनताको क्रान्तिकारी आन्दोलनले पनि साथ दियो र केही देशका सीमाभित्र सीमित आन्दोलनले अन्तर्राष्ट्रिय रूप लिन पुग्यो। सन् १९०७ मा जर्मनीमा महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो। महिला आन्दोलनलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि उक्त सम्मेलन ऐतिहासिक बन्यो। यस प्रकारको महत्वपूर्ण कदम उठाउने नेतृ क्लारा जेट्किन नै थिइन्।

सम्मेलनले महिला आन्दोलनकी नेतृ क्लारा जेटकिनलाई सेक्रेटरीमा चयन गर्‍यो। उक्त सम्मेलनले लैड्डिक भेदभावविना महिलाहरूलाई मताधिकारको प्रस्ताव पास गर्‍यो। १९०८ मार्च ८ का दिन अमेरिकाका गार्मेन्ट फ्याक्ट्रीहरूमा काम गर्ने महिलाहरूले समानताको माग गर्दै जुलुस प्रदर्शन गरेका थिए। १९०८ मार्च ८ कै दिन शिकागो शहर लगायत कैयौं शहरहरूमा महिलालाई दिइने कम तलब, असमान ज्याला, कारखानामा महिलामाथि हुने दुव्र्यवहार आदिको विरूद्ध जुलुश प्रदर्शन गरिएको थियो।

१९१० मा कोपनहेगेनमा महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो। सम्मेलनमा क्लारा जेटकिनले ८ मार्चलाई प्रत्येक वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन प्रस्ताव गरिन्। सम्मेलनले उनको प्रस्तावलाई पास गर्‍यो। यसरी १९११ देखि, ८ मार्च विश्वभरिका महिलाहरूको एकताको प्रतीकको रूपमा चिनिँदै आएको छ।

सयौं वर्ष अगाडि अमेरिका र यूरोप महादेश लगायतका विभिन्न देशहरूमा महिलाहरू जुन माग लिएर सङ्घर्षको मैदानमा आई ती मागहरू पूरा गराएका थिए, त्यही प्रकारका मागहरू नेपाली महिलाहरुले सयौं वर्षपछि पनि उठाउन बाध्य छन्। सामन्ती, रूढीवादी, निम्न पूँजीवादी विचारहरूको विरूद्ध अहिले पनि संगठित सङ्घर्ष चलिरहेको छ। जेट्किनका विचारहरूले अहिले पनि महिलाहरूलाई घरधन्दा, चुलोचौका, बालबच्चाको लालनपालन आदिमा मात्र सीमित राखेन, परिवारको दायित्वबाट माथि उठेर अधिकार प्राप्तिको आन्दोलनमा होमिन प्रेरित गर्‍यो।

जेट्किनले भावनाका दृष्टिले मात्र महिला आन्दोलनको नेतृत्व गरेकी थिइनन्। उनी दार्शनिक र वैचारिक रुपमा समेत त्यत्तिकै शक्तिशाली थिइन्। लेनिन लगायतका कम्युनिष्ट नेताहरुसँग जेट्किनले तिखो वैचारिक बहस गर्थिन्। उनका विचार संसारभरिका महिलाहरुका निम्ति आज पनि पथप्रदर्शक बनिरहेका छन्।

जेट्किन महिला मुक्ति आन्दोलनकी धरोहर हुन्। विश्वभरिका महिलाहरुले उनको योगदानको स्मरण गर्दै आएका छन्। महिला आन्दोलनका विकासमा उनले जुन जग बसालिन, त्यसले उनलाई धर्तीका साँडे तीन अर्ब महिलाहरुको अभिभावक बनायो। उनको साहस, वैचारिक दृष्टिकोण र व्यवहारिक सङ्घर्ष मानव जातिकै लागि अनुपम योगदान मानिन्छ। महिला आन्दोलनकी अगुवा जेट्किनको सन् १९३३ जुन २० का दिन निधन भयो।

आज हामी ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै छौं। यो दिन विश्वभरिका महिला र मानव जातिकै लागि न्याय, समानता र स्वतन्त्रताको प्रतीक हो। प्राप्त अधिकारलाई संस्थागत गर्दै पूर्ण समानताका निम्ति महिला आन्दोलन क्रियाशील रहन सकोस्, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिला दिदीबहिनीहरुमा हार्दिक शुभकामना।