प्रदेश-५ मा एसईई परीक्षाको तयारी पूरा

  • 26
    Shares
0

अस्मिना पाण्डे/बुटवल। माध्यमिक शिक्षा परीक्षा (एसईई) को यस वर्षको परीक्षा चैत ६ गतेदेखि सुरु हुँदै छ। एसईई परीक्षाको तयारी अन्तिम चरणमा पुगेको शिक्षा मन्त्रालयले जनाएको छ। यता प्रदेश ५ को सरकारले पनि माध्यमिक शिक्षा परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। एसईई परीक्षालाई व्यवस्थित र मर्यादित बनाउने गरी तयारी अन्तिम चरणमा पुगेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।

परीक्षा सञ्चालनका लागि प्रदेशका १२ वटै जिल्लामा प्रश्न पत्रको व्यवस्थापन राष्ट्रिय परीक्षा बोर्ड र अन्य व्यवस्थापनको जिम्मा प्रदेश सरकारले गरिरहेको छ। सामाजिक विकास मन्त्री सुदर्शन बरालका अनुसार प्रश्न पत्र परीक्षा बोर्डबाटै आउने छन्। प्रदेशका सबै जिल्लामा केन्द्राध्यक्ष, सह-केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक, कार्यालय सहायक र सुरक्षाकर्मीको व्यवस्थापन प्रदेश सरकारले गरेको छ।

यस वर्ष प्रदेश ५ बाट ८१ हजार ४ सय १ जना विद्यार्थी एसईईमा सहभागी हुँदै छन्। ३ सय २१ परीक्षा केन्द्रबाट प्राविधिक नियमिततर्फ २ हजार १ सय ३१, साधारण नियमिततर्फ ७६ हजार ६ सय १८ र ग्रेड वृद्धिका २ हजार ६ सय ५२ गरी सो सङ्ख्यामा विद्यार्थी सहभागी हुन लागेको मन्त्री बरालले बताए। त्यस्तै, सामुदायिकतर्फ १ हजार ७ विद्यालयका ६० हजार ५ सय ५५ र संस्थागततर्फका ६ सय ६१ विद्यालयका २० हजार ८ सय ४७ विद्यार्थी परीक्षामा सहभागी हुन लागेका छन्।

यस पटकको एसईई परीक्षामा कुल विद्यार्थीमध्ये ९ जना दृष्टिविहीन छात्रछात्रा, १३ जना बहिरा छात्रछात्रा, २ जना शारीरिक अपाङ्गता भएका छात्रछात्रा गरी २४ जना अपाङ्गता भएका विद्यार्थीहरू सहभागी हुन लागेको मन्त्रालयले जनाएको छ।

परीक्षा सञ्चालनका लागि प्रदेश ५ मा कुल १२ हजार ५९ जना जनशक्ति खटाउन लागिएको छ। १२ वटै जिल्लामा केन्द्राअध्यक्ष ३ सय २१, सहायक केन्द्राध्यक्ष ४ सय ११ जना, निरीक्षक ४ हजार ७० जना, परीक्षा सहायक ८ सय १४ जना र सुरक्षाकर्मी ४ हजार ८ सय १५ जना जनशक्ति परिचालन गर्न लागिएको हो।

जिल्ला स्तरमा परीक्षालाई मर्यादित, अनुशासित र व्यवस्थित गर्न प्रमूख जिल्ला अधिकारीको अध्यक्षतामा समिति समेत गठन गरिएको मन्त्रालयले जनाएको छ। परीक्षामा सबैभन्दा बढी रुपन्देहीबाट १७ हजार ४ सय ३० जना र सबैभन्दा कम पूर्व रुकुमबाट १ हजार ७४ जना विद्यार्थी सहभागी हुँदै छन्।

सामाजिक विकास मन्त्रालयले एसईई परीक्षा सञ्चालनका लागि सङ्घीय सरकारबाट सशर्त अनुदानका रूपमा प्राप्त ४ करोड ३९ लाख खर्च लाग्ने अनुमान गरेको छ। परीक्षा चैत १७ गतेसम्म सञ्चालन हुनेछ। प्रदेशमा २०६८ को जन गणना अनुसार ६६/४ प्रतिशत साक्षर छन् भने महिला साक्षरता ५८/३,पुरुष ७५/५ रहेको छ।

Comments
Loading...
You might also like