आठ मार्च उत्पीडित महिलाको दिवस हो : सरिता तिवारी

  • 110
    Shares
0

काठमाडौं, २५ फागुन। आज ८ मार्च, १ सय १० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस। विश्वका महिलाले मुक्तिका लागि गरेको संघर्षको सम्झना गर्ने दिन। हरेक वर्षझैँ यस वर्ष पनि विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदैछ।
सन् २०१० मा डेनमार्कको कोपनहेगनमा भएको समाजवादी श्रमिक महिलाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनपछि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउन थालिएको हो।

नेपालमा भने यो दिवस वि.सं. १९७५ देखि मनाइँदै आइएको छ। दिवसको यस वर्षको अन्तर्राष्ट्रिय नारा समानताको पुस्ताः अन्त्य गरौं हिंसा विभेद र असमानता राष्ट्रिय नारा तय गरी १ सय १० औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइँदैछ। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्शमा रहेर प्रगतिशील साहित्यकार सरिता तिवारीसँग गरिएको कुराकानी।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा के भन्नुहुन्छ ?

यो चाहिँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भनेर सुरु गरिएको हो। जतिबेला यसको सुरुवात भयो, महिला दिवस भनेर मात्र सुरु गरिएको थिएन। संघसँग जोडिएका महिलाहरुको हक अधिकारको विषयमा गरिएको आन्दोलन थियो।महिला दिवस मात्रै भनेर मनाइरहँदा श्रमिक महिला दिवसको जुन मर्म छ, त्यो नै बिर्सन्छौं। त्यसैले श्रमिक महिला दिवसको रुपमा मनाउनु पर्दछ। खासगरी कारखानामा काम गर्ने महिला श्रमिकको समान ज्याला लगायतका विषय थिए। त्यसैले यो आन्दोलनको मर्म बिर्सियौं भने महिला दिवस मनाउनुको खास अर्थ रहँदैन। त्यस अर्थमा त्यसको सम्झनासहित अन्तर्राष्ट्रिय महिला दिवस मनाउनु पर्दछ।

नारी र महिलामा के फरक छ ?

नारी र महिलामा केही फरक छैन, एउटै कुरा हो।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई नारी दिवसको रुपमा पनि प्रचार गरिन्छ, यसलाई तपाई कसरी लिनुहुन्छ ?

पहिले घरबाट बाहिर निस्केर कार्यस्थलमा पुगेका खास गरेर कारखानामा मजदूरको रुपमा काम गर्न पुगेका महिलाहरुले काम गर्ने समय र काम गरेपछिको ज्यालामा बढी फोकस गरेका थिए उनीहरुले। कारखानामा काम गरेका महिलाले यो सँगसँगै समान ज्यालामा काम गर्ने समय, मताधिकारको अधिकार, गर्भवति र सुत्केरी महिलाहरुका मातृत्वजन्य अधिकार लगायतका माग राख्दै आन्दोलन गरेका थिए। र आन्दोलन सफल पनि भयो र आन्दोलन सफल भएको स्मरणमा १९१० देखि आन्दोलन स्थापित भयोे।

अहिले आएर महिलाहरुले काम गर्ने क्षेत्रहरुको स्वरुप धेरै फेरिएका छन्। अहिले पनि कार्यक्षेत्रमा काम गर्ने महिलामाथि धेरै विभेद छन्। ठूला–ठूला कार्यालयदेखि सानो भुइँ तहमा काम गर्ने श्रमिक महिलामाथि विभेद अहिले पनि छ। संरचनात्मक विभेद र हिंसाहरु लामो समयदेखि श्रमिक महिलाहरुले भोग्दै आएका छन्। श्रमिक महिला दिवसमा यी कुराहरुको उठान पनि हुँदै आएको छ।

मार्च ८ अन्ततः सबै वर्गका महिलाहरुको एउटा साझा दिन हो। सबै वर्गका महिलाहरुको उत्पीडनका विरुद्धको प्रतिवद्धताको रुपमा लिन चाहन्छु म। यसका साथै श्रमिक महिला दिवसको इतिहास के थियो भन्ने पनि हामीले सम्झीरहनु पर्दछ र यसको इतिहास नै महिलाहरुको आन्दोलनसँग जोडिएको छ।

मार्च ८ नै श्रमिक महिला दिवसका रुपमा स्थापित हुनुको कारण चाहिँ ?

आन्दोलनको समयमा जुन ठूलो कन्भेन्सन भएको थियो। विश्वभरका महिलाले यो दिनलाई आफ्ना अधिकारको खोजी र विभेद विरुद्ध बोल्ने दिनको रुपमा लिने गरेका छन्। कन्भेन्सन पछिको प्रतिवद्धताको दिन भएको कारणले गर्दा मार्च ८ लाई नै श्रमिक महिला दिवस मनाउन थालिएको हो।

त्यति बेला एउटा देशका लागि मात्र आन्दोलन नभई एकै पटक यूरोपका केही देशहरुमा चलेको आन्दालन थियो। त्यो आन्दोलनमा धेरै महिलाहरुको व्यापक सहभागीता रहेको थियो। त्यही प्रतिबद्धतालाई स्मरण गर्न र आफूलाई फेरि नयाँ ढंगले अगाडि बढाउनका लागि उहाँहरुले संकल्पको दिनको रुपमा मार्च ८ लाई लिनुभयो।

खास गरी समाजवादी आन्दोलनको एउटा हिस्साको रुपमा मार्च ८ को आन्दोलन भएको थियो। समाजवादी आन्दोलन तत्कालीन समयमा कम्युनिष्टहरुले सञ्चालन गरेका थिए। कम्युनिष्टहरुले सञ्चालन गरेको समाजवादी आन्दोलनका सन्दर्भमा कारखानामा काम गर्ने मजदुर महिलाहरुको अधिकारको लागि आन्दोलन चल्दा पाराजेटिम लगायतको सन्दर्भमा यो कुरा भएको थियो। पछि गएर १९४५ मा संयुक्त राष्ट्रसंघ स्थापना भइसके पछाडि यसलाई संयुक्त राष्ट्रसंघले आफनो कार्यक्रमको लागि एडप ग¥यो। र अहिले संयुक्त राष्ट्रसंघ अन्तर्गत संसारभर मनाइन्छ र सँगसगै श्रमिक महिला दिवस भनेर मनाउने नै गरिएको छ।

संयुक्त राष्ट्रसंघले श्रमिक महिला दिवस भन्दैन वोमन्स डे मात्र भन्छ। वोमन्स डे मात्र भन्दा श्रमिक महिलाको आन्दोलन र मर्मलाई पक्रिदैन। संयुक्त राष्ट्रसंघले हरेक वर्ष केही नाराहरु दिन्छ, ती नाराहरु अलिकति अमूर्त खालका हुन्छन्। त्यही नाराको आधारमा श्रमिक महिला दिवस मनाइन्छ। सेलिब्रेशन गर्दा ती नाराहरुले लक्षित वर्गसम्म समेट्छ जस्तो मलाई लाग्दैन। त्यसैले लक्षित वर्गसम्म पुर्‍याउनका लागि हिजो आन्दोलन केका लागि भएको थियो ? कस्का लागि भएको थियो, कसरी भएको थियो ? भन्ने सन्दर्भमा हामीले वोमन्स डे भनेर मात्र सम्झियौं भने आजको आन्दोलनको रुप, दिशा के तय हुन्छ भन्ने लाग्छ।

संसारभरका महिलाहरुले आज वोमन्स डे मनाउने जुन व्यापक रुपमा चर्चा हुन्छ। जसले गर्दा आज महिला दिवस भन्ने भाव आउँछ। आजको दिनलाई एउटा संकलप, प्रतिबद्धताकोे रुपमा लिएर मनाउने गर्दछन्। संगठित भएर केही न केही गर्नु पर्छ भनेर सोच्न बाध्य गराउँछ आजको दिन।

महिला श्रमिकका चुनौति के छन् ?

आलाङकारीक रुपमा मात्र मनाइन्छ कि भन्ने एउटा चिन्ता छ। मार्च ८ लाई एउटा सिम्बोलको रुपमा मात्र लिएर आजको दिन मात्र कार्यक्रम गरेर अर्थ छैन। हामीले हाम्रो जीवन व्यवहारमा नै महिलालाई हेर्ने दृष्टिकोणमा कति परिवर्तन गछौं। जीवन व्यवहारमा त्यो कुरा कति घर्किन्छ। प्रत्येक सचेत वर्गको समान चिन्ता, समान सहभागीता र समान प्रतिवद्धताको खाँचो छ। त्यो कुरा हामीले पूरा गर्नुपर्दछ। यो नै ठूलो चुनौति जस्तो लाग्छ, तर त्यो असम्भव छैन।

Comments
Loading...
You might also like