कोरोना महामारी : मान्छेमाथि प्रकृतिको दण्ड

Manahari Timilsina
प्रकृतिले निश्चित समयसम्म बोक्दछ। तर, सधैं बोक्न सक्दैन। पृथ्वीको पनि आफ्नै भारबहन क्षमता छ। पृथ्वीमा मानिस मात्र एउटा यस्तो जीव हो, जसले प्रकृतिका करोडौं जीवहरुमाथि अत्याचार गरिरहेको छ। पृथ्वी र प्रकृतिको आफ्नै दायित्व हुन्छ, ‘मानिसको अत्याचारबाट ती जीवहरुको जीवन रक्षा गर्नु।’ त्यसका लागि पृथ्वीले बेला बेला आफ्नो भार आफै सन्तुलित गर्दछ।

मनहरि तिमिल्सिना

नोवेल कोरोना भाइरस (कोभिड–१९) कोे संक्रमणबाट आजका दिनसम्म १४ लाख ३२ हजार नागरिक संक्रमित छन्। हालसम्म विश्वको कुनै पनि देश छैन, जुन कोभिड–१९ को महामारीबाट मुक्त होओस्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार १ सय पुगेको छ। तर, यो महामारी यतिमै रोकिने लक्षण देखिँदैन। सिकिस्त बिरामी मानिएका मानिसहरु मर्दा पनि यो संख्या बढेर सवा लाख पुग्नेछ।

यतिमा मात्रै पनि महामारी रोकिने विश्वास गर्न सकिने आधार छैन। हाल देखिएको संक्रमणको अनुपात हेर्दा यसले विश्वका लाखौं मान्छे मर्नसक्ने, करोडौं मानिस संक्रमित हुनसक्ने र अर्बौं मानिस महामारीको सन्त्रासबाट प्रताडित हुनुपर्ने पक्का छ। महामारीले कुनै देश, कुनै जाति, कुनै समुदाय वा कुनै धर्म भन्दैन। बरु, यसले सारा विश्वलाई नै एकपछि अर्को संक्रमित गर्दै गइरहेको छ। अझ रोचक त यो छ कि यसअघिका हैजा, मलेरिया, फ्लू, टाइफाइड, निमोनिया लगायतका महामारीमा बिपन्न वर्गका नागरिकहरु बढी प्रताडित हुन्थे, ज्यान जानेमा उनीहरुकै दर उच्च हुन्थ्यो। तर, कोरोना त्यसभन्दा सापेक्षिक रुपमा फरक देखिएको छ। यसले उच्च वर्गका मान्छेलाई पनि समान रुपमा आक्रमण गरिरहेको छ। यद्यपि, आहार, उद्दार र उपचार नपाएर मर्नेमा गरीबकै संख्या ठूलो छ।

कोरोना भाइरस के हो, यसको संक्रमण कसरी हुन्छ, मानव जातिले यसबाट बच्न के–कस्ता उपाय अपनाउनुपर्छ भन्ने बारेमा विश्व र नेपालमा धेरै बहस भइसकेको छ। वैज्ञानिकहरु कोरोना भाइरसको औषधी र भ्याक्सिन पत्ता लगाउने मृगतृष्णामा अहोरात्र तल्लीन छन्। तर, महामारीको राजनीतिक र सामाजिक कारण के हो, पृथ्वी र मानव जातिबीच कस्तो सम्बन्ध रहन्छ, त्यो सम्बन्धको सीमा भत्किएका कारण यस्ता महामारीबाट मानिस किन प्रताडित हुँदैछन् भन्नेबारे यथेष्ट बहस हुन सकेको छैन। यतातिर गम्भीर अध्ययन र विश्वव्यापी रुपमा सही नीतिको छनोट बिना कोरोनाको औषधी वा भ्याक्सिन पत्ता लगाए पनि मानव जातिले यस प्रकारका दुष्चक्रहरुको घेरा तोड्न सक्ने छैन।

मानिस र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्ध रहन्छ। हाल विश्वमा प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा १७ जना मानिसहरु बस्दछन्। आज पृथ्वीको कुल जनसंख्या ७ अर्ब ७५ करोडको हाराहारीमा छ। तर, क्षेत्रफल भने ५१ करोड रहेको छ। विश्वको जनसंख्या प्रतिसेकेण्ड तीन जनाको दरले बढिरहेको छ। तर, क्षेत्रफल बढ्दैन, यो यथावत रहन्छ। मानव जातिले विकसित आवश्यकता परिपूर्तिका लागि पृथ्वीको अधिकतम् उपयोगमा ध्यान दिँदै आएको छ। तर, पृथ्वीको अधिकतम् उपयोगले निम्त्याउन सक्ने जोखिमबारे विश्वका विकसित मुलूकहरु खासै चिन्तित देखिँदैनन्। बरु, त्यो अधिकतम् भार साना र अविकसित मुलूकहरुले बेहोर्दै आएका छन्।

पारिस्थितिक प्रणाली जीवन र जगत सञ्चालनको सर्वोपरि आधार हो। यसले पृथ्वीका हरेक प्राणी र बनस्पतिहरुको जैविक विविधता, जीवनचक्र र त्यसमाथि सन्तुलन कायम गर्दछ। बढ्दो औद्योगिकरण, रासायनिक हतियारहरुको उत्पादन, कार्वन मनोअक्साइड, मिथाइल लगायतका मानव स्वास्थ्यका लागि अति हानिकारक ग्यासहरुको उत्पादन, विकासका नाममा प्राकृतिक साधन स्रोतमाथि निरन्तर अतिक्रमणजस्ता समस्या आजको पारिस्थितिक प्रणालीका चुनौती छन्। पारिस्थितिक प्रणालीमाथि मानिसद्वारा गरिएको आक्रमणको प्रतिविम्बका रुपमा यस्ता प्रकारका महामारीहरु निम्तिने गरेका छन्।

पूँजीवादी शासकहरु प्रकृतिको बेहिसाब दोहन गरिरहेका छन्। नाफा र प्रतिष्ठित राष्ट्र निर्माणको होडमा गरिएका यस्ता ज्यादतीलाई प्रकृतिले निश्चित समयसम्म बोक्दछ। तर, सधैं बोक्न सक्दैन। पृथ्वीको पनि आफ्नै भारबहन क्षमता छ। पृथ्वीमा मानिस मात्र एउटा यस्तो जीव हो, जसले प्रकृतिका करोडौं जीवहरुमाथि अत्याचार गरिरहेको छ। पृथ्वी र प्रकृतिको आफ्नै दायित्व हुन्छ, ‘मानिसको अत्याचारबाट ती जीवहरुको जीवन रक्षा गर्नु।’ त्यसका लागि पृथ्वीले बेला बेला आफ्नो भार आफै सन्तुलित गर्दछ।

पूँजीवादी शिविर मात्र होइन, कम्युनिष्टहरुसमेत विकास र समृद्धिको जगमा न्याय, समानता र स्वतन्त्रता प्राप्तिको अभिष्ट राख्दछन्। साम्यवादमा प्रकृतिसँग संघर्ष उनीहरुको मुलमन्त्र नै हो। तर, प्रकृतिमाथि साम्यवादले पनि विजय हासिल गर्न सक्दैन। साम्यवादीहरु पनि प्रकृतिको नियम मान्न विवश छन्। उनीहरुले पृथ्वीको निश्चित भारमाथि आक्रमण गरे प्रकृतिका लागि त्यो अमान्य हुन्छ। उसले आफ्नो सन्तुलन आफैं कायम गर्दछ।

आजकल विद्यालयका पाठ्यपुस्तकहरुमा जैविक विविधता, जलवायु अनुकूलन लगायतका विषयमा औपचारिक रुपमै अध्ययन गराउन थालिएको छ। यो राम्रो कुरा हो। तर, तापक्रम र विकसित प्रकृतिअनुरुप अनुकूलित हुनुभन्दा पारिस्थितिक प्रणालीका नियम बुझ्ने, त्यसलाई हृदयदेखि आत्मसात गर्ने र पृथ्वीका सबै जीव तथा बनस्पतिहरुको जीवन रक्षाको शिक्षा दिने कुरा महत्वपूर्ण हुन्छ। जलवायु अनुकूलनको अर्थ रोग लागेपछि के औषधी खाने भन्ने शिक्षा हो। तर, पारिस्थितिक प्रणालीका नियम बुझ्ने र त्यसलाई मान्ने कुरा रोग लाग्नै नदिने शिक्षा हो। तसर्थ, हाम्रो जोड अनुकूलनमा भन्दा प्रकृति संरक्षण र यसको विविधताको जगेर्नातिर केन्द्रित हुन जरुरी छ।

आज विश्व भूमण्डलीकृत छ। प्रविधि, विकास र सञ्चार मात्र होइन, महामारी पनि भूमण्डलीकृत हुन्छ भन्ने तथ्य कोरोना भाइरस (कोभिड–१९) ले पुष्टि गरेको छ। यसको अर्थ पर्यावरण संरक्षणको कुरा साना र अविकसित मुलूकले गरेर मात्र पूर्ण हुन सक्दैन। यसका लागि ठूला र विकसित मुलूकहरु सबैभन्दा बढी जिम्मेवार हुन जरुरी छ। प्रकृतिमाथि ठूलो क्षेत्रफल र ठूलो पैमानामा हुने अतिक्रमण र ठूलो मात्रामा उत्पादन गरिने विशाक्त ग्यासहरुले साना–ठूला सबै मुलूकलाई जोखिमको चक्रब्यूहमा फसाउँछ।

आज कोरोना महामारी विश्वभरि फैलिएको छ। सारा विश्व नै लकडाउनको अवस्थामा छ। तर, अमेरिकाले अहिलेसम्म औपचारिक रुपमा लकडाउनको घोषणा गरेको छैन। अनौपचारिक स्रोतले उल्लेख गरेअनुसार अर्थतन्त्र चलायमान राखेर विश्वशक्तिको ताज यथावत राख्ने भोकले अमेरिका एकपछि अर्को कोरोनाको दुष्चक्रमा फसिरहेको छ। अमेरिकाले आफ्नो अर्थतन्त्रमा आउने गिरावटलाई रोक्न गरेको राष्ट्रिय स्वार्थले आज विश्वका बाँकी मुलूकहरुमा पनि जोखिमको मात्रा बढ्दै गएको छ। यसले पुष्टि गर्छ, ‘प्रकृतिको संरक्षण र महामारीको नियन्त्रणमा सबैभन्दा ठूलो हात विकसित र ठूला मुलूकहरुकै हुन्छ।’

प्रकृतिको अनियन्त्रित दोहन नै आजको मूख्य समस्या हो। विश्वमा जति पनि महामारी आएका छन्, तिनीहरुले जनसंख्यालाई सन्तुलनमा ल्याएर मात्र विश्राम लिएका छन्। बढ्दो जनसंख्या बृद्धिदर मानिसका लागि मात्र नभएर प्रकृतिका लागि पनि चुनौतीको विषय बन्दै गएको छ। पौने आठ अर्ब जनसंख्या प्रकृतिको भारबहन क्षमताका दृष्टिले अधिक हो। यसले पृथ्वीका अन्य प्राणी र बनस्पतिको जीवनचक्रमा समेत प्रतिकूलता थपिरहेको छ। जबसम्म मान्छेले प्रकृतिलाई चुनौती दिइरहन्छ, तबसम्म प्रकृतिले पनि मानिसको अत्याचार रोक्न प्रकृतिजन्य कदमहरु चाल्दछ। हामी अहिले त्यही परिस्थितिमा छौं।

अबको विश्वले कसरी सोच्छ, भावी दिनमा मानव जातिको भविष्य पनि त्यही हुनेछ। अब विश्वका अति विकसित र विकसित मुलूकहरु नाफा र प्रतिष्ठालाई मूख्य बनाउँछन् कि प्रकृतिको सन्तुलन र मानव जातिको रक्षाको सवाल ? संयुक्त राष्ट्रसंघमा आवद्ध राष्ट्रहरुले कोरोना महामारीबाट शिक्षा लिन्छन् कि यसको औषधी पत्ता लगाएर फेरि बेलगाम प्रकृतिमाथि दोहन गर्छन् ? यसमा नै मानव जातिको अबको भविष्य निर्धारित हुनेछ।

twitter : @manaharisamar