राष्ट्रिय व्यवसायि महासंघद्वारा शुक्रबारदेखि चरणवद्ध आन्दोलन गर्ने चेतावनी

nepal 1
  • 12
    Shares

काठमाडौं, २४ असार। नेपाल राष्ट्रिय व्यवसायि महासंघले सरकारविरुद्ध चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।कोभिड–१९ बाट प्रभावित उद्योगी व्यवसायिका लागि सरकारले राहत प्याकेज नल्याएको भन्दै चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो। बुधबार महासंघले पत्रकार सम्मेलन गरी त्यस्तो चेतावनी दिएको हो।

लकडाउनका कारण समस्यामा परेका उद्योगी व्यवसायिलाई सम्बोधन गर्न राहत प्याकेज ल्याउनुपर्ने महासंघले माग गरेको हो। महासंघका अध्यक्ष नरेश कटुवालले उद्योग कलकारखाना र व्यापार व्यवसाय ठप्प भएकाले समस्या बढेको भन्दै सरकारले उचित सम्बोधन नगरे शुक्रबारदेखि चरणवद्ध आन्दोलनमा जाने जानकारी दिए।

लकडाउन अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट गर्नुपर्ने, किस्ता र ब्याज तिर्ने समय एक वर्ष पछाडि सार्नुपर्ने, पुर्नकर्जा कोषमा साना उद्योगी व्यवसायीहरुको पहुँच सुनिश्चित गर्नुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम हुनुपर्ने, स्प्रेड रेट ३ दशमलव ५ प्रतिशत हुनुपर्ने, लकडाउन अवधिको व्यवसायीक घरभाडा छुट दिनुपर्ने लगायत महासंघको माग रहेको छ।

लकडाउनको कारण उद्योग व्यवसायमा परेको असर अध्ययन गर्न निजी क्षेत्र सम्मिलित समन्वय समिति गठन गर्नुपर्नेमा महासंघको जोड रहेको छ। व्यवसायीहरुले राखेका मागहरु पूरा गर्न दबाब दिन पहिलो चरणमा शुक्रबार काठमाडौंको माइतिघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न लागिएको अध्यक्ष कटुवालले जानकारी दिएका हुन्।

त्यसपछि पनि सरकार गम्भीर नबने चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेर अगाडि बढ्ने उनले बताए। उनले कोरोना महामारीका कारण प्रभावित भएका उद्योग, कलकारखाना र व्यवसायलाई बचाउनुपर्ने अवस्थामा सरकारको ध्यान अन्तै मोडिएकाले पनि आफूहरु आन्दोलित हुनु परेको बताए।

Click here to post a comment

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्