पेट्रोलियम पदार्थको मूल्य बढ्यो, निगम अझै घाटामा छ : प्रवक्ता उपाध्याय

fuel-price
लोकपाटी न्यूज
0 Shares

काठमाडौं, १७ श्रावण। सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको हो।

आयल निगमको स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। उपाध्यायका अनुसार समायोजन गरिएको मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल, डिजेल र मट्टितेलमा २ रुपैंयाँका दरले मूल्य समायोजन भएको हो। सरकारले अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यसूचिअनुसार प्रत्येक महिना अंग्रेजी तारेखअनुसार १ र १६ गते मूल्य समायोजन गर्दै आएको छ।

अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०४ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैंयाँ पर्ने निगमले जनाएको छ। मूल्य समायोजन गर्दा पनि निगमले पेट्रोलमा प्रतिलिटर १.२३ रुपैंयाँ र डिजेलमा प्रतिलिटर १.१५ रुपैंयाँ घाटा बेहोरिरहेको निगमको विज्ञप्तिमा उल्लेख छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिँदै जाँदा नेपाल आयल निगम पेट्रोलियम पदार्थको मूल्य बढाउनैपर्ने दवावमा पुगेको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार निगमले आगामी अगस्ट १ मा भारतीय आयल निगमबाट प्राप्त हुने मूल्य सूचिको आधारमा निगमले मूल्य समायोजन गरेको हो।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएसँगै भारतमा डिजेलको भाउ बढेर प्रतिलिटर ८२ भारतीय रुपैंयाँ नजिक पुगेको छ। पछिल्लो दुई दिन यता भारतमा डिजेलको भाउ एकपछि अर्को उकालो लाग्दै गएपछि त्यसको प्रत्यक्ष असर नेपालमा पर्न थालेको छ। त्यही कारण नेपाल आयल निगमले पेट्रोल, डिजेल लगायतका पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपरेको निगममा प्रवक्ता विनितमणि उपाध्यायले बताए।

Press realese NOC

प्रवक्ता उपाध्यायका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिनु, भारतसँग सीमा जोडिएका नाकामा मूल्यान्तर बढेर जानु, निगमको घाटा एकपछि अर्को बढेर जानु, विगतमा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा पनि नेपालले स्वचालित मूल्य समायोजन नगर्नु जस्ता कारणले निगम मूल्य बढाउनुपरेको हो। यद्यपि, यो मूल्यवृद्धि आकस्मिक नभएर स्वचालित मूल्य प्रणालीको नियमितता भएको उपाध्यायको तर्क छ।

प्रवक्ता उपाध्यायले भने, ‘‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ, त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्छ। अर्कोतिर भारतसँग सीमा जोडिएका नाकामा मूल्यान्तर बढेको छ। यसले निगमको घाटा दिनप्रतिदिन बढिरहेको छ। विगतमा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा पनि हामीले नेपाली उपभोक्ताको भावनालाई मध्यनजर गर्दै मूल्य समायोजन गर्न सकेनौं, त्यसको प्रत्यक्ष प्रभाव अहिले देखिएको छ।’’

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण विगतमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको थियो। तर, कोरोना महामारी र लकडाउनबाट विश्व क्रमशः पूरानै लयमा फर्किन थालेसँगै अन्तर्राष्ट्रिय बजारमा भारी मूल्यवृद्धि हुन थालेको हो। त्यसै आधारमा निगमले शनिबार मूल्य समायोजन गरेको हो।

के हो स्वचालित मूल्य प्रणाली ?

संसदीय अध्ययन समितिले दिएको सुझावअनुसार २०७१ असोज १३ गतेदेखि नेपालमा स्वचालित मूल्य प्रणाली लागू भएको हो। यस प्रणालीअनुसार अन्तर्राष्ट्रिय बजारबाट आयात हुने वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार समायोजन हुन थालेको छ। यसले आपूर्ति र वितरणलाई व्यवस्थित गर्नेछ। नेपाल आयल निगमले भारतीय आयल निगम (आइओसी) सँग रक्सौलबाट खरिद गर्ने मूल्य अनुसार नै नेपालमा मूल्य समायोजन गर्दै आएको थियो। अहिले मोतिहारी अमलेखगञ्जसम्म सिधै पाइपलाइनबाट इन्धन ल्याउन शुरु भइसकेको छ। आइओसीले पनि अन्तर्राष्ट्रिय मूल्यअनुसार नै नेपालाई बेच्ने तेलको मूल्य निर्धारण गर्छ। तर पनि रक्सौलमा निगमले जतिमा किन्यो, त्यतिमा नै उपभोक्ताले भने किन्न नपाउने विगतमा समस्या रहेकामा हाल उपभोक्तलाई क्रमशः लाभ हुने प्रकारको नीति अवलम्बन गरिएको छ।

नेपाल आयल निगमले निगमको ऋण, व्याज, ऋण भुक्तानी, ढुवानी भाडा, विमा, प्रशासनिक खर्च, प्राविधिक नोक्सानी, कमिसनको नाफा वा घाटा, निगमको नाफा मार्जिन र घाटा मार्जिन राखेर नेपालमा मूल्य तय गर्छ। नेपालमा भारतबाट प्रमुख आयातित वस्तुमध्ये पेट्रोलियम पदार्थ पनि हो।

कसरी हुन्छ मूल्य घटबढ ?

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्या घटबढ हुँदा भारतीय आयल निगम (आइओसी) ले हरेक अंग्रेजी महिनाको १ र १६ गते नेपालमा नयाँ मूल्य दर पठाउने गर्छ। यही मूल्यको आधारमा आयल निगमले मूल्य समायोजन गर्दै आएको छ। तर, गत जुलाइ १६ मा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपालले मूल्य समायोजन गरेको थिएन।

स्वचालित मूल्य प्रणाली लागू भएपछि नेपाल आयल निगमले एक मूल्य स्थिरीकरण कोष खडा गरेको छ। अन्तरष्ट्रिय बजारमा मुल्य वृद्धि भएको अवस्थामा सोही कोषबाट रकम प्रयोग गरी उपभोक्तालाई सो भन्दा कम मूल्यमै तेल उपलब्ध गराउने ध्येय उक्त कोष खडा गरिएको देखिन्छ। कोषमा जाने उक्त रकममा पुनर्विचार गरी मूल्य समायोजन गरिनेछ। सरकारले उपयुक्त निर्णय र राहत दिने स्थितिमा आएमा निगमलाई सो कोषमा रकम बचत नहुने गरी पनि मूल्य निर्धारण हुन सक्नेछ।

विगतमा आफुखुशी पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको नेपाल आयल निगमले वि.सं. २०७१ सालमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि जारी गरी कार्यान्वयनमा ल्याएको छ। त्यसयता सोही कार्यविधिलाई आधार बनाएर मूल्य समायोजन हुदैँ आएको छ। अन्तर्राष्ट्रिय बजारमा आधारित भएर निगमले महिनाको २ पटक १ र १६ तारिखमा मूल्य समायोजन गर्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्