गुरुङ जातिको संस्कार कस्ताे हुन्छ ?

tamu sankar
  • 17
    Shares

प्रत्येक जातजातिमा आ–आफ्नै प्रकारका संस्कारहरू हुन्छन्। संस्कार रूपी रूखको जरा प्रत्येक व्यक्तिका जीवनका हर व्यवहारमा गाँसिएका हुन्छन्। गुरुङहरूको जन्म संस्कारमा शिशुको जन्म हुनासाथ समाजको अनुभवी महिलाद्वारा सालनाल काटी शिशुलाई मनतातो पानीले नुहाई, तोरीको तेल लगाई सफा कपडामा बेरेर सुताइन्छ।

शिशु जन्मेको तेस्रो दिन पैंडी (ज्योतिषी) बोलाई शिशुको नामकरण गरिन्छ। अर्थात् शिशुको नाम राखिन्छ। शिशु जन्मेको छैंठौ दिनको साँझ नवजात शिशुको भविष्य राम्रो होस् भनी शुभमंगल कामनाको लागि थालीमा एक माना चामल, रूपैयाँ पैसा भेटी राखी थाल माथिनै दियो बालेर शिशुको सिरानीमा राखिन्छ।

बालकको जन्म भएको नौ दिन या एघार दिनमा न्वारान वा नामकरण हुन्छ। बालिकाको सात दिनमा न्वारान गर्ने गरिन्छ। सात माता र नौ पूर्खाको प्रतीकको रूपमा यसलाई लिइने हुनाले बालबालिकाहरूको न्वारानमा पनि सात तथा नौ दिनलाई शुभ मानिएको हो। यस दिनमा चोख्याउने मात्र नभई क्यब्रीबाट स्वस्ति – शान्ति पूजा (था सों प्रिहसों) गर्ने गरिन्छ। त्यसै दिनमा पैंडीले तीन दिनमा जुराएको नाम पुनः सुनाइन्छ। बालबालिकालाई दोष–दोषालो तथा दुरात्माको कुदृष्टि नपरोस् भनी छोरा भए नौसरोमा नौ गाठो, छोरी भए सात सरो धागो सात गाँठो पारेर बेसारमा मोलेर तमू भाषामा स्याइस्याइ भन्दै पवित्र धागो (प्हैरू) शिशुको घाँटीमा, दुवै हातको नाडीमा, दुवै खुट्टाको कल्लीमा र कम्मरमा बाँधिदिने चलन छ।

अन्य जातजातिमा भए जस्तै गुरुङ जातिमा पनि पास्नीको संस्कार छ। छोरा भए ६ महिना र छोरी भए ५ महिनामा पास्नी अन्नप्रासन (भात खुवाई) संस्कार गरिन्छ। जेठा छोरा जन्मेर हुर्केपछि ३, ५, ७, ९ वा ११ यी विजोर वर्षहरूमध्ये कुनै एक वर्षमा पुटपुटे संस्कार गरिन्छ। जेठा छोराको मात्र पुटपुटे गरिन्छ। यस अवसरमा पुटपुटे गरिने बालकको घरमा मावली गाउँको नाच नाचिन्छ। भोलिपल्ट विहान शुभसाइतमा बालकलाई टीका लगाएर शुभआशिष दिइन्छ।

सबै छोराहरूको चूडाकर्म संस्कार गरिन्छ। ३, ५, ७, ९, ११ र १५ यी विजोर वर्षहरूमा छोराहरूको चूडाकर्म गरिन्छ। चूडाकर्म गर्दा गाईको गोठ वा गोरुको भकारोमा लगेर कपाल काटिन्छ। यदि गाईको गोठ र गोरुको भकारो छैन भने आगनको छेउमा टाट्नो बनाइन्छ। त्यस ठाउँमा गाई वा गोरुको गोबर पनि राखिन्छ । टाट्नोमा गाईको दाम्लो पनि बाँधेर राखिएको हुन्छ। टाट्नोमा बाँधेको गाईको दाम्लोले चूडाकर्म गर्ने बालकको घाँटीमा बाँधिन्छ। बालकको मुखमा नुनको ढिका पनि राखिन्छ। यसरी पशु जसरी व्यहार गरेपछि शुभसाइतमा त्यस वर्षको सगुनी पुरुषले मोहडापट्टिबाट कैँचीले बालकको कपाल काटिदिन्छन्।

गुरुङ जातिमा छोरीहरूको वर्गबाट विजोर वर्गमा पैंडीले शुभसाइत जुराई गुन्यू – चोली दिने चलन छ। यस कर्मका लागि छोरीको उमेर वर्गबाट गनेर सात वर्ष, नौ वर्ष वा एघार वर्ष उत्तम मानिन्छ। घोडा (तलो) वर्ग र सर्प (सप्री) वर्गको नौ वर्ष रिमा वर्ग (क्र घीं) परेको हुनाले यी दुई वर्गको नौ वर्षमा गर्न हुँदैन भनिन्छ। यसरी शुभसाइत निकालेर मात्र तमु गुरुङ चेलीहरूलाई गुन्यू – चोली दिने परम्परा रहेको छ। यसलाई बालिकाबाट वयस्क भएको सङ्केतको रूपमा लिइने र सामाजिक–सांस्कृतिक रूपले जिम्मेवारी लिन सक्षम मानिन्छ।

हरेक जातजातिका आ–आफ्नै प्रकारका विवाह पद्धति रहेझैं, गुरुङ जातिमा पनि विवाह पद्धतिमा आफ्नै विशेषता छन्। विवाहमा पहिले चार–सोह्र जातको मुख्य हुन्थ्यो, चार र सोह्र जात बीच सामान्यतः विवाह गरिदैन्थ्यो भने अहिले त्यस्तो सामाजिक बन्धनबाट गुरुङ समाज मुक्त छ। अतः विवाह खानपान आदि संस्कारका लागि उच–नीचको भेदभाव छैन। अहिले विवाहका लागि मुख्य तत्व हो थर – गोत्र पृथक हुनु। तमु जातिको विवाह गर्ने विधिहरूमा मगनी विवाह, प्रेम विवाह, जबर्जस्ती विवाह, जारी विवाह, विधुर र विधवा विवाहलाई उल्लेख गर्न सकिन्छ।

परिवारको कुनै सदस्यको मृत्युले परिवार, आफन्त र समाजमा अशोच, त्रास र चिन्ताको वातावरणको सिर्जना गरिदिन्छ। साथै मृत्युले परिवार, नाताकुटुम्बमा अपवित्र ल्याउने विश्वास पनि गरिन्छ। त्यसैले प्राय सबै धर्मवलम्बीहरूमा अन्त्येष्टि संस्कार धार्मिक विधिविधान पूरा गरी सतर्कता साथ सम्पन्न गर्ने गरिन्छ। तमुहरू धार्मिक दृष्टिकोणबाट बोन, बौद्ध तथा हिन्दु धर्ममा विश्वास गर्ने गर्छन्। हालको परिप्रेक्षमा तमूहरूले अन्त्येष्टि संस्कार पनि बोन, बौद्ध तथा हिन्दू तीन धार्मिक विधि विधान अनुसार सम्पन्न गर्ने गरेको पाइन्छ।

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्