तमु जातिका मूख्य चाडपर्व के-के हुन् ?

Tamu Losar Festival

सिल्दो नाल्दो पूजा तमु गुरुङहरू गाउँबस्तीको सुरक्षा तथा कुशलमंगलका लागि सिल्दो नाल्दो (सिमे भूमे) पूजा गर्दछन्। यसलाई कतै सिल्दो नाल्दो, कतै सब्तो सिप्तो र कतै साची सिल्दो भनी फरक फरक नाम दिइएको पाइन्छ। यी सबै नामहरूको अर्थ हो – “प्रकृतिको मालिक देवता”।

गाउँ घरका पशुगोठहरू चैतदेखि न्यानो हुने हुनाले गाउँभन्दा माथि लेकमा लैजाने र कात्तिक लागेपछि बेंसीतर्फ लैजाने हुनाले पनि यस पर्वलाई उँभौली र उँधौली पूजा भन्ने गरिन्छ। लेकतर्फ जाँदा उँभौली पूजा गरिन्छ भने बेंसीतर्फ झर्दा उँधौली पूजा गर्ने गरिन्छ। चैत र कात्तिक महिनामा गरिने सिल्दो नाल्दो पूजा गाउँमा महामारी आएमा पनि गर्ने परम्परा छ।

प्ह्रो वापा (स्वस्ति–शान्ति गर्ने) :– चैतको पहिलो मंगलबार र साउनको पहिलो मंगलबार शुक्लपक्षमा दोष–दोषालो शान्त होस् भनेर स्वस्ति शान्ति गर्ने गरिन्छ। गाउँमा पशु पन्छीलाई कुनै किसिमको रोगव्याध र बाली–नालीमा कीरा फट्याङ्ग्रा नलागोस् भनी प्ह्रो फाल्ने चलन गुरुङ समाजमा छ

ल्होसार (ल्होछार) नेपालका अनेकौं चाडपर्वहरूमध्ये ल्होसार एक हो। मंगोल परिवारका एक ठूलो जनसमुदाय यथा गुरुङ, तामाङ, शेर्पा आदिद्वारा समान उत्साहले यो चाडलाई प्रत्येक वर्ष मनाइदै आएको छ। नयाँ वर्षको आगमनलाई खुशियालीका साथ स्वागत अभिवादन गर्नु नै यो पर्वको विशेष महत्व मानिन्छ। प्रस्तुत सम्वत् फेरिने ल्होसार पर्वको प्रारम्भ आजभन्दा झण्डै पाँच, छ हजार वर्षअघि तिब्बत एवं चीनका विभिन्न भागहरूमा विकास भएको नयाँ वर्ष वा सम्वत् परम्परा हो।

भारतीय उप–महादेशमा प्रचारित वर्षहरूमा विभिन्न ग्रहहरूलाई राजा एवं मन्त्रीको रूपमा उल्लेख गरिएझैं चिनियाँ पात्रोमा प्रत्येक वर्षहरूलाई विभिन्न पशुहरूद्वारा प्रतिनिधित्व गराइएको छ। चीनीयाँ वर्षहरूमा प्रतिनिधित्व गराइएका विभिन्न बाह्र पशुपंछीहरूमा १. मुसा, २. गोरु, ३, बाघ, ४. बिरालो, ५. गरुड, ६. नाग (सर्प), ७. चरा, ८. कुकुर, ९. बँदेल, १०. घोडा, ११. बाँदर, १२. भेंडा पर्दछन्। प्रत्येक वर्षको गणना गर्दै जाँदा बाह्रौं वर्षको अनन्तर फेरि पहिलो वर्षकै जनावरको नामले वर्षको संज्ञा दिइन्छ। यसरी बाह्र वर्षको एक चक्र मानिएर यसलाई ल्होखार्लो (वर्षचक्र) भन्ने गरिएको छ।

साथै तमु समुदायले आफ्नै परम्पराका गैडु, गैरु पूजा, प्होतें लबा (गाउँ पूजा), फैलु (कुल पूजा), तु देउता, थासो वापा (स्वस्ति शान्ति गर्ने) आदि लगायत बैशाख पूर्णिमा, श्रीपंचमी, साउने संक्रान्ति, नाग पञ्चमी, जनै पूर्णिमा, वडा दसैं, तिहार, माघे संक्रान्ति, चैते दशैं जस्ता हिन्दूहरूले मनाउने पर्वहरू पनि हार्दिकता साथ मनाउने गर्दछन् ।

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्