तमु जातिको लोक संस्कृतिभित्र के-के पर्दछन् ?

tamu gurung dance
लाेकपाटी न्यूज
0 Shares

रोधीँ तमुहरूको विशुद्ध पहिचान हो। यो तमु समाजको मौलिक परम्परामा आधारित सामाजिक संस्था हो। सयौं वर्ष अगाडि तमु सभ्यताको केन्द्र क्होल सोंथरबाट रोधीँ सभ्यता र संस्कृति सुरु भएको थियो। जनश्रुति अनुसार गुरुङ भाषा ‘रोव’ को अर्थ सुन्ने र ‘धी’ को अर्थ घर जनाउँदछ।

‘रोव’ र ‘धी’ लाई सन्धि गर्दा ‘रोवधी’ वा सुत्ने घर हुन्छ। यही रोव धी भन्ने शब्द अपभ्रंश भई रोधी भएको भन्ने भनाइ छ। अर्को जनश्रुति अनुसार ‘रु’ को अर्थ धागो ‘लब’ को अर्थ कात्ने र ‘धी’ को अर्थ घर हो। रुघी वा धागो कात्ने घरबाट विकसित हुँदै रोधी हुन आएको हो भनिन्छ।

गुरुङ महिलाहरू स्थानीय इलाकामा पुवा भनिने, अलो नाम गरेको सिस्नुपाट र भेडाबाख्राको ऊनबाट थैला, भाङग्रा र राडोपाखी, उत्पादन गर्ने गर्छन्। रोधीको संरचना र औचित्यका बारेमा भन्नु पर्दा एकै उमेरका दौँतरी युवा युवतीहरू एकै ठाउँमा भेला भएर सीप, कला, ज्ञान र सामूहिक व्यवहार सिक्ने स्थानको नाम रोधी हो।

रोधी प्राचीन समयमा विद्यमान सामाजिक मूल्य र मान्यतामा आधारित विश्वास तथा सीप सिक्ने पाठशाला हो। यो लोक संस्कृतिलाई जीवन्त तुल्याउने, फुर्सद मिलाएर गाउने, बजाउने, नाच्ने, रमाइलो गर्ने थलो हो। रोधी गुरुङहरूको पारस्परिक सहयोग सद्भाव र अनुशासनको व्यावहारिक ज्ञान आर्जन गर्ने विद्यालय हो।

रोधीँ गुरुङ जातिको प्राचीन संस्कृतिमध्ये एक हो। यो गुरुङ जातिको आफ्नै महत्व बोकेको संस्कृतिभित्र पर्न आउँदछ। गुरुङ भाषामा रो – बुन्नु, सुन्नु, धीँ – घर भन्ने हुन आउँछ। गुरुङहरू कृषि व्यवसायी भएका हुनाले दिन भर खेतवारीमा काम गरेर साँझ खाना खाई सकेपछि दिनभरको थकाइ मेटाउनको लागि रोधीँ घरमा जम्मा हुन्छन् र भलाकुसारी तथा गीत गाउने, बजाउने र नाच्ने गरी मनोरञ्जन गरेर दिनभरको थकाइ मेटाउँछन्।

अर्का थरी आफूहरूले लगाउने कपडा बुनेर तैयार पारेर प्रयोग गर्ने, अरूलाई दिने गर्दछन्। यसैले रोधीँ अर्थात् बुन्ने घर, आधुनिक भाषामा सिलाइ बुनाई केन्द्र भन्न सकिन्छ। त्यहाँ सिलाइ बुनाई सिकाउने र उत्पादन गर्ने गरिन्छ। गुरुङ समाजमा हरेक गाउँमा एक एक रोधीँ घर हुने गर्दछ। त्यो रोधीँ घर अति नै अनुशासित र कडा निगरानीका साथ बूढा पाकाहरूले संरक्षण र सम्वद्र्धन गरेर राखिएको हुन्छ।

घाटुनाच गुरुङ जातिको एउटा आफ्नै विशेषताले भरिपूर्ण संस्कृति हो। हिमचुली, वरचुली, देवचुली आदिको आराधना नगरी घाटु जाग्दैन। यो घाँटीबाटै एक्लै सुर झिक्ने राग (गीत) भएकाले एक अर्थमा यसलाई घाटु भनिएको हो भनिन्छ। धार्मिक एवं सांस्कृतिक भावनाले ओतप्रोत रहेको घाटुनाच गुरुङ समाजको जीवन्त संस्कृति हो। यसमा तत्कालीन सामाजिकता एवं ऐतिहासिकता पनि छिपेको छ।

त्यसैले यो राष्ट्रिय संस्कृतिमा दरिनयोग्य छ। कुनै स्वाभिमानी नेपालीले आफ्नो राष्ट्रिय संस्कृतिको नमुना कतै प्रस्तुत गर्नु परेमा घाटुनाच निर्धक्क अगाडि सार्न सक्दछ। घाटु दुई प्रकारका छन्, सती घाटु र बाह्रमासे घाटु। सती घाटुको विधि विधान अलि चर्को छ। यो जुन समयमा पनि नचाउनु हुँदैन। यसको एउटा निश्चित अवधि वा समय हुन्छ। तर बाह्रमासे घाटु जहिले पनि जहाँ पनि आयोजना गर्न सकिन्छ।

गुरुङ जातिमा प्रचलित यो पृथक किसिमको नाच हो सोरठी। नृत्यको कथा वस्तु सात जना श्रीमती भएका निःसन्तान प्राचीनकालीन एक जना राजा र उनका रानीहरूको सेरोफेरोमा केन्द्रित रहेको छ। कथामा सातवटी रानीमध्येकी कान्छी रानीबाट छोरी पाएकोमा अन्य सातवटी रानीले ईष्र्या गर्दा जन्मेकी छोरीलाई मार्ने षडयन्त्र यस गीतिकथाको मुख्य कथाबस्तु हो।

बालिकालाई षडयन्त्रपूर्वक खोलामा फालि दिन्छन्। तर ती बालिकालाई माझिले फेला पार्छ। अन्तमा षडयन्त्र पर्दाफास हुन्छ र आमा छोरीको पुनर्मिलन हुन्छ भने दोषीहरू सजायका भागिदार हुन्छन्। यो नृत्य दसैं र तिहारको बीचमा १६ दिनसम्म नाच्ने गरिन्छ।

गुरुङ जातिमा प्रचलित यो फरक पहिचान भएको नाचमध्येको एउटा नाच हो मारुनी। यो साउनमा सुरु भएर पुषसम्म नाच्ने गरिन्छ। यस नाचमा हिन्दु देवीदेवताहरूलाई विभिन्न फूलहरू चढाएर पूजा आराधना गर्ने गरिन्छ। ती देवीहरू मध्येकी विद्याकी देवी सरस्वती प्रमुख देवी हुन्।

नाचको अन्तमा सरस्वतीको पूजा आधारना गरेर देवीबाट आशीर्वाद पाएको अभिनय गरी टुङ्ग्याइन्छ। परम्परागत भेषभूषामा नर्तकहरूले शरीर अनौठो तर भद्र पाराले मर्काउँदै नाच्ने गर्छन्। उपस्थित अन्य मानिस गीत गाउने, मादल बजाउने गर्छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्