इरान–अमेरिका द्वन्द र यसकाे विश्वव्यापी असर

  • 432
    Shares
0
  • डा. ऋषिराज अधिकारी, परराष्ट्रविद

गत हप्ता अमेरिकी ड्रोन आक्रमणमा परी वगदादमा भ्रमण गरिराखेका इरानका शक्तिशाली वरिष्ठ जनरल कासम सुलेमानीको हत्या भयो। यी सुलेमानी अमेरिकाका एक प्रमुख शत्रु भएको र इरानी जनताका एक हिरो रहेको तथ्य बाहिर आएको छ। उनलाई अमेरिकाले आफ्नो हितविपरीत जनता र सम्पत्ति नष्ट गर्दै आएको दोषारोपण गर्दै पहिलेदेखि नै तारो बनाइरहेको तथ्य पनि बाहिर आएको छ।

मूल रुपमा यमेनी हुद्घी विद्रोहीलाई सवलीकरण गरेको, वगदादमा अमेरीकी दुतावासमाथि आक्रमण गराएको, लेवनानको हिजवुल समूहलाई सहयोग पुर्‍याएको आदि, अमेरिकी विरोधी क्रियाकलापमा सुलेमानीको प्रमुख हात रहेको अमेरिकाको आरोप छ। तर, यो भनाइलाई इजरायल, साउदी अरेबिया बाहेक अन्य देशले पत्याई नरहेको स्थिति छ। सन् ९० को दशकमा गल्फ लडाई शुरु गर्दा त्यसताकाका अमेरिकी रक्षामन्त्री पावेलको इराकसँग सामूहिक बिनासका अस्त्रहरु रहेको झुठ्ठा प्रतिवेदनको साहरा लिएको तथ्य कसैले बिर्सेका छैनन्।

सुलेमानीमाथिको आक्रमण एक सुनियोजित गैरन्यायिक र राजनीतिक हत्या भएको तथ्यलाई कसैले सन्देह नगरे हुन्छ। अमेरिकाले विश्वव्यापी “दादाको” कर्तव्य निभाएको छ। सन् ८० को दशकमा पनामाका राष्ट्रपति मानुयल नेरोगालाई आक्रमण गरी राजधानीबाटै पक्रेर अमेरिका ल्याई मुद्दा चलाएको उदाहरण पनि अझै ताजै छ।

अमेरिकाको यस जोखिमपूर्ण कारबाहीको इरानले भर्त्सना गर्दै यसको कडा रुपमा प्रतिवाद गर्ने भनेको छ। उता राष्ट्रपति ट्रम्पले इरानलाई चेतावनी दिँदै फेरि अमेरिकी जनता र सम्पत्तिमा जाइलागेमा इरानका ५२ स्थान, जसमध्ये धेरैजसो ऐतिहासिक सांस्कृतिक केन्द्रहरु रहेको बुझिएको छ, त्यसमा एकैपटक आक्रमण गर्ने चेतावनी दिएका छन्। यस बारेमा संसारभरबाट भर्त्सना भइराखेको छ। ट्रम्पले यी ५२ स्थानहरुलाई एक संकेतको रुपमा लिएका हुन्। यसको पछाडि १९७९ नोभेम्वरदेखि १९८१ को सुरुसम्म ४४४ दिन इरानियन इस्लामिक क्रान्तिकारी विद्यार्थीले अमेरिकी दूतावासका ५२ जना कर्मचारीलाई दूतावासमै बन्दी बनाएका थिए।

उता इरानले ट्रम्पलाई कार्वाही गर्नेलाई ९ अर्ब डलर पुरस्कार दिने घोषणा गरेको छ। यसरी यी दुई देशको वाक युद्घ चलिरहँदा विश्वव्यापी रुपमा मानिसहरु त्रसित भएका छन्। युद्घको उन्माद चढेको अमेरिका र खासगरी राष्ट्रपतीय चुनावी वर्ष भएकाले ट्रम्पले यो घटनालाई आफूले पाउने विषेश फाइदा (बोनस) का रुपमा हेरेको हुनुपर्दछ। किनकि प्रायः बहुसंख्यक अमेरिकीहरु इरानलाई सजाय दिएको मन पराउँछन्। यस परिघटनाबाट युद्घ चर्केमा युद्घको सेरोफेरोमा फस्टाउने अमेरिकी अर्थतन्त्रलाई टेको लाग्ने समेत अर्थ्याइएको छ।

हालको अमेरिकी आक्रमणले युद्घको रुप लिएमा भारत, चीन लगायत खाडी मुलूकहरुको अर्थतन्त्रलाई ठूलो नकारात्मक असर पर्नेछ। यसले तेल उत्पादक र निर्यातकर्ता देशहरुमाथि भीषण युद्घको भूमरि मडारिने सम्भावना छ। एकातिर साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स् र इजिप्टले अमेरिकाको साथ दिनेछन् भने इरानतिर रसिया, टर्की र इराक रहने छन्। चीनको यसमा खासै एकपक्ष नलाग्ने देखिन्छ। चीनले अमेरिकालाई खासै बिच्काउन गाह्रो छ, किनकि उसले ट्रिलियन डलर बढीकोे फण्ड अमेरिकालाई ऋण दिएको छ। आफ्नो सामान बेच्नका लागि भए पनि चीनले अमेरिकाको अर्थतन्त्र बलियो भएको हेर्न चाहन्छ। भारतले इरानबाट तेलको परिपूर्ति गर्दछ। इरानमा समस्या चर्किदै जाँदा भारतको अर्थतन्त्रमा यसको नकारात्मक असर तुरुन्त पर्न जान्छ। तेल आपूर्तिमा अड्चन र बैदेशिक रोजगारीमा गएका जनताको सम्भावित भित्रिइरहेको विप्रेषणमाथिको व्यावधानले भारतीय सरकार र समाज आक्रान्त हुने सम्भावना छ।

यस अमेरिकी–इरान झगडाको असर नेपालमा सर्वव्यापी रहने छ। हाम्रा करीव २० लाख नेपाली युवाहरु खाडी मुलूकमा बैदेशिक रोजगारीमा छन्। कुनै पनि नकारात्मक घटनाको सोझो असर नेपालको अर्थतन्त्रमा पर्नेछ। भारतसँग गाँसिएको हाम्रो अर्थतन्त्र यसै पनि कमजोर हुनेछ। वार्षिक रुपमा भित्रिरहेको करीव ६ अर्ब डलरको विप्रेषण (रेमिटेन्स) आउन समस्या पर्नासाथै हाम्रो पूरा अर्थतन्त्र डग्मगाउने सम्भावना छ। इराक लगायतका गल्फ राष्ट्रहरुबाट २० लाख कामदारहरु फर्कंदा अर्थतन्त्रका साथै ठूलो असर सामाजिक विकृति र विसङ्गतिमा पर्नेछ। पहिले नै बेरोजगारीमा जकडिएको देश २० लाख कामदारहरु अपर्झट थपिन गएमा राष्ट्रमा ठूलो आर्थिक, सामाजिक र राजनीतिक संकट आइपर्ने छ।

नेपाललाई चिन्ताको अर्को विषय हो आफ्ना देशवासीहरु गल्फ र अन्य युद्घको जोखिम रहेका देशमा काम गरिरहेकोमा उनीहरुको दोहोरो आक्रमणमा परी मृत्यु हुने जोखिम। अर्को नकारात्मक असर नेपालले पर्यटक गुमाउनुपर्ने छ। पर्यटन पनि नेपालको अर्थतन्त्रको एक प्रमूख अंग हो। खासगरी सन् २०२० लाई तामझामका साथ नेपाल भ्रमण वर्षका रुपमा मनाई २० लाखभन्दा बढी पर्यटक नेपाल भित्राउने कार्यक्रम रहेको योजना सफल नहुने सम्भावना बढेर गएको छ। यसरी यस इरान–अमेरिका युद्घले सर्वत्र रुपमा नेपाललाई आर्थिक, सामाजिक र राजनीतिक संकटमा पार्ने देखिन्छ।

सुलेमानीको हत्याको बदला लिन र आफ्नो जनताबीच राष्ट्रहितमा क्रियाशील भएको देखाउन इरानले फौजी कार्वाही गर्ने प्रायः सबैले अवश्यम्भावी देखेकै बेला आज इरानले इराकमा अवस्थित अरबिल र अल–असद फौजी अड्डामा दर्जनौ अन्तरदेशीय बलास्टिक मिसाइलले आक्रमण गरी सुलेमानीको हत्याको बदला लिइसकेको भनाइ अगाडि सारेको छ। यस परिस्थितिलाई ट्रम्पले सही रुपमा विवेचना गरी हाल आफूले इरानमाथि थप आक्रमण नगर्ने तर आर्थिक नाकाबन्दी अझ व्यापक गर्ने निर्णय लिएका छन्।

यो निर्णय ट्रम्पको सुझबुझपूर्ण कदमको रुपमा लिन सकिन्छ। आफूले १० घुस्सा हानेकोमा इरानले १ घुस्सा मात्र हानी बदला लिएको आत्मरतिमा रहेकोमा फेरि अमेरिकाले नयाँ आक्रमण सुरु नगर्दासम्म मध्यपूर्वमा युद्घको कालो बादल मडारिइरहनेछ। आशा गरौं, दुवै पक्षमा विवेकले काम गरोस्।

Comments
Loading...
You might also like