काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लोकपाटी न्यूज
0 Shares

काठमाडौं, २४ साउन। काठमाडौं उपत्यकामा पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ। सरकारले विनातयारी ‘लकडाउन’ खुलाएको घोषणा गरेपछि काठमाडौं भित्रिनेको संख्या बढ्न थाल्यो र सँगै सक्रमितको संख्या पनि थपिँदै गएको हो।

संक्रमणले भयावह रुप लिन थालिरहेको बेला केही समय उपत्यका ‘सिल’ गर्न केही विज्ञहरुले सुझाव दिएपनि केन्द्र र स्थानीय सरकार भने संक्रमण भएको ठाउँमा मात्र सिल गर्ने नीति लिएर अघि बढेको छ।

पछिल्लो १७ दिनको आँकडा हेर्दा काठमाडौं उपत्यकाका करिब ७०० जनामा कोरोना संक्रमण देखिएको छ भने हालसम्म करिब एक हजारको हाराहारीमा संक्रमित पुष्टि भइसकेका छन्। यो संख्याले उपत्यका संक्रमणको उच्च जोखिम अर्थात ‘रेड जोन’मा भएको विज्ञहरुको मतलाई बल र्पुयाउने देखिन्छ।

लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डसमेत पालना नगरेको देखिन्छ। यसले पनि जोखिम बढाएको छ।
त्यसो त सरकारले साउन ६ गते १२० दिन लामो लकडाउन अन्त्य गर्दा संक्रमितको संख्या १७ हजार ९९४ थियो।

त्यसपछि दुई साताको अवधिमा शनिबार आएर यो संख्या २२ हजार ५९२ पुगेको छ भने ७३ जनाको मृत्यु भएको छ। यसपटक सरकार कोरोना संक्रमण रोकथामको विकल्प लकडाउनमात्र नभएको भन्दै अन्य विकल्पतर्फ अग्रसर देखिन्छ।

साउन २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विज्ञहरुसँग छलफल गर्दा केही विज्ञहरुले उपत्यका १५ दिनसम्म पूर्णरुपमा लकडाउन गर्न सुझाव दिएका थिए। संक्रमितको संख्या बढिरहेपनि सरकार भने तत्काल देशव्यापी लकडाउन नगर्ने पक्षमा देखिएको छ।

संक्रमणको अवस्थाअनुसार स्थानीय प्रशासनहरुले नै आवश्यक निर्णय गर्ने स्थिति यसपटक देखिएको छ। संक्रमण बढी देखिएका क्षेत्रहरुका स्थानीय सरकारले निषेधाज्ञासमेत जारी गरिरहेका छन्।

कोरोनाभाइरसको जोखिम बढ्दै गएपछि उपत्यकामा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लागू हुनेगरी दुई हप्ताका लागि अत्यावश्यक सेवामात्र सञ्चालन गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्