‘अब एक्लाएक्लै भेटवार्ताको अर्थ छैन, बैठकबाट निकास खोजौँ’

Prachanda Photo
लाेकपाटी न्यूज

काठमाडौं, १३ कार्तिक। दश दिनदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच संवाद हुन सकेको छैन। तर, दुबैजनाको सन्देश आदान प्रदान भने भइरहेको छ।

अर्थमन्त्रीसमेत रहेका नेकपा महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका नेता सुवास नेम्बाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखेरेलमार्फत् सन्देश आदान प्रदान चलिरहेको छ।

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले बिहीबार बिहान प्रचण्ड निवास पुगेर प्रधानमन्त्री ओलीसँग वार्ता गर्नका लागि पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँग आग्रह गरेका छन्। प्रचण्डसँगको भेटवार्तामा तीनैजनाले ओलीले विगतको सहमति कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाएका स्रोतको भनाइ छ।

पौडेल, नेम्बाङ र पोखरेललाई अध्यक्ष प्रचण्डले पार्टीको बैठकबाट निकास खोज्नुपर्ने बताएका छन्। स्रोतका अनुसार प्रचण्डले पोखरेलसँग भने, ‘अब एक्लाएक्लै भेटवार्ताको अर्थ छैन, बैठकबाट निकास खोजौँ। पार्टीमा रअ प्रकरणदेखि पर्सासम्मका घटनाले जनतामा राम्रो सन्देश गएको छैन । अब बैठकबाट निकास खोज्नुपर्छ।’