आज दशैंको आठौं दिन : महाअष्टमी पर्व मनाइँदै

mahagauri_TvzbIX3itr_-_Edited_BubnSyHyBg
लाेकपाटी न्यूज

काठमाडौं, ८ असोज। नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा–आराधना गरिँदैछ। महागौरी भगवती दुर्गाको आठौं स्वरूप हो। अघिल्लो दिन आराधना गरिने कालरात्रिको विपरीत महागौरी गोरो वर्णकी र शान्त स्वरूपकी छिन्। शिवकी शक्ति महागौरीलाई शाम्भवी पनि भनिन्छ।

साँढेमा बसेकी यिनले एक हातमा त्रिशुल र अर्को हातमा डमरु लिएकी छिन्। अरु दुई हातले अभय र शान्त मुद्रा प्रदर्शन गरेकी छिन्। देवीको आराधनाका लागि नवरात्रको अष्टमी विशेष मानिएको छ। यो दिन मध्यरातमा दशैंघर तथा शक्तिपीठमा ‘कालरात्रि’ गरिन्छ। आफ्ना परम्परामा ग्राह्य पशुहरूको बलिसहित विशेष पूजा आराधना गरिन्छ।

महाष्टमीमा महाकालीको विशेष पूजा हुन्छ। भैरवहरूको विशेष पूजा पनि यही दिन हुन्छ। तान्त्रिक विधानअनुसार शस्त्रअस्त्र (हातहतियार)को पूजा गर्ने चलन पनि छ। नवरात्रका दिन नसक्नेले यो दिन दुर्गा सप्तशती पूरै पाठ गर्छन्।

आजैका दिन राति कालरात्रि मनाइन्छ। कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले बताए।

आजका दिन काठमाण्डौ उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, बिजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायत मन्दिरमा पनि भीड लाग्ने गरेकामा यसवर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण विधिपूजा मात्रै हुनेछ।

यस्तै नुवाकोटका जाल्पामाई र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभ्रेपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायत देशभरका विभिन्न शक्तिपीठमा पनि यसवर्ष विधिपूजा मात्रै हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्