उत्तरआधुनिकतावाद र मार्क्सवादी सौन्दर्यशास्त्र

Kishor Manaswi
किशोर मनश्वी

सौन्दर्यशास्त्र

सौन्दर्यशास्त्रको इतिहास दर्शनशास्त्रको इतिहाससँग अभिन्न रुपमा गाँसिएको छ। सौन्दर्यशास्त्रलाई कसैले सुन्दरको शास्त्र त कसैले सौन्दर्य चेतना वा अनुभूतिको शास्त्र भनेर परिभाषित गरेका छन्। आदर्शवादी कोणबाट दिइएका कुनै पनि परिभाषाहरुले सौन्दर्यशास्त्रको वास्तविक अर्थलाई प्रष्ट्याउन सकेका छैनन्। मार्क्सवादले मात्र सौन्दर्यशास्त्रलाई विज्ञानको रुपमा परिभाषित गर्दै स्थापित परिभाषा दिएको छ।

मार्क्सवादका अनुसार प्रकृति, जीवनजगत र कलामा सुन्दरको अध्ययन गर्ने विज्ञानलाई सौन्दर्यशास्त्र भनिन्छ। जीवन र जगतलाई सौन्दर्यात्मक ढंगले आत्मसातीकरण गर्ने नियम र सौन्दर्यका नियमानुसार सिर्जना गरिएका कार्यको सार र रुपलाई सौन्दर्यशास्त्रले नै अभिव्यक्त गर्दछ। यसले यथार्थसँग मानिसको सम्बन्धको उजागर गर्दछ।

१. सौन्दर्यको उत्पत्ति

 सौन्दर्यको स्रोत मानवीय श्रम हो, सौन्दर्यको जन्म मानवीय श्रममूलक गतिविधिका विचबाट हुन्छ। आत्म र वस्तुको बीच सम्बन्ध स्थापित गर्ने कार्यमा मानवीय श्रम शक्तिको महत्वपूर्ण भूमिका हुन्छ। श्रमशक्ति त्यो मानवीय उर्जा हो, जसले आत्म र वस्तुको पशुवत् सम्बन्धलाई समाप्त पार्दै मानवीय सम्बन्ध कायम गर्ने आधार तयार पार्दछ।

 पहिलो अवस्थामा मानिसका भौतिक आवश्यकताको परिपूर्ति गर्ने क्षमता प्रमुख र सांस्कृतिक आवश्यकता पूरा गर्ने क्षमता गौँण रुपमा सन्निहित रहेको हुन्छ।

 दोस्रो अवस्थामा जब प्रकृतिको मानविकरणको प्रक्रिया उच्च स्तरमा विकसित हुँदै जान्छ, त्यो बेला मानिसमा सांस्कृतिक आवश्यकता परिपूर्ति गर्ने क्षमताको विकासको साथै सौन्दर्यपरक वस्तु अर्थात् कलाको पनि विकास हुँदै जान्छ। यसरी श्रमशक्तिले आत्म र वस्तुका बीचको सम्बन्धलाई सौन्दर्यको उत्पत्ति प्रक्रियासँग जोड्ने काम गर्दछ।

२. सौन्दर्यपरक आदर्श

 सौन्दर्यमूलक आवश्यकता आत्मगत पक्ष हो भने सौन्दर्यमूलक गतिविधि वस्तुगत पक्ष हो। त्यस्तै कलामूलक आवश्यकता आत्मगत र कलामूलक गतिविधि वस्तुगत पक्षअन्तर्गत पर्दछन्। त्यसैगरी सौन्दर्यपरक आदर्श आत्मगत र सौन्दर्यपरक यथार्थ वस्तुगत हुन्छन्। यसप्रकार वस्तुवगत र आत्मगत पक्षका बिच द्वन्दात्मक एकत्व हुन्छ। सौन्दर्यपरक आदर्श सौन्दर्यमूलक आवश्यकताको सर्वोच्व अभिव्यक्ति हो।

 सौन्दर्यपरक आवश्यकता मानिसका अनेकौँ सौन्दर्यमूलक गतिविधिहरुमा प्रकट हुन्छ। सौन्दर्यमूलक आवश्यकता तथा गतिविधिको घनिभूत अभिव्यक्ति कलामुलक आवश्यकता तथा कलाका विभिन्न रुपहरुमा प्रकट हुने गर्दछ।

 सौन्दर्यपरक आदर्श मानवीय स्वतन्त्रता, मुक्ति र प्रर्णतामा आधारित रहेको छ। सौन्दर्यपरक आदर्शले यथार्थमा अभिव्यक्त हुन खोज्दछ। यो अभिव्यक्ति सौन्दर्यमूलक तथा कालमूल गतिविधिहरुमा देखा पर्दछ।

३. सौन्दर्यानुभूति

 वस्तु र आत्मको एकत्वमा आधारित छ। सौन्दर्यानुभूतिको सृष्टि एकातिर सौन्दर्यपरक यथार्थ परिघटना वा, कलाजस्ता वस्तुगत पक्ष र अर्कोतिर त्यसलाई ग्रहण गर्नसक्ने आत्मिक क्षमताको द्वन्दात्मक एकत्वका बिचबाट हुन्छ।

 सौन्दर्यानुभूति संवेदनात्मक स्तरमा मात्र होइन, बौद्धिक र भावनात्मक स्तरमा पनि हुने गर्दछ।

 प्रेम, घृणा, हाँसो, आँसु, उत्साह, अनुत्साह, आश्चर्य–विभत्स, वीरता–कायरता, आशा–निराशाजस्ता मनोभावहरुको सौन्दर्यानुभूतिका क्षेत्रमा विशेष महत्व हुन्छ। वर्गसमाजमा यी सबै मनोभावनाहरु वर्गीय हुने गर्दछन्।

४. सौन्दर्यमूल्य

 जुन चीजमा मानिसको सौन्दर्यपरक आवश्यकताको परिपूर्ति गर्ने क्षमता छ। त्यसैमा सौन्दर्यमूल्य सन्निहित रहेको हुन्छ। सौन्दर्यमूल्य आत्म र वस्तुको द्वन्दात्मक एकत्वमा आधारित हुन्छ। सुन्दरवस्तुले आत्ममा सुन्दरचेतना जागृत गराउने क्षमता राख्दछ। सौन्दर्यमूल्यअन्तर्गत उत्कृष्ट जीवनमूल्य पर्दछ।

५. यथार्थलाई बुझ्ने र बदल्ने प्रश्न

 यथार्थलाई सौन्दर्यात्मक ढंगले आत्मसात गर्ने र सौन्दर्यको मान्यताअनुसार नयाँ यथार्थको निर्माण गर्ने काम पनि आत्म र वस्तुको द्वन्दात्मक सम्बन्धमा आधारित रहेको छ। जेहाउ लि र जेने कवेलले मार्क्सको सौन्दर्यको नियमसम्बन्धी मान्यतामाथि ध्यान दिँदै भन्छन् – सौन्दर्यलाई आत्म र वस्तुको केवल वस्तुगत यथार्थ र आत्मगत व्यवहारको अन्तरकृयाको चेतनाको रुपमा प्रस्तुत गर्न सकिन्छ। मानिसले सौन्दर्यको नियमअनुसार पनि वस्तुको रचना गर्दछ भन्ने वाक्यलाई उदृत गरिसकेपछि दुवै सौन्दर्यशास्त्रीहरु भन्छन्। त्यसैले भन्ने शब्दले आत्म र वस्तुको एकरुपतालाई सङ्केत गर्दछ। किनभने मानवजाति उद्धेश्यको आन्तरिक मापसँग सम्बन्धित रही आत्माको व्यवहारका रुपमा प्रकृतिको वस्तुगत नियमअनुसार उत्पादनमा भाग लिन समर्थ छ। यो त्यसैले आफ्ना आत्मगत आवश्यकताहरुको परिपूर्तिका लागि प्राकृतिक वस्तुहरुको नियमअनुसार वस्तुगत जगतलाई रुपान्तरण गर्न समर्थ छ। रुपान्तरित जगतको रुप सौन्दर्य हो र त्यसैले मानिसले सौन्दर्यको नियम अनुसार वस्तुको रचना गर्दछ ।

सामान्य सौन्दर्यशास्त्र – कलात्मक समालोचना र रसास्वादन।

विशिष्ट सौन्दर्यशास्त्र – संगीत, फिल्म, नाटक, नृत्य, लेखनत्रकला, प्लाष्टिक कला।

सजावटको सौन्दर्यशास्त्र – बगैँचा, पार्क, वातावरण, भेषभूषा, आभूषण तथा सौन्दर्य प्रसाधन।

वैज्ञानिक तथा प्राविधिक सौन्दर्यशास्त्र – समय, दिशा, गति, ध्वनि तथा प्रकाशका समस्याहरु र औद्योगिक डिजाइन।

सामाजिक सौन्दर्यशास्त्र – सामाजिक जीवन, सामाजिक संरचना, संस्कृति तथा रितिरिवाज।

शैक्षिक सौन्दर्यशास्त्र – नैतिक, बौद्धिक तथा शारीरिक शिक्षाका सौन्दर्यपरक समस्याहरु र कलामा शिक्षाको समस्या।

यो वर्गीकरण कति सही र वैज्ञानिक छ, त्यो छलफल र अध्ययनको विषय हो। तर के कुरा सत्य हो भने सौन्दर्यशास्त्रको यो वर्गीकरण सौन्दर्यको सार्वभौमिकता, सामान्यता, विशिष्टता तथा अतिविशिष्टता र तिनमा आधारित नियमहरुलाई बुझ्न र अध्ययनलाई अगाडी बढाउन पक्कै पनि राम्रो मद्धत पुर्‍याउन सक्दछ।

नेपालमा युद्ध सौन्दर्य

नेपालमा सामन्तवादी, साम्राज्यवादी शोषण र दमनको अन्त्य गरी जनगणतन्त्रको स्थापना गर्ने उद्देश्यले २०५२ फागुन १ गतेबाट जनयुद्धको थालनी भएको थियो। रणनीतिक रक्षा, सन्तुलन र प्रत्याक्रमणका चरणहरु पार गर्दै अहिले अग्रगामी समाज रुपान्तरणका लागि यसले शान्तिपूर्ण संघर्षका विविध रुपहरुलाई अपनाइरहेको छ। जनयुद्धकै जगमा टेकेर जनआन्दोलनको विकास भएको हो। नेपाली समाजविकासको इतिहासमा जनयुद्ध एउटा यस्तो विशिष्ट घटना हो, यसले नयाँ यथार्थको जन्म गराएको छ। नयाँ यथार्थको परिवेशमा सौन्दर्यपरक अनुभूतिहरु, रुचिहरु, मूल्याङ्कनहरु, अनुभवहरु, विचारहरु र आदर्शहरुले वस्तुगत जीवनप्रक्रिया तथा सम्बन्धको क्रममा विशिष्ट रुप लिएका छन्। नयाँ सौन्दर्यवोधका साथै यथार्थसँग मानिसको कलात्मक सम्बन्धको व्याख्या, विश्लेषण र संश्लेषण गर्न नयाँ सौन्दर्य चेतनाको जरुरी पर्दछ। परम्परागत जडचेतनाले वस्तुगत यथार्थको नवीन पक्षमाथि प्रकाश पार्न सक्दैन।

पूरानो जिर्ण संसारको ध्वंश गरेर नविन संसारको निर्माण गर्न उद्यत मानिस पूरानो चेतनामा रहिरहन सक्दैन। जनयुद्धको सौन्दर्यशास्त्र यही नयाँ सौन्दर्यचेतनाबाट आलोकित भएको छ। अर्थात् नयाँ चेतना र जनयुद्धको सौन्दर्यशास्त्रले एकले अर्कोलाई समाहित गर्छन्। जनयुद्धको सौन्दर्यशास्त्रले आम रुपमा मार्क्सवादी सौन्दर्यशास्त्रले गर्ने काम नै गर्दछ। विशिष्ट रुपमा जनयुद्धको सौन्दर्यशास्त्रीय अध्ययन गर्दछ। अर्थात् त्यसका सुरुप र कुरुप पक्षको विश्लेषण र अध्ययन गर्दछ।

महान जनयुद्धको बीचबाट जुन सौन्दर्यशास्त्र विकसित हुँदै आएको छ, त्यो वर्ग संघर्ष, जनआन्दोलन, वर्गयुद्ध र क्रान्तिको सौन्दर्यशास्त्र हो। यो नेपाली सौन्दर्य चिन्तनको क्षेत्रमा विद्यमान सामन्ती अभिजात्यवाद, बुर्जुवा आधुनिकतावाद, उत्तर आधुनिकतावाद र संशोधनवादका विरुद्ध परिलक्षित रहेको छ। यसले सौन्दर्य चिन्तनको क्षेत्रमा नवीनता, मौलिकता, सिर्जनशिलता, विद्रोह र क्रान्तिकारी रुपान्तरणको पक्षपोषण गरेको छ। अर्को शब्दमा भन्नुपर्दा जनयुद्धको सौन्दर्यशास्त्र विद्रोह र परिवर्तनको सौन्दर्यशास्त्र हो। यो अग्रगामी रुपान्तरणको सौन्दर्यशास्त्र हो। यो जडता र कुपमण्डुकता विरुद्धको विद्रोह हो। यसभित्र ध्वंश र निर्माण अनि आतंक र आनन्दका आवेगहरु समाहित भएका छन्। यसले कलामा विद्यमान सौन्दर्यको मात्र अध्ययन गर्दैन। सामाजिक जीवनका हरेक क्षेत्रमा विद्यमान सौन्दर्य अनि मानवीकृत प्रकृतिको पनि अध्ययन गर्दछ।

(क) कला–साहित्य

मानव जीवनको इतिहास सुदूरकालसम्म जीवित राख्ने एक मात्र साधन साहित्य कला हो। आजभन्दा पाँच हजार वर्ष पूर्वको समाजलाई चियाएर हेर्न र पढ्न, बुभ्mन हामीले साहित्य र कलाबाट मात्र सक्छौँ, साहित्य र कलाको उत्पादनको उपयोग अरु पक्षमा झैँ यो पक्षमा पनि समाजले गर्छ, गरिरहेको छ। कला केवल शोख र आनन्दको विषय मात्र होइन, त्यो आम जनजीविकाको विषय पनि हो भन्ने पनि गरिन्छ। तर बुर्जुवा कलावादीहरुले कलाको मूल्य, महत्व र उत्पादकत्वको अवमूल्यन गरिरहेको पनि हामी देखिरहेका छौँ।

हरेक चीजलाई मालमा फेर्ने र नाफा घाटामा तौलने पुँजीवादले यसलाई पनि क्रय–विक्रयको दर्जामा पुर्‍याएको छ। त्यसैले त अहिले पद, पुरस्कार, प्रतिदान, प्रकाशन, प्रतिबन्ध आदिका माध्यमले साहित्यकार र कलाकारलाई राज्य सत्ताले आफ्नो अधिनमा उपयोग गर्छ। साहित्य रचना प्रक्रियालाई हस्तक्षेप गर्छ। आफ्नो भाट र चाटुकार बनाउँछ। आजीविका दिन्छ, प्रतिष्ठानमा जागिरबाट आफ्नो अनुकलको साधनमा परिणत गर्छ। साहित्यकलाको सामाजिक सम्बन्धको यो पाटो कार्य–कारण सम्बन्धका हिसाबले कम महत्वको छैन। आज साहित्य र कला सत्ता र राजनीतिका अंगममा विकसित हुँदै गएका छन्। यसर्थ कलाकार वा, लेखक पनि सामाजिक राजनीतिका परोक्ष नायक बन्दै गएका छन्। कलाको माध्यमबाट नेतृत्वको जिम्मेवारी निर्वाह गर्नुसम्म विकसित हुनु साहित्य र कलाको व्यक्तिवादी उपलब्धी हो। फलतः एउटै लेखक एउटा संस्थाझैँ संगठनझैँ हानी हुन्छ। नेपालमा पनि यस्तो देखिएको छ। पहिले गण–गोत्र समाज, दास समाजमा कलाकार साहित्यकार सामाजिक सम्पत्ति थिए।

(ख) कलासाहित्यमा वर्गीय चरित्र

वर्गीय समाजमा कला र साहित्यको पनि वर्गीय चरित्र हुन्छ। यो मार्क्सवादको आधारभूत प्रस्तावना हो। कलाकृतिहरु समाजको वर्गसंरचना तथा वर्गहितको परिणामस्वरुप उत्पन्न वर्गीय मनोविज्ञान जस्ता मध्यवर्ति सम्बन्धसूत्रमाथि निर्भर हुन्छन्। सचेत वा अवचेतनरुपमा कलाकृतिमा रचनाकारले प्रतिनिधित्व गर्ने वर्गको मनोविज्ञान प्रतिविम्वित भएको हुन्छ। रचनाकारहरुमा जुन वर्गको जुन किसिमको प्रभाव रहेको छ र त्यस्तै किसिमको मिश्रिमत तत्वहरु साहित्यमा देखिने गर्छ।

मार्क्सवादका प्रणेताहरुले वर्गीय समाजमा कलाको वर्गीय चरित्रका बारेमा विचार प्रकट गर्दा के प्रष्ट पारेका छन भने महान् लेखकहरुले आफ्नो वर्गीय स्थितिका विपरित पनि यथार्थलाई जीवनको सही र सर्वाङ्गिण चित्र अतिक्रमण गर्न सक्छन्। यस्ता लेखकहरुको विरोधाभाष उनीहरुको निजि मनस्थितिको विशेषता नभएर सामाजिक जीवनका वास्तविक अन्तर विरोधहरुको वैचारिक प्रतिविम्ब हो।

समाज व्यवस्थाको आधार र अधिरचनाको सम्बन्ध सोझो, सरल र एकपक्षीय नभएजस्तै वर्गसंघर्ष र विचारधारात्मक रुपहरुको सम्बन्ध पनि सोझो, सरल र एकपक्षीय हुँदैन। विचारधारा इतिहास प्रक्रियाको देनमात्र होइन। यसले इतिहासको प्रक्रियालाई समेत प्रभाव पार्दछ। यी दुवैमा परस्पर क्रियाप्रतिक्रिया हुन्छ। यी दुईका बीचको सम्बन्ध कार्यकारणजस्तो हुँदैन। यसरी कलासाहित्य वैचारिक संघर्षको साधन पनि हो। साहित्यलाई विचारधारात्मक रुपहरुभित्र राख्नुको अर्थ त्यसको ऐतिहासिकतालाई मान्नु र कला साहित्यलाई विचारधारात्मक रुपअन्तर्गत नराख्नुको अर्थ यसको इतिहास सापेक्षतालाई नमानेर इतिहास निरपेक्ष बनाउनु हुन्छ।

उत्तर आधुनिकतावादको शुरुवात

नेपालमा उत्तर आधुनिकतावादको वहस प्रारम्भ भएको धेरै भएको छैन। बहसमा सहभागी हुन खोज्नेहरुको संख्या पनि सीमित नै छ। फेरि यो बहस नेपालका अन्य क्षेत्रमा भन्दा साहित्यकै क्षेत्रमा ज्यादा भेटिन्छ। नेपालमा उत्तरआधुनिकतावाद भित्रनुमा विश्वविद्यालयहरुका पाठ्यक्रम अंग्रेजी, नेपाली विभाग, समाजशास्त्र तथा मानवशास्त्रका विभाग पनि पाठ्यक्रममा उत्तरआधुनिकतावादलाई समावेश गरिएको छ। यी र यस्तै पाठ्यक्रमको माध्यमद्वारा नेपालमा उत्तर आधुनिकतावाद भित्रिएको र बहस शुरु भएको मान्न सकिन्छ। १९१५ मा जर्मनीका दार्शनिक “फेडरिको दे ओनिसले” आधुनिकताको आलोचनाका सन्दर्भमा यस पदावलीको प्रयोग गरेका थिए। अंग्रेजी भाषामा यस शब्दको प्रयोग धार्मिक तथा ऐतिहासिक सन्दर्भमा भएको देखिन्छ। सन् १९३९ मा धार्मिक चिन्तक वर्नाड ईडिस बेलले धर्म निरपेक्षताले धर्मको महत्वलाई समाप्त पारिदिएको भन्दै उत्तर आधुनिकतावादलाई प्राचीन धर्मतिर फर्काउने सन्दर्भमा प्रयोग गरेका थिए। इतिहासकार अर्नोल्ड होयनवीले चाहिँ प्रथम विश्वयुद्धपछिको नवीन, जुन समाजले पुँजीपति वर्गमाथि विजय प्राप्त गर्‍यो र लोकसंस्कृतिलाई समृद्ध तुल्यायो भन्दै उनले त्यसपछिको समाजलाई उत्तर आधुनिक समाज भनेका छन्। सन् १०९५० देखि ६० को दशकमा उत्तरआधुनिकतावादको प्रयोग समालोचनाका क्षेत्रमा हुन थाल्यो। समालोचनामा यसको प्रयोग आधुनिक युगको निश्चयात्मक सत्यको विरोधमा भएको थियो । साहित्यको क्षेत्रबाट उत्तरआधुनिकतावादको प्रयोग दर्शनशास्त्रका क्षेत्रबाट उत्तर आधुनकितावादको प्रयोग दर्शनशास्त्रका क्षेत्रमा हुन थाल्यो। १९८० का समयको फ्रास्न, निराशा र अनिश्चयले भरिएको थियो। यस्तो अवस्थामा कम्युनिस्ट पृष्ठभूमि भएका तर आन्दोलनबाट पलायन “ज्याकडेरिडा, ल्योतार” जस्तो चिन्तकहरुले उत्तर आधुनिकतावादलाई दार्शनिक स्वरुप दिने कार्य गरे। यिनीहरुको मूख्य उद्धेश्य आधुनिकतावादका समयमा विकसित वुद्धिवाद, तत्वमिमांसावाद तथा सार्वभौमिकताको विरोध गर्नु नै थियो। फ्रान्सपछि युरोप र अमेरिका हुँदै उत्तरआधुनिकतावाद तेस्रो विश्वका देशहरुसम्म आइपुगेको छ।

उत्तरआधुनिकतावादलाई मूलतः दर्शन, समाजशास्त्र, राजनीति, विज्ञान प्रविधि तथा सौन्दर्यमा अथ्र्याउने गरेको पाइन्छ। उत्तर आधुनिकतावादी दर्शनको ज्वरो कान्टकै दर्शनमा छ भन्ने गरिन्छ। कान्टले तर्कवुद्धिवादको विरोध गरेका थिए। वास्तवमा उत्तरआधुनिकतावादको दार्शनिक जग नित्सेको निराशावाद नै हो। नित्से तिनै दार्शनिक हुन्, जसले ईश्वरको मृत्युको घोषणा गरे। तर मानिसलाई भने शुन्यता र निस्सारताको खाडलमा खसालिदिए। उत्तरआधुनिकतावादको दर्शन मूलतः यिनै शुन्यता निस्सारताको जगमा उभिएर मान्छे र मान्छेको कार्यमाथि खिल्ली उडाइरहेको छ।

उत्तरआधुनिकतावाद के हो ?

उत्तरआधुनिकतावादलाई विभिन्न रुपमा परिभाषित गर्ने गरेको पाइन्छ। उत्तरआधुनिकतावादलाई हजारौँ परिभाषामा परिभाषित गरिए तापनि उत्तरआधुनिकतावाद आधुनिक यूगका मूल्य, मान्यता र दर्शनका विरुद्ध छ। त्यस युगका सत्य, ज्ञानलाई भत्काउनु नै यसको अभिष्ट हो।

पुँजीवादले उत्तर पुँजीवादमा प्रवेश पाएपछिको दर्शनका रुपमा यस वादलाई बुझिन्छ। यसको उत्पत्तिको सन्दर्भलाई हेर्दा के देखिन्छ भने यसको जन्ममा कुनै पृष्ठभूमि पनि छैन र आधार पनि छैन। त्यसकारण मान्छेपिच्छे यसका परिभाषाहरु हुन सक्छन्। पुँजीवाद नयाँ औद्योगिक युगमा प्रवेश गरेपछि देखा परेको कुण्ठा र निराशाको रुप पनि हो र पुँजीवादको नयाँ प्रतिक्रियात्मक दर्शन पनि हो। मान्छेका समग्र मूल्य, मान्यता, ज्ञान र जीवनधारामाथिको प्रहार पनि हो, विखण्डित आन्दोलन रुपमा अहिलेको बर्तमानमा हामीले यसलाई बुभ्नु सान्दर्भिक हुन्छ। उत्तरआधुनिकतावाद एउटा यस्तो शैली हो, जस्तो सत्य, कारण, पहिचान, एकात्मक ढाँचा वा व्याख्याको विशेष स्वरुपलाई सदैव शङ्काको आँखाले हेर्दछ वा विरोध गर्दछ।

उत्तरआधुनिकतावाद संस्कृतिको एउटा यस्तो शैली हो, जसले युगीन परिवर्तनको त्यस्तो प्रक्रियालाई सम्वोधन गर्दछ, जुन सतही विकेन्द्रित, आधारहिन, व्यूत्पत्तिमूलक, उच्च र निम्न संस्कृतिको पर्खाललाई भत्काउने विषयमा आधारित हुन्छ। उत्तरआधुनिकतावादलाई एउटै केन्द्रीय परिभाषामा बाँध्न कठिन छ। कसैले यसलाई आधुनिकताको र यसको निरन्तरतासँगको सम्बन्धविच्छेद हो भन्छन्। कसैले अवअन्धताका रुपमा स्वीकार्छन्, कसैले विद्रोहको अभिव्यक्ति पनि भन्छन्। कसैले प्रतिक्रियावादी मान्यता पनि भन्छन्। वास्तवमा उत्तरआधुनिकताबाट आफैँ जन्जालमा जेलिएको छ र जार्गनहरुको जङ्गलमा फसेको छ। आफैभित्र विरोधाभाष र द्विविधा बोकेको उत्तरआधुनिकताबाट अनिश्चय, अस्थिरता, सत्यहिनता सतही दार्शनिक मान्यता हो। विश्व पुँजीवादको संकट, समाजवादी चिन्तनको बढ्दो विकास, समाजको गतिशीलतालाई रोक्न पुँजीवादले थोपरेको यो चिन्तन वृद्ध वा मरणासन्न पुँजीवादको सांस्कृतिक तर्क हो।

उत्तरआधुनिकतावादको खास बहस साहित्यको क्षेत्रमा बढी हुने गरेको पाइन्छ। कवि, लेखक, कलाकारहरुले यथार्थ वोध सिर्जनामा गर्न नसकी भावनात्मक चिन्तन, निराशा, आत्मपरकता, कुण्ठा, इश्र्या जे जति रोदनात्मक अभिव्यक्तिहरु लेखन तथा गायनका माध्यमबाट व्यक्त गर्नु उत्तरआधुनिकतावादलाई प्रश्रय दिनु नै हो। लेखक कलाकारहरु प्रगतिशील मूल्य मान्यता, विचारधाराबाट विचलित हुनुको मूल कारण उत्तरआधुनिकतातर्फको आकर्षण मान्नुपर्छ। वास्तवमा उत्तरआधुनिकतावादको दार्शनिक जग नित्सेको निराशावाद नै हो। नित्से ती दार्शनिक हुन्, जसले ईश्वरको मृत्युको घोषणा गरे तर मानिसलाई भने शुन्यता र निस्सारताको खाडलमा खसालिदिए। उत्तरआधुनिकतावादको दर्शनले शुन्यता र निस्सरताको जगमा उभिएर मान्छे र मान्छेको कार्यमाथि खिल्ली उडाइरहेको छ। आज प्रगतिशील विचारधारा अँगालेर कलम चलाउने लेखकहरुले पनि लेखकको मृत्यु, कविको मृत्यु, समाजको मृत्यु, सिद्धान्तको मृत्युजस्ता शब्दावलीहरु प्रयोग गरेर साहित्य सिर्जना गरेको पाइन्छ।

यसो त यस्ता शब्दावलीहरु उत्तरआधुनिकतावादले नै प्रयोगमा ल्याएको पाइन्छ। जीवनशैलीदेखि यावत कुराहरु उत्तरआधुनिकतावादलाई अंंगाल्ने तर जनमानसमा खरो प्रगतिशील र क्रान्तिकारी देखिने मनोविज्ञानका उपजहरु पनि हाम्रो समाजमा व्याप्त नै देखिन्छन्। वर्तमानको लडाइँमा उत्तरआधुनिकतावादलाई परास्त गर्दै प्रगतिशील विचारधाराले आफ्नो दरिलो र धारिलो स्तम्भ खडा नगर्ने हो भने मौलाउँदो उत्तरआधुनिकताको खाडलमा भासिने परिस्थिति नआउला भन्न सकिँदैन। जसका लागि वैचारिक र व्यवहारिक रुपमै प्रगतिशील शक्तिहरु एकढिक्का भए बिखण्डनका विरुद्ध उभिनुको विकल्प छैन।

(मनश्वी प्रगतिशील लेखक संघ पर्वतका अध्यक्ष हुन्।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्