उपचार खर्च तिर्न नसक्नेको निशुल्क उपचार गर्न अस्पतालहरुलाई निर्देशन

health_ministry
लाेकपाटी न्यूज

काठमाडौं, ९ कार्तिक। उपचार खर्च तिर्नसक्ने अवस्था नभएका बिरामीहरुलाई निशुल्क उपचार गर्न सरकारले विभिन्न अस्तपालहरुलाई निर्देशन दिएको छ।आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कुनै पनि बिरामीलाई उपचार खर्चको अभावमा उपचारबाट वञ्चित नगराउन पनि निर्देशन दिएको हो।

नेपालमा कोभिड-१९ संक्रमण दर उच्च रहेको र सोको निदान, रोकथाम, नियन्त्रण र उपचारका लागि स्वास्थ्य तथा जनसख्या मन्त्रालय एवम् सम्बन्धित निकायहरु,अस्पतालहरु अहोरात्र खटिरहेको पनि मन्त्रालयले जानकारी गराएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि विरामीहरु उपचार खर्चको अभावमा उपचारबाट बञ्चित गर्नु अस्पताल सेवाको मर्म, स्वास्थ्यकर्मीको आचारसंहिता विपरित हुने व्यहोरा स्मरण गराउदै सबै सरकारी, सामुदायिक, निजी, गैह सरकारी अस्पतालहरु र मेडिकल कलेजहरुले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड-१९ संक्रमितको उपचार निःशुल्क गर्न हुन यो विज्ञप्ती जारी गरिएको छ ।’

कतिपय अस्पतालहरुले कोभिड-१९ का विरामीलाई भर्ना गर्दा रकम माग गरेको, रकम जम्मा गर्न नसक्नेहरुलाई उपचार सेवाबाट वञ्चित गर्ने गरेको र अस्पतालहरुले रकम जम्मा गर्नका लागी सूचना समेत सार्वजनिक गरी उपचार खर्च व्यहोर्न नसक्नेहरुका लागि उपचार पाउनबाट वञ्चित भएको जनगुनासो आएकोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको हो।

“गरिब, विपन्न, अशक्त, असहाय, ज्येष्ठ नागरिकहरुको उपचार नेपाल सरकारले निःशुल्क गर्ने र सोका लागि विरामीहरुका तर्फबाट स्वयं घोषणा भए मात्र पनि मान्य हुने र सो उपचार सेवा बापतको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने बारेको सूचना सबैको जानकारीका लागि सार्वजनिक भएकै छ। यस विपरीत कार्य गर्ने गराउने गरी विरामीको स्वास्थ्यमा असर पर्न गएमा स्वयं अस्पताल नै जिम्मेवार हुने व्यहोरा समेत जानकारी गराइन्छ,’मन्त्रालयले भनेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्