उपत्यकामा चल्ने सवारीसाधनमा भाडा लिस्ट नटाँसे कारबाही

Nepal Yatayat bus
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारीसाधनमा भाडादरको विवरण (लिस्ट) नटाँस्ने सवारीसाधनलाई कारबाही गर्ने अभियान थालेको छ। सार्वजनिक सवारीसाधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफ्नो गन्तव्यसम्मको भाडादर सजिलै जानकारी होस् भनेर अभियान थालिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले सवारीसाधनले त्यस्तो लिष्ट नराखेको पाइए नियमअनुसार कारबाही गरिने जानकारी पनि दिए। महाशाखाले शुक्रबारदेखि अभियानकै रूपमा सवारीसाधनको चेकजाँच थालेको छ। यात्रुवाहक सवारी साधनले प्रचलित तोकेभन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लंघन गर्ने गरेको भन्दै काठमाडौं उपत्यकामा कडा निगरानी तथा चेकजाँच गरिरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए।

सडक र सवारी प्रयोगकर्ताहरूलाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनु परेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न पनि महाशाखाले अनुरोध गरेको छ। त्यस्तै, महाशाखाले ठूलो आवाज तथा मोडिफाई गर्ने, हर्न बजाउने, ढोका खुल्ला राख्ने तथा स्वास्थ्य मापदण्ड पालना नगर्ने लगायत ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनउपर पनि कडाइका साथ कारबाही अभियानमार्फत कारबाही गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्