ओलीकाे विपक्षमा मिलेर जाने तयारीमा प्रचण्ड-नेपाल

Madhav-nepal-and-prachanda-11 (1)
लाेकपाटी न्यूज

काठमाडौं, ६ असोज। नेकपाको कर्णाली प्रदेशमा देखिएको विवाद अन्ततः बहुमत–अल्पमतबाटै छिनोफानो लाग्ने देखिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध प्रधानमन्त्री केपी ओली पक्षका सांसद यमलाल कँडेलको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएपछि विवाद बढेको थियो। सभामुख सहित ३३ सांसद त्यहाँ नेकपाको छन्।

कुल १८ नेकपाका सांसदले हस्ताक्षर गरेर मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने काम कँडेलले गरेका थिए। तर अविश्वासमा हस्ताक्षर गरेका माधव नेपाल पक्षका सांसदहरु ७ जनाले अविश्वास प्रस्ताव फिर्ता लिएको छुटाछुटै पत्र प्रदेश दलको कार्यलयमा निवेदन गरिसकेका कारण अविश्वास प्रस्ताव दर्ता गराएका कँडेल नै अहिले अल्पमतमा परेका छन्। कँडेलको योजना असफल भएर नराम्ररी धक्का लागेपछि विवाद समाधानका लागि भन्दै कर्णालीका पार्टी पदाधिकारी र मुख्यमन्त्री, लगायतका नेताहरुलाई पार्टी हेर्डक्वार्टरले काठमाडौं बोलाएका थिए ।

तर दुवै अध्यक्षले काठमाडौं बोलाएका नेताहरुलाई सँगै राखेर छलफल गर्ने वातावरण समेत बनेन्। ओलीले छुट्टै, प्रचण्डले छुट्टै कर्णालीबाट आएका नेताहरुलाई भेटघाट गरे। दुई अध्यक्षका वीचमा विवाद समाधान कसरी गर्ने भन्ने प्रक्रियामा सहमति नजुटेपछि ओलीले ४ बुँदे सहमति बनेको आफना प्रेस सल्लाहकार मार्फत सार्वजनिक गर्न लगाए। लगत्तै प्रचण्डको सचिवालयले त्यस्तो सहमति नबनेको भन्दै अर्काे प्रेस नोट जारी गरेको थियो।

ओलीले माधव नेपाललाई फकाउन प्रयास गरे। तर नेपालले उल्टै ओलीको कार्यशैली ठिक नभएको भन्दै बोली र व्यवहारमा ओलीको तालमेल हुन नसकेको जवाफ दिएपछि बालुवाटार प्रचण्ड र माधव नेपाल पक्षका बीचको सम्भावित सहकार्य तोड्न अनेक तिकड्मबाजीमा लागेको छ । तर प्रचण्ड र नेपाल पक्षले मिलेरै जाने नीति लिएपछि कर्णालीमा विवाद अब प्रदेश संसदीय दलको बैठकबाटै वारपार लाग्ने भएको छ।

त्यसका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कात्तिक ७ गते अर्थात भोलिका लागि दलको बैठक बोलाएका छन्। काठमाडौंमा केन्द्रीय नेताहरुले बोलाएर आएका शाही लगायतका नेताहरु आजै कर्णाली फर्कने योजनामा छन्। केन्दबाट दुई अध्यक्षका बीचमा सहमति सहितको कुनै निर्देशन नआएपछि प्रदेश दलको वैठकमै अविश्वास प्रस्ताव फेस गर्ने तयारीका साथ मुख्यमन्त्री शाहीले दलको वैठक बोलाएका हुन्।

दलको बैठकमा प्रचण्ड र नेपाल पक्ष एकातिर हुदा बहुमत पुग्ने देखिएको छ। अविश्वास प्रस्ताव मा बहुमतका लागि नेकपाको प्रदेश दलमा १७ मत आवश्यक पर्छ। तर अविश्वास दर्ता गराउदा हस्ताक्षर गरेका माधव नेपाल निकटका ७ नेताले अविश्वास प्रस्ताव फिर्ता लिएको पत्र दलको कार्यलयमा बुझाईसकेपछि कँडेलसँग बहुमत पुग्ने देखिदैन। त्यसमा पनि पूर्व माओवादी धारका ३ नेताले पनि अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गर्ने अवस्था अहिले छैन।

अहिले कँडेलसँग अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ९ जना सांसद मात्र साथमा छन् । प्रचण्ड र माधव नेपाल पक्षले मनित्रमण्डल पूर्नगठन गर्ने गरी मुख्यमन्त्री विरुद्दको अविश्वास प्रस्ताव असफल बनाउने योजना बनाएपछि ओली पक्षलाई कर्णालीमा धक्का लाग्ने देखिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्