ओली कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने खेलमा छन् : माधवकुमार नेपाल

madhav kumar nepal
लाेकपाटी न्यूज

काठमाडौं। नेकपाभित्र फेरि पुरानै विवादको आगो सल्किँदैछ। यसअघि प्रधानमन्त्रीको राजीनामा मागिँदा पार्टी फुटाउने, संसद भंग गर्नेजस्ता काममा ओली अग्रसर भएसँगै विवाद समाधान गर्न एउटा कार्यदल बनाइएको थियो।

उक्त प्रतिवेदनले सरकारले गर्ने कामहरु पार्टीका विधि र पद्धतिभित्र रहेर सम्पादन हुनुपर्ने शर्तसहित राजीनामा रोक्यो। तर, त्यसयता पनि कार्यशैली फेरि पुरानै छ। पार्टीका बैठकहरु छलेर विभिन्न नियुक्तितर्फ अग्रसर हुने कार्यशैलीबारे फेरि सचिवालय र स्थायी कमिटीमा कुरा उठाउने तयारीमा शीर्ष नेताहरु जुटेका छन्। शनिबार सचिवालय बैठक स्थगित भएपछि जनआस्थासँगको भेटमा वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीलाई सही बाटोमा ल्याउने आफूहरुको अधिकतम प्रयास जारी रहेको मात्रै भने। तर, उहाँ सही बाटोमा नआए के गर्ने भन्नेतिर चाहिँ प्रवेश गर्नै चाहनुभएन।

विधि, पद्धति स्थापित गर्ने शर्तमा विवाद त हल भयो । तर, प्रधानमन्त्रीको कार्यशैली फेरि उही ठाउँमा आयो, हैन त केही कुरामा सुधार होला, पार्टी अब ठीक लिगमा अगाडि बढ्ला भन्ने हाम्रो आशा अझै मरेको छैन ।

एकता नै परिपक्व नभएको हो ?

पूर्वएमालेको कुरा गर्ने हो भने हामी पार्टी एकताका धेरै चरण पार गरेर आजको अवस्थामा आएका हौं। हाम्रानिम्ति एकता नयाँ प्रयोग हैन। यो एकतामा पनि पहिला विधिमा प्रवेश ग¥यौँ र पार्टी एकताको काम ‘स्मुथ्ली’ सम्पन्न भयो। केन्द्रीय कमिटी, सचिवालय र स्थायी कमिटी गठन गर्दासम्म ठीकै भयो । तर, त्यसपछि समस्या खडा हुन थाल्यो। केन्द्रीय कमिटीबारे सहमति भयो, निर्णय भयो तर सर्कुलर जारी गर्ने बेलामा मनपरि गरियो।

कोबाट त्यस्तो भयो ? त्यसो गर्नेमाथि के कारवाही गर्नुभयो ?

यहाँ विधि, विधानको उल्लंघन गर्ने व्यक्तिहरु आत्मबोध गर्ने अवस्थामा छैनन्। केन्द्रीय कमिटीमा ल्याउने तय भएको व्यक्तिको नाम हटाइयो। छलफल नै नभएका विषय राखियो, जस्तो कि, आमन्त्रित सदस्य। यदि, आमन्त्रित सदस्यको व्यवस्था नै गर्नु थियो भने यसबारे विधान बनाउने बेलैमा छलफल गर्नुपथ्र्यो। त्यो पद सिर्जना गर्ने कि नगर्ने ? गर्ने हो भने मापदण्ड के राख्ने ? को–को व्यक्ति त्यसनिम्ति उपयुक्त हुने ? तर, यस्ता कुनै पनि प्रक्रिया पार नगरी सर्कुलरमा धमाधम लेखेर पठाइयो । शुरुदेखि नै विधि र पद्धति नाघ्ने काम भयो। यस्तो गतिछाडापनलाई रोक्ने काम भएन।

किन यस्तो हुने गरेको छ ?

एउटा पार्टी जब विचारले वैज्ञानिक हुन्छ भने उसका नीति र विधिहरु पनि वैधानिक हुनुपर्छ उभिएका हुन्छन्। व्यक्तिको मूल्यांकन गर्नुपर्छ । मेरो, तेरो भनेर हेर्न पाइँदैन। पछि गएर प्रदेश र जिल्ला कमिटी बनाउने, जिम्मेवारी तय गर्ने बेलामा पनि यस्तै क्रम देखा पर्न थाल्यो हामीले चार सय ४१ जनाको केन्द्रीय कमिटी बनाउने भनेका थियौँ। पूर्वमाओवादीकै हजारौँ सदस्यीय केन्द्रीय कमिटी थियो । पूर्वएमालेकै केन्द्रीय कमिटी दुई सय सेरोफेरोमा रहेको हुनाले त्यसैलाई आधार बनाएर चार सय ४१ तय भयो । यसो गर्दा पूर्वएमालेका पुराना केन्द्रीय सदस्य सबै परे। ४१ जना थप्दा मापदण्ड बनाउनमा धेरै कचकच भइसकेपछि सहमतिसम्म भयो।

भएकालाई कायम राख्ने, सिनियरलाई पहिलो प्राथमिकता दिने भनियो। बल्ल–बल्ल सर्कुलर जारी भयो । तर, तल गएर सर्कुलर पालना भएन। पालना नगर्नेलाई कुनै कारवाही पनि भएन। विधानमा एक व्यक्ति, एक प्रमुख जिम्मेवारी भनिएको छ। तर, एउटै व्यक्तिलाई एक होइन, अनेक र कार्यकारी जिम्मेवारीसमेत दिइएको छ। कसैलाई भ्याइनभ्याइ छ, कसैलाई कामै छैन। यही बिडम्बनाका विषयमा हामीले कुरा उठाउँदै आएका हौं।

के आजकल यसबारे सरसल्लाह हुन थालेको छ ?

सबै कुरा सुध्रिएला भनेर यसपटक सचिवालय र स्थायी कमिटी बैठकबाट सहमतिको प्रस्ताव पास ग¥यौँ। त्यसआधारमा अब काम होला भनेको त, फेरि प्रदेश ५ को राजधानी कहाँ राख्ने ? नाम के हुने भन्ने कुराको सहमति एकैचोटि पत्रिकामा आएपछि थाहा भयो। निर्णय ठीक होला, मेरो राय पनि त्यही होला। तर, छलफल गर्नुपर्छ कि पर्दैन ? तपाईं घरमा आउनुभयो तर ढोकाबाट नभई झ्यालबाट आउनुभयो भने के हुन्छ ? भीडभाडमा बस्न अपठ्यारो भए एउटा जुम मिटिङ गरेर कुरा गरेको भए पनि हुन्थ्यो होला नि !

यो अवस्था कतिञ्जेल जान्छ ?

यसरी एक, दुई गरेर असन्तुष्टिहरु बढ्दै–बढ्दै गएपछि बिष्फोट हुन्छ र पार्टी चल्दैन। यो पार्टी चलाउने लक्षण होइन, यो पार्टी डुबाउने, सिध्याउने खेल हो। पार्टी चलाउने व्यक्तिले जिम्मेवार ढंगले चल्न जान्नुपर्छ। पार्टीको अधिनमा सबै रहन्छ भन्ने मान्नुपर्छ। कसैकसैले ठानिरहेका छन् कि, पार्टी अध्यक्ष नै महान संस्था हो। अध्यक्ष भनेको संस्था मातहतको एउटा प्रमुख व्यक्ति मात्रै हो।

यो कसैको निजी प्राइभेट लिमिटेड कम्पनी होइन। समाजका सबैभन्दा बद्नाम आफ्नो प्यारो र नेतालाई गालीगलौज गर्नमा माहिरलाई सरकारी नियुक्ति दिन थालियो भने के हुन्छ ? अहिले त्यही भइरहेको छ । अहिले जति पनि नियुक्ति भइरहेका छन्, त्यसमा विशेषता र योग्यता तोकिएको छ– माधव नेपाल र प्रचण्डको खोइरो खन्न सक्नुपर्ने। सम्बन्ध नै कटुतापूर्ण हुन पुग्छ । सम्बन्ध नै कटुतापूर्ण हुन थालिसकेपछि, विधिको पलना नगर्ने भएपछि, पार्टी जीवन कसरी सहज हुन्छ ?

किन यस्तो भइरहेको होला ?

कतै कम्युनिष्ट पार्टीलाई नै सिध्याउने खेल त भइरहेको छैन ? कम्युनिष्ट पार्टी भन्ने नाम नै कसैको लागि घाँडो त भइरहेको छैन ? यत्रो दुःख गरेर हामीले यो बिन्दुसम्म पु¥याएको पार्टीलाई सिध्याउन खोजिएको त होइन ? मसँग एक–एक रेकर्ड छन्, तिनीहरुले के–के गरेका छन् भन्ने कुराको। धेरै गफ नहाँके हुन्छ। ती सबै तत्व र गैरजिम्मेवार व्यक्तिहरुले भोलि के परिणाम हुन्छ, विचार गरेर चल्नुप¥यो । राम्रो गर्ने सबैलाई मेरो सम्मान, प्रोत्साहन रहन्छ । बेठीक हुँदा पनि मौका दिन्छु र सुधार गर्नुस् भन्छु। पहिला श्रवणशक्ति, दोस्रो सहनशक्ति, तेस्रो विश्लेषण शक्ति र चौथोमा ग्रहणशक्ति हुनुप¥यो। यी सबै काम गर्न चाहनुहुन्न भने आन्दोलनलाई नोक्सान हुन्छ, व्यक्तिलाई पनि नोक्सान हुन्छ । हाम्रो चाहना, चिन्ता एउटै हो– सामाजिक, सांस्कृतिक रुपान्तरणसहित समाजवादको यात्रा ।

अहिले भइरहेका सरकारी नियुक्तिहरुबारे के भन्नुहुन्छ ?

के पार्टीभित्र अनेकन विषयमा योग्य मान्छे छैनन् ? क्षमतावानहरुलाई पन्छाएर बेवास्ता गरेपछि के हुन्छ ? अवश्य पनि सबैलाई एकैचोटि नियुक्ति दिन सकिँदैन। तर, समुचित मूल्यांकन त गर्नुप¥यो नि !

सचिवालय बोलाइन्छ, स्थगित गरिन्छ । के त्यस्ता काम सल्लाहमै भएको हो ?

शनिबार बैठक बस्ने कुरा कार्यकारी अध्यक्ष प्रचण्डबाट थाहा भयो। बैठक बस्ला भनेर त्यसदिन भएभरका कार्यक्रम क्यान्सिल गरेर बसियो। एकछिन अघि आजको बैठक स्थगित, भोलि बस्ने भन्ने खबर आउँछ। एक हप्ताको कार्यक्रम त पहिल्यै तयार हुन्छ। कहिलेकाँही कुनै कारणले कार्यक्रम हेरफेर हुन सक्छ। हामी पनि जिम्मेवार ठाउँमा बसेर काम गरेकै मान्छे प¥यौँ । हाम्रो पार्टीमा यो आमचरित्र भइसकेको छ।

यस्तै यस्तै चिजहरु हुनुहुँदैन भन्ने हाम्रो माग हो। यो कुरा गर्दा कसैकसैलाई एकदम पोल्छ। माधव नेपाल खालि विरोध मात्रै गर्छ भन्छन्। के माधव नेपालले तालीमात्रै बजाइदिनुपर्ने ? सुधार्नका लागि आवाज उठाउने उसको दायित्व होइन ? पार्टीले सञ्चालन गरेको अभियान र आन्दोलनप्रति मेरो चिन्ता र चासो छ । जब पार्टी र आन्दोलन नै जब कमजोर हुनपुग्छ, जनताबाट जब पार्टी विस्थापित हुन पुग्छन् भने हाम्रो कुनै अर्थ रहँदैन ।

विधि र पद्धति स्थापित नहुने कुरा निश्चितै भयो । किनभने, कार्यदलको प्रतिवेदनको मर्मअनुरुप प्रधानमन्त्री फेरि पनि चल्नुभएन।

तपाईंहरु ‘नछोड्ने’ भन्दै हुनुहुन्छ । अब हुन्छचाहिँ के त उसोभए ?

बसिन्छ, छलफल गरिन्छ । पहिला भएका व्यवस्थाहरु किन लागु भएनन् भन्ने कुरा बैठकमा उठ्छन् । बैठकमा प्रधानमन्त्रीले विधि, पद्धति मान्छु भन्ने, फर्किएपछि उही पुरानै कार्यशैली अपनाउने नै देखियो नि ! सुधारबाहेक विकल्प न उहाँसँग छ, न अरुसँग ।
राजीनामाको माग कहाँ पुग्यो ? तपाईंको पत्रिकामा मैले अझै पनि राजीनामाको माग कायमै छ भनेर भन्नु ? कसरी भन्न मिल्छ ?

राजीनामा गराउन नसकेर यो कुरा छोडिएको हो कि ?

अरु कुरा त म डंका छाडेर भन्न सक्छु । तर, यो कुराचाहिँ सुस्तरी पनि भन्न चाहन्न।

प्रचण्डले पोहोरैदेखि केपीलाई हटाऔंभन्दा पनि तपाईंले नै अहिले अस्थिरता हुन्छ, नहटाऔं भन्ने अडान लिनुभएको होइन ?

शुरुमा मैले भनेकै हो । प्रधानमन्त्रीबाट त अझै पनि हटाउनु हुँदैन भनेको हुँ । सुधार होस् भन्ने चाहेरै त्यसो भनेको हो नि !

अफरहरु त तपाईंलाई पनि आए होलान् !
आए, जम्मैथोकको अफर आए । तर, त्यस्ता कुराको पछि लाग्ने नेचर छैन । साथीहरुको विश्वास तोड्ने बानी छैन ।

यसरी लगाउनुभएको गुणको बदलामा के पाउनुभयो ?

कतिपय कुरा व्यवहारले दाँज्नुपर्छ । सीधै एउटा निश्कर्षमा पुग्नुहुँदैन । कसैले सुनाउनेबित्तिकै प्रभावित हुनुहुँदैन । म भेरिफिकेशनको निम्ति ठाउँ दिने गर्छु । धेरैपटक, धेरैतिरका कुरामा भेरिफाइड भएपछि विश्वासको मात्रा बढ्छ। कहिलेकाँही अनेकखालका तत्व गलत कुरामा भड्काउन क्रियाशील हुन्छन्। विगतमा पनि नेताहरु बीच समस्या भयो । तर, त्यसबेला कामकाजी सम्बन्ध रह्यो।

त्यसो गर्नमा म आफैँ तल्लिन भएँ । नेताहरुबीच ठूलो धाँजा फाट्दा पनि मिलाउने काम गरेँ । महामानव वा महादानव कोही होइनन् । सबैका राम्रा पक्ष र कमजोरी हुन्छन् । इमान्दार मान्छे छ भने कमजोरी स्वीकार्छ, सच्याउँछ । तर, धर्तीमा इमान्दारमात्र छैनन्, बेइमान पनि छन् । बेइमानहरुको संख्या बढी भएको भए धर्ति नै चल्ने थिएन । बढी संख्या बीचवाला मान्छेहरुको छ। ती मान्छे टेष्टेड हुनै बाँकी छन् । तिनीहरु बेइमान हुन् कि इमान्दार हुन् भन्ने कुरा अहिल्यै कसरी भन्नु ?

तपाईंले १५ वर्ष पार्टी चलाउँदा केपी पक्षका मान्छेलाई असाध्यै पेल्नुभयो भन्ने आरोप छ नि !

– म परराष्ट्रमन्त्री हुँदा जति पनि राजदूत नियुक्त भए, सबै छलफल गरेरै भए। चीनमा तुल्सीलाल अमात्यदेखि अमेरिकामा बासुदेव ढुंगाना, भारतमा हर्षनारायण धौभडेल र जर्मनीमा नोबलकेमी राईसम्मलाई राजदूत बनाउने निर्णय कमिटी बैठक बसेर गरिएको थियो । स्वयं केपी कमरेड परराष्ट्रमन्त्री हुँदा जेएन कमरेडको अध्यक्षतामा बल्खुस्थित पार्टी कार्यालयमा बसेर गरेको निर्णयका आधारमा राजदूत नियुक्त भएका हुन् । कर्मचारीको हकमा हामीले भन्ने होइन। तर, राजनीतिक नियुक्तिको हकमा पार्टीभित्र छलफल हुनुपर्छ । कर्मचारीमा पनि हामीले अन्याय नहोस् भनेर हेरिनुपर्छ।

अहिले पनि केही राजदूत नियुक्त भएका छन्। हप्तैपिच्छे निर्णय फेर्दै एउटा व्यक्तिलाई थपीथपी पद दिइन्छ । यी कुरा अब के हुन्छन् ?

पटक–पटक एउटा व्यक्तिले अवसर पाएको पायै छ। अर्कातिर यही पार्टीमा योग्य र आन्दोलनमा योगदान दिएका साथीहरु छन् । तिनीहरुको चाहिँ पूरै बेवास्ता छ । यसरी एउटा सानो गुट चल्ला । गुटमा पनि भोलि संकट आउला † गुटका मान्छे दास भएका हुनाले धेरै संकट टार्ने भनेको लोभले हो । फेरि पनि तिनलाई लोभ देखाएर तह लगाइएला । तर, पार्टी नामको चिज यसरी चल्दैन । पार्टी नै चलेन भने आन्दोलन सकिन्छ, संस्था सकिन्छ ।

पार्टी कमिटीहरु अहिले पनि चलेका त छैनन् नि !

पार्टी नचलेर साथीहरुलाई अरु पार्टीले तानिरहेका छन् । मान्छे निराश भएर आफैँ अरु पार्टी रोज्न थालेका छन्। कतिपय जिल्लामा पूर्वाग्रहपूर्ण व्यवहार भएका र कामको जिम्मा नदिएका कारण साथीहरु बिचलित भएका छन्। देशभरिका साथीहरुमा निराशा बढेको सूचनाहरु आइरहेका छन् । यी कुराले हामीलाई चिन्तित बनाउनुपर्ने, पोल्नुपर्ने हो।

हामीले सरकार सञ्चालनका निम्ति एउटा मापदण्ड, विधि बनाऔँ भनेका हौँ। सरकारलाई कसरी लोकप्रिय बनाउने भन्नेबारेमा सचिवालयका १० वटा बैठक, स्थायी कमिटीका दुई–चारवटा बैठक, केन्द्रीय कमिटीको पनि बैठक बसेर अगाडि जाऔँ भनेका हौँ । एक हप्तासम्म केन्द्रीय कमिटीको बैठक राखेर सबैलाई बोल्ने मौका दिइँदा के हुन्छ ?

बलात्कारका घटना बढेका छन्। नेपाली बालबालिकालाई बलि दिन भारत लैजाने घटना आएका छन्। जनजीविकाका प्रश्न आएका छन्। सुत्केरी, गर्भवतीका समस्या छन्। कुपोषणको कारण सन्तानोत्पादनमा समस्या छ। ती सन्तानले पढ्न नपाउँदा उत्पन्न समस्याबारे छलफल गरौँ । प्रदेश र स्थानीय सरकार छन्। त्यहाँ भ्रष्टाचार व्याप्त छ। त्यहाँको कामको मूल्यांकन गरौं । भ्रष्टाचारीलाई जोगाउन खोज्नु भनेको मिलेमतोलाई बढावा दिनु हो। एक हजार भ्रष्टाचार गर्नेलाई समातेर थुन्ने, यातना दिने र उसले आत्महत्या गरेर मर्नुपर्ने । करोडौं–अर्बौंको भ्रष्टाचारमा लागेका मान्छेले उन्मुक्ति पाउने !

प्रधानमन्त्रीसँग यहाँको एक्लाएक्लै कुरा नभएको कति भयो ?

त्यसबारेमा म जान चाहन्नँ । पार्टीको बैठकतिरै मेरो जोड हो। तर बैठक भइरहेको छैन ।सरकार स्वेच्छाचारी ढंगले चल्ने, पार्टी जनताको बीचमा नजाने कुराले पु¥याउने क्षतिको के अनुमान छ ?

स्थानीय तहको चुनाव आउन लागेको छ। लगत्तै संघीय र प्रदेश संसदको चुनाव हुन्छ । त्यसका निम्ति पार्टी बलियो हुनै पर्छ। कार्यकर्ताहरुको मनोबल उच्च हुनै पर्छ। इमान्दार कार्यकर्ताको जमात बढाउनुको सट्टा जनतामा विस्थापित भएका, बद्नाम भएकाहरुको जमातलाई अगाडि बढाउन थालियो भने यिनैले पार्टीभित्र घुन–पुत्लाको काम गर्छन्, पार्टी सिध्याउँछन्। पार्टी सदस्य भएका मान्छेलाई कमिटीमा ल्याउने, विभिन्न ओहोदामा ल्याउने गर्नुको सट्टा गन्हाएका मान्छेलाई अगाडि ल्याउने, भ्रष्टाचारमा मुछिएकालाई अवसर दिने काम भइरहेको छ।

अनुशासनहीन काम गर्नेलाई कारवाही भयो त ?

लेनिनले रुसमा ‘इस्क्रा’ नामक पत्रिका निकालेर आन्दोलनको अगुवाई गर्नुभयो । त्यही पत्रिकामार्फत पार्टी चेतनाको विकास गर्नुभयो । बोल्सेभिक र मेन्सेभिकबीच त्यत्रो लडाइँ भयो, त्यही पत्रिकाको कारणले । तर, हाम्रो पार्टी एकताको यत्रो अवधि बितिसक्यो तर एउटा मुखपत्र छैन । मुखपत्र दुई–दुई महिनामा निकाल्ने निर्णय गरिदिएको भए अहिलेसम्म पार्टीका धारणा जनतामा पु¥याउन सकिन्थ्यो । म विदेश विभाग प्रमुख छु । तर, विभागले नै पूर्णता पाउन सकेको छैन । त्यो विभागले न्यु इरा वा कुनै नामको म्यागेजिन निकाल्न पाएको भए विश्व समुदायका बीचमा नेपाली कम्युनिष्ट आन्दोलनलाई अद्यावधिक गराउन त सकिन्थ्यो । तर, सबै काम ठप्प छन् । मात्रै समवेदना र शुभकामना पठाएर काम चलाइएको छ ।

प्रचण्ड आफ्नो लेनदेन टुंग्याउँदै प्रधानमन्त्रीसँग सम्झौता गर्ने, तपाईंहर हेरेको हे¥यै हुने दिन आउन लागेको हो ?

क.केपी ओली एकदमै सानो दृष्टिकोण भएको, गुटगत चिन्तन भएको हुँदा हामीले आशा ग¥यौँ कि क. प्रचण्डले कार्यकारी अध्यक्षका रुपमा पूरै पार्टीको अभिभावकत्व ग्रहण गर्नुपर्छ तर उहाँले पनि क.केपीकै तरिकाले सानो गुटको प्रतिनिधित्व वा पूर्वमाओवादीको मात्रै नेतृत्व गर्न थाल्नुभयो भने फेरि दुई अध्यक्षमा फरक हुँदैन। यस्तो कुरामा गुनासो नआओस्, आलोचना नआओस् भन्नेतिर ध्यान पु¥याउनुपर्छ ।

महाधिवेशन हुने कुराको विश्वास कत्तिको छ ?

सात दिनमा एकीकरणको काम सम्पन्न गर्ने, १५ दिनमा सक्ने र तीन महिनामा भ्याउने भनेर कतिचोटि भनियो ? अहिले एक महिनामा सम्पन्न गर्ने भनेर स्थायी कमिटी बैठकको सर्कुलरमा भनिएको छ । त्यो सर्कुलर जारी भएको एक महिना बितिसक्यो । तर, एकीकरणका नाममा एउटा सानो ढुंगा पनि अगाडि सार्ने काम भएको छैन । वरको सिन्को परसम्म सरेको छैन । भन्नुस् त, केले रोक्यो ?

तपाईंहरु बैठकमा दुई घण्टा झगडा गर्नुहुन्छ, फर्किनुहुन्छ । जे कुरामा झगडा वा असहमति हुन्छ, प्रधानमन्त्री फेरि पनि त्यही कार्यशैली अपनाउनुहुन्छ । यो कुराको निकास के हो ?

हाम्रो चाहना र प्रयत्न भनेको कमीकमजोरी सुधार्न अधिकतम् प्रयास जारी राख्ने हो ।

कार्यदलकै प्रतिवेदन आएपछि त्यसमा जुन कुरा नगर भनिएको थियो, त्यही भइरहेको छ त !

यसबारेमा हामी बैठकमा छलफल, समीक्षा गर्छौं ।

तपाईंहरुले चाहेर बैठक चल्छ त ?

यस्तो कुरा सुनेर दुनियाँ हाँस्छन् ।

यो परिस्थितिको जिम्मेवार त यहाँहरु पनि हैन र ?

जनताले निष्पक्ष ढंगले मूल्यांकन, विश्लेषण गर्छन् । मेरो मान्यता हो कि, लागिरहनुपर्छ । हार भयो भनेर दिक्क मान्ने कुरा हुँदैन । माओले भन्नुभएजस्तो हामी डुब्दै गरेको घामजस्तै हौैँ । आफ्नो समयमा उदाउँदो सूर्य थियौँ । हामीले चम्काइदियौँ । अहिले घाम तापेर आएका मान्छेहरु गफ बढी गरिरहेका छन्।

पार्टी जनप्रिय नहुँदा नेकपाको अवस्था माकपा र भाकपाहरुको जस्तै हुने खतरा कत्तिको देख्नुहुन्छ ?

ती पार्टीले जनता र आन्दोलनबाट ठूलो धक्का खाए। ती कुराबाट हामीले सिक्नुपर्छ। प्राप्त उपलब्धीमा दंग परेर मात्रै हुँदैन, नराम्रा कुरालाई सच्याउँदै अगाडि बढ्नुपर्छ।