ओली-प्रचण्डले थाले ११ दिनपछि संवाद

Oli_Prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच संवाद सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भइरहेको छ। दुई अध्यक्षबीच नेकपाभित्रको जारी विवाद समाधानबारे छलफल भइरहेको बताइएको छ।

नेकपाका दुई अध्यक्षबीच विगत ११ दिनयता संवाद हुन सकेको थिएन। गएको कात्तिक ४ पछि ओली-प्रचण्ड बीच सम्वाद रोकिएको थियो। मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस, माओवादी कोटाबाट कर्णालीका मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही विरुद्ध अविश्वास प्रस्ताव तयार लगायत निर्णयबाट प्रचण्ड ओलीसँग रिसाएका थिए। भारतीय गुप्तचर निकाय रअका प्रमुख सामान्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीको भेट र पर्सा घटना लगायतमा असन्तुष्ट बनेका प्रचण्ड बालुवाटार गएका थिएनन्।

लगातार ओलीले वार्तामा बस्न आग्रह गरेपछि प्रचण्ड शनिबार अर्का अध्यक्षसँग भेटका लागि बालुवाटार पुगेका छन्। बुधबार प्रचण्डलाई भेट्न अर्थमन्त्री एवम् पार्टी महासचिव विष्णु पौडैल, संसदीय दलका उपनेता सुवास नेम्वाङ अलग-अलग समयमा खुमलटार पुगेका थिए। बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र शुक्रबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली खुमलटार पुगेका थिए।

खुमलटार पुगेका सबैजसो ओलीनिकट नेताहरूले दुई अध्यक्ष मिल्नुको विकल्प नरहेको सुझाव दिएका थिए। बालुवाटार जानु अगाडि प्रचण्डले नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका छन्। अहिले ओली र प्रचण्डबीच चिसिएको सम्बन्ध सुधारको प्रयासमा वार्ता भइरहेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्