कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

Nepali-congress
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। कात्तिक २१ गते शुक्रबारका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा बैठक दिउँसो १ बजे बस्ने छ। पार्टीको १४ औं महाधिवेशनबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो।

पार्टी केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालय ललितपुरमा बस्ने तय भएको छ। बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन कांग्रेसले आग्रह गरेको छ।

बैठकमा फागुन ७ मा पार्टीको महाधिवेशन सम्पन्न गर्नेगरी बाँकी कार्यतालिका हेरफेर गर्ने, फागुनमा महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्थामा कति समयपछि गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुन सक्ने बताइएको छ।

यसअघि पहिलो पटक असोज १९ गतेका लागि बोलाइएको बैठक केही केन्द्रीय सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो। दोस्रो पटक असोज २५ गतेका लागि बैठक बोलाइएको भए पनि पार्टीका पूर्व कोषाध्याक्ष रामबाबु प्रसाईंको निधन भएपछि स्थगित भएको थियो।