कार्यकर्ता हत्याबारे जानकारी लिन सुरेन्द्र पाण्डे पर्सा पुगे

surendra-pandey
लाेकपाटी न्यूज

काठमाडौं, ७ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सुरेन्द्र पाण्डे पर्सा जिल्ला पुगेका छन्। कार्यकर्ता हत्याबारे जानकारी लिन नेता सुरेन्द्र पाण्डे शुक्रबार दिउँसो हेलिकोप्टरमार्फत पर्सा पुगेका हुन्।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले उनलाई घटनाको बारेमा जानकारी लिन त्यसतर्फ पठाएका हुन्। पर्साको विन्दवासिनी गाउँपालिका ५ मा बिहीबार आयोजित शपथ ग्रहण कार्यक्रममा नेकपाकै दुई पक्षबीच झड्प हुँदा घाइते भएका सोही गाउँपालिकाका सचिव तथा जिल्ला समिति सदस्य मुकेश चौरसियाको शुक्रबार उपचारका क्रममा मृत्यु भएको थियो।

प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यकर्ताले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका कार्यकर्तामाथि आक्रमण गरेको र सरकारले आक्रमणकारीलाई बचाउ गर्न थालेपछि नेता पाण्डे पर्सा पुगेका हुन्।

वरिष्ठ नेता नेपालले यसअघि नै घटना दुःखद भएको भन्दै हत्यामा संलग्न जो भए पनि कारुबाही गर्न माग गरेका छन्।